पृथ्वीबाहिर जीवनको खोज

पृथ्वीबाहिर जीवनको खोज

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  श्रावण २३, २०७६

काठमाडौं, एजेन्सी । पृथ्वीबाहेक अन्यत्र कुनै स्थानमा जीवनको सम्भावनाबारे आम चासो रहिआएको छ ।

वैज्ञानिकले वर्षेनी अर्बाैं डलर खर्च गरेर यसबारे अध्ययन÷अनुसन्धान गर्छन् । अनेकौं ग्रह, उपग्रह, क्षुद्रग्रहमा यान पठाएर विज्ञान जगतले त्यहाँ जीवनको सम्भावना हुन सक्ने शोधकार्य गर्दै आएको छ ।
हामीले बुझेको/जानेको जीवनको प्राथमिक शर्त भनेको कुनै पनि स्थानमा तरल पानीको उपलब्धता हुनु हो । 

यसै क्रममा एकजना भारतीय शोधकर्ता मैत्रेई बोसले एउटा ग्रहिका (एस्टेराइड)मा पानी उपलब्ध रहेको खोज गरेकी छन् । मैत्रेई बोसले अमेरिकाको अन्तरिक्ष एजेन्सी नासाको सहयोगमा एस्टेरायड ‘इटोकावा’मा पानीका कण उपलब्ध रहेको खोज गरेकी हुन् ।

२६ सेप्टेम्बर १९९८ मा खोज भएको इटोकावाले सूर्यको एक परिक्रमा १.५२ वर्षमा पूरा गर्छ । यसको सूर्यदेखि अधिकतम दूरी १.६९५ ‘ऐयु’ अर्थात् २५ करोड ३५ लाख ७२ हजार किमि र न्यूनतम दूरी ०.९५३ ऐयु अर्थात् १४ करोड २५ लाख ६८ हजार ८ सय किमि हुने गर्छ । यसको आकार ५४५ मिटर लामो र झण्डै ३०३ मिटर चौडा छ ।

सहकर्मी एरिजोना स्टेट युनिभर्सिटीका जिलिंग जिनसँगको सहकार्यमा मैत्रेईले उक्त ऐस्टेरायडमा पानी भएको खोज गरेकी हुन् । दुवैले जापानीज अन्तरिक्ष यान हायाबुसाले ल्याएको नमुना सामग्रीको अध्ययनबाट त्यहाँ पानी भएको तथ्य पत्ता लगाएका हुन् । 

अनुसन्धानकर्ता दुवैले ‘नैनो सिम्स इस्ट्रयुमेन्ट’ प्रविधिबाट मानव कपालभन्दा दस गुणा साना कणको अध्ययनबाट पानी खोजेका हुन् । 

भारतको झारखण्ड राज्यको सोनारी भन्ने सहरमा जन्मेकी हुन् मैत्रेई । पुणेको फरगुसन कलेजबाट बिएससी अध्ययन गरेपछि अन्तरिक्ष विज्ञान पढ्न उनी अमेरिका गएकी थिइन् । वासिंगटन युनिभर्सिटीबाट पिएचडी गरेपछि उनी एरिजोना स्टेट युनिभर्सिटीमा सहायक प्रोफसर रहेकी छन् । 

पानीको खोज भएपछि अब वैज्ञानिकहरू इटोकावामा अमोनिया एसिडको खोजीमा लागेका छन् । अमोनिया एसिड पाइएको खण्डमा त्यहाँ जीवनको उपलब्धता बारे झनै सम्भावना बढ्छ ।
मैत्रेई अहिले आफ्नो जन्मस्थान भ्रमणमा रहेकी छन् ।