बेवारिसे गाईवाट व्यावसयिकता !

बेवारिसे गाईवाट व्यावसयिकता !

वासुदेव पौडेल  |  कारोबार  |  माघ १८, २०७५

पोखरा/ झट्ट सुन्दा अनौठो पनि लाग्छ, पोखरा महानगरपालिका३३ भरतपोखरी बाघमाराका ठाकुर आचार्यले घरबारीमा लगाएको तरकारी खान आउने छाडा गाई समातेर गाईपालन शुरु गर्नुभएको छ । 

झण्डै दुई वर्षदेखि पटकपटक बारीको तरकारी खाइदिएर हैरान पारेको बेवारिसे गाई २०६६ चैतमा समातेर बाँधेका आचार्यको गोठमा अहिले भने ५४ वटा छन् । गोठमा गाईका साथै एक भैँसी, तीन पाडा, एक बहर र एक राँगो पनि छन् । 

बेवारिसे गाई समातेको छ महीनामा नै ब्याएपछि उत्साहित बनेका आचार्यको गोठमा त्यस यता वर्षेनी गाईको सङ्ख्या बढ्दै गएका छन् । यो कार्यले अन्ततः उहाँलाई अनुकरणीय व्यवसायी समेत बनाएकाछ । गोठ हुँदै फार्ममा परिणत उहाँको फार्ममा अधिकतम ७० वटासम्म गाई भएको आचार्यले अनुभव सुनाउनुभयो । छोडुवा गाई ब्याएसँगै त्यसले बिहान बेलुका गरी आठ लिटरसम्म दूध दिन्थ्यो”, अनुभव सुनाउँदै उहाँले भन्नुभयो । 

तत्कालीन समयमा स्थानीयवासीको सक्रियतामा सञ्चालित कालिकास्थान कृषि सहकारी संस्थामार्फत दूध बिक्री गर्न थालेको उहाँले जानकारी दिनुभयो । सो सहकारीमा आबद्ध भई लामो समय विभिन्न अनुभव र भोगाइ सङ्गालेका आचार्य अहिले उक्त संस्थाको अध्यक्षसमेत हुनुहुन्छ ।

२०६७ सालमा सहकारीबाटै रु ५० हजार ऋण र आफूले रु १२ हजार थपी बागमाराबाटै अर्को गाई थप्नुभएका उहाँको आचार्य गाई फार्ममा अहिलेसम्म झण्डै रु डेढ करोड लगानी भइसकेको छ । पैसा कमाउने इच्छासँगै १४ वर्षे कलिलै उमेरमा भारतको केरलामा पुगेका आचार्य झण्डै १४ वर्ष विदेशमै बिताउनुभयो । विदेशको बसाईले उहाँलाई स्वदेशमा नै केही गनुपर्छ भन्ने पाठ मात्र सिएकाएन अन्यका लागि पनि अनुकरणीय बनायो । 

विदेशमा गर्ने दुःख यहीँ गर्‍यो भने जीविकोपार्जनसँगै मनग्य आम्दानी पनि गर्न सकिँदो रहेछ”, उहाँले थप्नुभयो, “घरमै बसेर अरूलाई पनि रोजगारी दिन पाउनु सन्तोषको विषय पनि हो ।उहाँको फार्म पाँच रोपनी जग्गामा छ भने घाँसका लागि ७५ रोपनी जग्गा भाडामा लिनुभएको छ । फार्मबाट दैनिक २६० लिटर दूधका साथै तरकारी पनि बिक्री हुने गरेको छ । दूध प्रतिलिटर रु ६० मा बिक्री हुन्छ । फार्ममा पालिएका राँगो तथा बहर पनि उहाँको आम्दानीको स्रोत हो । राँगो तथा बहरबाट प्रति प्रजनन रु एक÷एक हजार लिने गरेको उहाँले जानकारी दिनुभयो । गाईपालनमा समस्या नआओस् भन्दै उहाँले प्रत्येक गाईको रु एक÷एक लाखका दरले पशु बीमासमेत गर्नुभएको   छ । 

बागमारा आसपासका अन्य कृषकका लागि आचार्यले नर्सरीमा तरकारीका बिरुवा उत्पादन गर्दै वर्षेनी रु दुई लाखका बिरुवा बेच्ने गरेको जानकारी दिनुभयो । व्यवसायका लागि परिवारको समेत साथ र सहयोग आवश्यक पर्ने बताउने आचार्यलाई उहाँकी श्रीमती गङ्गाले निरन्तर सहयोग गर्दै आउनुभएको छ । 

व्यावसायिक गाईपालनबाटै निरन्तरको आम्दानीका साथै परिवारको जीवनयापन राम्रोसँग सञ्चालन गरेका आचार्यका छोरा शिव लम्जुङस्थित कृषि क्याम्पसबाट बिएससी एनिमल साइन्स उत्तीर्ण गरिसक्नुभएको छ भने छोरी पूजा व्यवस्थापनमा स्नातक पढ्दै हुनुहुन्छ । 

उहाँको फार्ममा यतिखेर छ जनाले प्रत्यक्ष अप्रत्यक्ष गरी १० जनाले रोजगारी पाएका छन् । व्यावसायिक कृषिमा राम्रो सम्भावना रहेको बताउँदै उहाँले देशमा नै स्वरोजगार सिर्जना गर्न युवालाई यसतर्फ आकर्षण गर्ने वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो । 

व्यावसायिक कृषिका लागि अत्यावश्यक पानी, उत्पादित वस्तुको लागि बजार व्यवस्थापनजस्ता कुरामा राज्यको सहयोग अपरिहार्य भएको बताउँदै उहाँले सरकारबाट वितरण गरिने अनुदान सहयोग वास्तविक कृषकले पाउनुपर्नेमा जोड दिनुभएको समाचर राससमा उल्लेख छ ।