डा. केसी आन्दोलनको स्वरुप फेर्नुस्

डा. केसी आन्दोलनको स्वरुप फेर्नुस्

लोकसंवाद टिप्पणी  |  समाचार  |  माघ १८, २०७५

पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले धेरै पछि कुनै बुद्धिमत्तापूर्ण कार्य गरे ।

 चिकित्सा शिक्षा सुधारका लागि डा. केसीले सोह्राै‌ पटक अनशन बस्नु पर्‍यो । अनशनको श्रृंखला यति लामोसम्म तन्किनुमा वर्तमान सरकार वा यसका नाइकेहरु मात्रै दोषी होइनन् । विगतका सबै सरकार समान रुपले यस दोषका भागी हुन् ।  

केसीको सोह्राै‌ अनशन अवधिमा सरकारले बहुमतको आधारमा जुन दम्भ प्रदर्शन गर्‍यो त्यो जगजाहेर नै छ । चिकित्सा शिक्षा विधेयक दुवै सदनबाट पारित भैसकेको छ । । डा. केसी भने अझै अनशनरत छन् । खै कसको सल्लाह वा परामर्शमा हो, देउवाले सत्याग्रही केसीलाई भेटेर अनशन समाप्त गरी अर्को स्वरुपको आन्दोलन गर्ने आग्रह गरे । 

निश्चय पनि देउवाको यो पहलकदमी स्वागतयोग्य छ । किन स्वागतयोग्य छ  देउवाको यो पहलकदमी !

सत्याग्रह विवेकी, सदाचारी, विधिअनुसार चल्ने, देश र जनताप्रति उत्तरदायी हुने सरकारसंँग गरिने मानवीय विधि हो । दुर्जनसंँग सत्याग्रहको कुनै औचित्य हुन्न । शास्त्र पनि यस विषयमा ‘शठे शाठ्यम समाचरेत’ उद्घोष गर्छन् । 

अहिले डा. केसीको प्राणरक्षा सर्वोपरि हो । सत्ताको मदमा उन्मत्त जस्तासुकै शासक पनि धूलधूसरित भएका अनेकौं उदाहरण छन् । उन्मत्त खल शासक आफ्नै गतिविधि र चरित्रले सत्ताच्युत हुन पुग्छन् । वर्तमानको असंवेदनशील सरकार अमृतपान गरेर आएको होइन ।

हो, डाक्टर केसी ! देउवाले, ‘जुन आशयले भनेका भए पनि’ तपाईको जीवन नेपाल र नेपालीका लागि अमूल्य निधि हो । अविवेकी र दुर्जनसंँगको युद्धमा आफ्नो प्राणको बाजी थाप्नुको कुनै औचित्य र सान्दर्भिकता हुन्न । 

‘अहिंसा परमोधर्मः’ हाम्रो संस्कृतिको मूल मन्त्र हो । तर यस्तो व्यवहार र आचरण सबै देशकाल र परिस्थितिमा धर्म मान्नु ! क्षमा गर्नुस डा. केसी धर्म होइन, मूर्खता हुन सक्छ, व्यर्थको उत्सर्ग हुन सक्छ अथवा एकहोरो हठ हुन सक्छ । 

डा. केसीका तमाम मित्र एवं शुभचिन्तकजन स्मरण रहोस्, ‘अहिंसा परमोधर्मः’ मात्र होइन, धर्मले ‘धर्महिंसा तथैव च’ को उद्घोष पनि गरेका छन् । 

धर्महिंसाको अर्थ ‘हिंसा गर्न उद्यत हुनुहोस्’ भन्ने किमार्थ पनि होइन वरन् अहिंसा र सदाचारको अबलम्बन मात्र होइन अन्य उपाय र विधिको उपयोग पनि गर्नुहोस् । मिथ्याचारी र आडम्बरीसंँग ‘सत्य, सत्य, सत्य’को गुहार माग्नुको कुनै औचित्य हुन्न ।