भयावह सवारी दुर्घटना

भयावह सवारी दुर्घटना

अच्युत रेग्मी/रासस  |  समाचार  |  माघ १८, २०७५

काठमाडौँ / साँघुरो बाटो र बढ्दो सवारी साधनका कारण देशभरी १० हजार ६८० सवारी दुर्घटना भएका छन् । 

प्रहरी प्रधान कार्यालयका अनुसार चालू आर्थिक वर्षको छ मीहना भित्र मुलुकभर उक्त सङ्ख्यामा सवारी दुर्घटना भएका हुन् । दुर्घटना भएका सवारी साधनमध्ये सबैभन्दा धेरै सँख्यामा मोटरसाइकल रहेका छन् । 

यस अवधिमा ४ हजार २३० मोटरसाइकल, २ हजार ९५२ जिप तथा कार, १ हजार २४४ बस, ९ सय ८८ ट्रक/ ट्याङ्कर, २ सय ५१ टिपर, टेम्पो सँख्या १सय ७१ र अन्य ५१ सवारी दुर्घटना भएका छन् । 

प्रहरी प्रवक्ता उत्तमराज सुवेदीका अनुसार चालकको लापरवाही एव साँघुरो बाटो, तीव्र गति र कमजोर पूर्वाधारका कारण बढी दुर्घटना भएका  हुन
प्रहरीले दुर्घटना रोक्नका लागि ट्राफिक सचेतनामूलक कक्षा सञ्चालन गर्नुका साथै पर्चा, पम्प्लेट, ब्रोसरबाट जानकारीमूलक सन्देश चालक, सहचालक र पैदलयात्रु उपलव्ध गराउँदै आएको छ । 

यसैगरी दुर्घटना न्यूनीकरण गर्न गृहमन्त्रालयबाट जारी भएको ८२ बुँदे गृहप्रशासन सुधार योजना र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको १० बुँदे प्राथमिकताकाआधारमा सातै प्रदेशमा रिफ्रेसिङ सेन्टर (आरामस्थल) स्थापना गरिएका छन् । 

उक्त आरामस्थलमा चालक, सहचालक र पैदलयात्रुलाई आराम गर्नुका साथै ट्राफिक जनचेतनामूलक जानकारी समेत पाउने व्यावस्था गरिएके छ ।

उपत्यकामा सबैभन्दा बढी, कर्णाली प्रदेशमा सबैभन्दा कम 

सवारी दुर्घटना भएकामध्ये सवैभन्दा धेरै काठमाडौँ उपत्यकामा भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा ७ हजार २६० सवारी दुर्घटना भएका छन् । 

प्रदेश१ मा ९ सय २४, प्रदेश२ मा ६ सय ६८, प्रदेश३ मा ५ सय ३३, गण्डकी प्रदेश ३ सय ४१, प्रदेश५ मा ७ सय ४६, कर्णाली प्रदेश ७८ र सुदूरपश्चिम प्रदेशमा १ सय ३० सवारी साधन दुर्घटना भएका छन् । 

महाशाखाका प्रमुख एवं  वरिष्ठ प्रहरी उपरीक्षक बसन्त पन्तले साँघुरो बाटो र अत्यधिक सवारी साधन भएका कारण बढी दुर्घटना हुने गरेको बताए । उनका अनुसार, चालकको लापर्वाही र सवारी नियम नमान्दा पनि बढी दुर्घटना भएका हुन ।

 हजार  भन्दा बढीको मृत्यु 
चालू आर्थिक वर्षको छ महीनामा सवारी दुर्घटनामा परी देशभर १ हजार ४ सय १३ जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा १ हजार ४३ पुरुष, २ सय ४५ महिला, ७६ बालक र ४९ बालिका छन् । यस्तै २ हजार १ सय ५३ व्यक्ति गम्भीर घाइते भएका छन् । गम्भीर घाइतेमध्ये १ हजार ५ सय २२ पुरुष, ४ सय १८ महिला, १ सय २९ बालक र ८४ बालिका छन् । यसैगरी ५ हजार २ सय १२ सामान्य घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

लामो समयदेखि महानगरीय ट्राफिक कार्यालयमा कार्यरत पूर्वप्रहरी उपरीक्षक जगतमान श्रेष्ठका अनुसार ९० प्रतिशतभन्दा बढी दुर्घटना मानवीय कारणले हुने गरेका छन् ।

यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाख सवारी साधन सञ्चालनमा छन् । तीमध्ये झण्डै नौ लाख सवारी साधन काठमाडौँ उपत्यकामा मात्र सञ्चालित भइरहेका छन् ।