अझै सकिएन रोपाइँ

अझै सकिएन रोपाइँ
फाइल तस्बिर ।

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण २३, २०७६

काठमाडौं । साउन सकिन साता दिन मात्रै बाँकी रहँदा झण्डै ९० प्रतिशत मात्रै रोपाइँ सकिएको छ ।

कृषि तथा पशुपंक्षी मन्त्रालयका अनुसार गत मंगलबारसम्म ८९.९७ प्रतिशत रोपाइँ भएको छ, जुन गत वर्षको तुलनामा २.१९ प्रतिशत कम हो । गत वर्ष यसै अवधिसम्म ९२.१६ प्रतिशत रोपाइँ भएको थियो । 

यस वर्ष रोपाइँ ढिलो सुरु भएकाले नसकिएको मन्त्रालयका उपसचिव प्रदीप चन्द्र भट्टराईले बताउनुभयो । ‘समयमा वर्षा नहुँदा यस वर्ष रोपाइँ ढिलो सुरु भयो,’ उहाँले भन्नुभयो, ‘यसले गर्दा समयमा रोपाइँ सकिएन ।’ 

उहाँका अनुसार तराई क्षेत्रमा ८९.९३ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष सोही अवधिमा ९२.०५ प्रतिशत रोपाइँ भएको थियो । यस्तै, मध्य पहाडमा ८९.५२ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष सोही अवधिमा ९२.१६ प्रतिशत रोपाइँ भएको थियो । उच्च पहाडमा भने ९४.०२ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष सोही अवधिमा ९४.४६ प्रतिशत रोपाइँ भएको थियो । 

रोपाइँ ढिलो सुरु हुँदा उत्पादनमा सामान्य असर पर्न सक्ने भट्टराईको भनाइ छ । ‘रोपाइँ ढिलो सुरु हुँदा प्राकृतिक रूपमै उत्पादनमा असर पर्छ,’ उहाँले भन्नुभयो । 

सुदूरपश्चिममा सकियो 

सुदूरपश्चिमबाहेक अन्य प्रदेशमा रोपाइँ नसकिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार रोपाइँ सकिन बाँकी रहेका प्रदेशमध्ये प्रदेश १ मा सबैभन्दा थोरै रोपाइँ भएको छ । प्रदेश १ मा ८२.३० प्रतिशत रोपाइँ भएको छ । यस्तै, प्रदेश २ मा ८८.७९, प्रदेश ३ मा ९१.४२, गण्डकी प्रदेशमा ८९.१६, प्रदेश ५ मा ९१.८६ र कर्णाली प्रदेशमा ९६.१६ प्रतिशत रोपाइँ भएको छ । 

यस वर्ष १३ लाख ६७ हजार ८ सय २१ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिने मन्त्रालयको प्रक्षेपण छ । 

नेपालको उच्च पहाडी क्षेत्रमा ‘माछापुच्छ्रे’, ‘छोमरुङ’, ‘जुम्ली मार्सी’ प्रजातिको धान रोपिन्छ । यस्तै, पहाडी क्षेत्रमा ‘खुमल–४’, ‘खुमल–६’, ‘खुमल–७’, ‘खुमल–८’, ‘खुमल–१०’, ‘खुमल–११’ तथा तराई क्षेत्रमा ‘राधा–४’, ‘विन्देश्वरी’, ‘हर्दिनाथ–१’, ‘सावित्री’, ‘मकवानपुर–१’, ‘सुख्खा धान–१’, ‘सुख्खा धान–२’, ‘सुख्खा धान–३’, ‘सावासब–१’, ‘स्वर्णसब–१’लगायत रोपिन्छ ।