पृथ्वीदेखि २१ अर्ब किमि टाढा

पृथ्वीदेखि २१ अर्ब किमि टाढा

ज्ञानमित्र  |  ज्ञानविज्ञान  |  श्रावण २४, २०७६

हर तरफ हर जगह बेशुमार आदमी
फिर भी तन्हाइयो का शिकार आदमी

के भन्या होला यो कविले ? अनगिन्ती मानिसमध्ये ऊ यदि एक्लो महसुस गर्दैछ भने मनोचिकित्सकीय भाषामा मस्तिष्कमा पक्कै केही ‘केमिकल लोचा’ चलिरहेछ । अब यो केमिकल लोचाको मूल कारण जे पनि हुन सक्छ । प्रेमिका रिसाएकी हुन सक्छे, श्रीमतीसँग ठाकठुक भएको हुन सक्छ, समालोचकले उसको लेखाईलाई झूर भनेको पनि हुन सक्छ, जागिरबाट निष्कासन पनि भएको हुन सक्छ, तलब थापेर आउँदै गर्दा बाटोमा पकेटमारको हातको सफाई पनि कविलाई यो गहिराईसम्म/मूर्खाइसम्म पुर्याउने कारण भएको हुन सक्छ वा अन्य कुनै कारण हुन सक्छन् । 

कवि भन्छन्- यो भरिपूर्ण दुनियामा म एक्लो छु । तर, तपाईं सोच्नुस् यो साढे सात अर्बको दुनियामा के ऊ एक्लो हुन सक्छ ? अनि मानिस मात्रै किन रुख, बिरुवा, पशु, पक्षी, कीट, पतंगलगायत अन्य सूक्ष्म जीवनले त ऊ घेरिएको नै हुन्छ । अनि ऊ कसरी एक्लो हुन सक्छ ? 

आफ्नो सन्यासी जीवनको प्रारम्भिक दिनमा म पनि शान्ति र शान्त वातावरण एवम् एक्लो हुने चाहनाले ग्रस्त थिए । यस्तै फिराकमा हिमालयको यात्रा गरेँ । गंगोत्री पुगँे, गौमुख पुगँे, गौमुखबाट गंगा ग्लेश्यिर माथि हिँड्दै तपोवन पुगेँ । मलाई सबैभन्दा मन नपर्ने कमिला पनि त्यहाँ थिए, आकाशमा काग उडिरहेकै थिए, मृग पनि थिए । कवि आफ्नो कोठामा बसेर एक्लो ! मैले चार हजार मिटरमा पनि आफूलाई जीवनबाट घेरिएको पाएँ ! तर, के एक्लो हुन सम्भव छ ? आजसम्म कोही मानिस पूर्ण रुपेण एक्लो हुन सकेको छ ? यसको खोजी मैले पनि गरेको थिइनँ । तर, वज एल्ड्रिनको बारेमा पढ्दा मलाई यसबारे जानकारी भयो । पृथ्वी छाडेर चन्द्र धरातलमा टेक्ने १२ मानिसमध्ये एल्ड्रिन महाशय मात्रै जीवित छन् । बाँकी ११ जना कालको गालमा समाइसके । मानिसले चन्द्र यात्रा गरेको ५० वर्ष भइसक्दा पनि अझै पनि केही मानिस यसलाई पत्याउँदैनन् । 

२० जुलाई १९६९, जुन दिन मानव जातिको कुनै सदस्यले प्रथम पटक पृथ्वीबाट ३ लाख ८४ हजार ४ सय ३ किमी. टाढा रहेको चन्द्रमामा पाइला टेके । १६ जुलाई १९६९ मा केनेडी स्पेश सेन्टर, फ्लोरिडाबाट सुरु भएको यस यात्रामा तीन चन्द्रयात्री थिए, निल आर्मस्ट्रङ, वज एल्ड्रिन र माइकल कोलिन्स । सर्वप्रथम चन्द्र धरातलमा २० जुलाई १९६९ को २० बजेर १८ मिनेटमा निल र वजको यान ‘इगल’ले चन्द्र धरातलमा टेक्यो । यान ओर्लेको केही समयपश्चात् २१ जुलाई १९६९ को ०२ बजेर ५६ मिनेटमा निलले चन्द्र धरातल स्पर्श गरेर ऐतिहासिक कीर्तिमान बनाए । यसको केही बेरपछि वजले पनि ‘इगल’बाट ओर्लेर चन्द्र धरातल टेक्ने सौभाग्य पाए । 

भन्न सकिन्छ- एल्ड्रिनले पछ्याउँदै न गएसम्मको अवधिमा निल पूर्ण रुपेण एक्लो व्यक्ति थिए । तर, होइन उनी एक्लो भएर पनि एक्लो थिएनन् । उनी लगातार पृथ्वीमा रहेको सेन्टर र अपोलोको कमाण्ड मोड्युल कोलम्बियामा बसिरहेका माइकल कोलिन्ससँग रेडियो सम्पर्कमा थिए । माइकल कोलिन्स चन्द्रमासम्म पुगेर पनि त्यहाँ ओर्लिन भने पाएनन् । तपाईंका नजरमा उनी अभागी होलान् । उनी यानमा बसेर चन्द्रमाको चक्कर नै लगाई रहे । यही चक्कर लगाउने क्रममा उनी आजसम्म जन्मेका १०५ अर्ब मानिसमध्ये ‘सर्वोच्च सौभाग्यशाली’ मानिस बन्न पुगे । 

बुझ्नु भएन किन ? 

ल सुन्नुस्, निल र वजलाई सम्पर्क साधी पुनः यानमा ल्याउने महत्वपूर्ण जिम्मेवारी पाएर कमाण्ड मोड्युल कोलम्बियामा बसिरहेका कोलिन्स चन्द्रमाको परिक्रमा गर्दै चन्द्रमाको अर्को किनारामा पुगे । भन्नुको अर्थ, हामी जुन चन्द्रमाको किनार हेर्छौं त्यसको विपरीत किनारमा । चन्द्रमाको यो भाग पृथ्वीबाट हेर्न सकिँदैन । चन्द्रमाको यसै भागलाई पृथ्वीका वैज्ञानिकहरूले ‘डार्क साइड अफ मुन’ भन्ने गर्छन् । 

यही बेला उनको निल तथा स्पेस सेन्टरसँग रेडियो सम्पर्क टुट्न गयो । र, त्यो बेला टेक्निकली माइकल कोलिन्स पूर्णरुपेण एक्लो मानिस बन्न पुगे । ४८ मिनेटसम्म नितान्त एक्लो आफ्नो यानबाट ब्रह्माण्डको अनन्त विस्तारमा चिहाइरहेको एक्लो मानिस । पूर्णरुपेण एक्लो हुने सौभाग्य पाए कोलिन्सले । यस्तो सौभाग्य सायदै अरु कसैले आजसम्म पाएका होलान् । आफ्नो बायोग्राफी ‘क्यारिङ द फायर’ मा उनी भन्छन्, ‘ही एक्चुअली एन्जाएड द सोलिट्युड एण्ड फ्रिडम ही एक्सपिरियन्सड इन फ्लाइङ सोलो इन द कमाण्ड मोड्युल स्पेसली ह्वेन ही फ्ल्यु एराउण्ड द ब्याक साइड अफ द मुन एण्ड वाज द ओनली हयुमन अन द्याट साइड अफ द युनिभर्स ।’ 

यो त भयो मानिसको कुरा, मानिसबाट निर्मित कुनै वस्तुको कुरा गर्ने हो भने ब्रह्माण्डमा सबैभन्दा टाढा के पुगेको छ ?  

५ सेप्टेम्बर १९७७ मा नासाबाट प्रक्षेपित ‘भोयागर प्रथम’ ४५ किमि÷सेकेण्डका रफ्तारले ४२ वर्षदेखि निरन्तर यात्रामा छ । यसले यो अवधिमा २१ अर्ब ९१ करोड ८९ लाख ७० हजार किमिभन्दा बढी दूरी तय गरिसकेको छ । जून २०१६ मा यो यान सूर्यभन्दा १३५ एयु (२.०२×१०१० किमि ) टाढा रहेको थियो । भन्न सकिन्छ- मानव निर्मित ‘भोयागर प्रथम’ नै ब्रह्माण्डमा पहिलो पटक यति टाढासम्म पुगेको हो । 
विकिपिडियाका अनुसार यसमा जडान गरिएको ‘प्लुटोनियम’ आधारित ऊर्जा संयन्त्रले यसलाई अझै सात–आठ वर्ष यात्राका लागि इन्धन उपलब्ध गराउनेछ । त्यसपछि यो यान निस्तेज भएर ब्रह्माण्डको अनन्त विस्तारमा कतै हराउनेछ । पृथ्वीस्थित स्टेसनको योसँग सदाका लागि सम्बन्धविच्छेद हुनेछ । 

नासाले यस यानमा एउटा ‘गोल्ड प्लेटेड डिस्क’ पठाएको छ । यस डिस्कमा मानिसबारे जानकारी, हाम्रो डिएनए कोड्स, सौर्यमण्डलको नक्सा (अमेरिकाको होइन) आदि सूचना संग्रहित गरिएको छ । यस विशाल ब्रह्माण्डमा कतै हामीजस्तै वा कुनै अन्य किसिमका प्राणी छन् भने र उनले त्यो यानमा रहेको डिस्क भेटे भने थाहा पाउन्- यो विशाल ब्रह्माण्डमा रहेका अनेकौं आकाशगंगा समूहमध्ये एक ‘भिरगो सुपर क्लस्टर’मा रहेको आकाशगंगा ‘मिल्की वे’को ओरियन भुजामा अवस्थित एउटा सूर्य नामक ताराबाट १५ करोड किमि टाढा एउटा नीलो रंगको ग्रह पृथ्वी छ, जहाँ उनीहरू जस्तै अथवा भिन्न प्रकारको जीवन छ, प्राणी छन् । यस पृथ्वीका प्राणी नितान्त एक्लै छन् (माथिको कविले भनेको जस्तै) हजारौं वर्षदेखि प्रतीक्षारत छन् । यस अनन्त ब्रह्माण्डबाट कहीँबाट कसैको सन्देश त आओस्, ‘ओ पृथ्वीवासी, तिमीहरू एक्लो छैनौं । हामी पनि छौं ।’ 

तर, आजसम्म यस्तो सन्देश आएको छैन । हामी पृथ्वीवासी यस ब्र्रह्माण्डमा एक्लो छौं, ‘वी आर द मोस्ट लोनली पिपुल इन युनिभर्स ।’ 

यस डिस्कमा एउटा गीत पनि पठाइएको छ । २५ जनवरी १८९७ मा टेक्सासमा जन्मेका विली जोन्सन रचित ‘डार्क वाज द नाइट, कोल्ड वाज द ग्राउण्ड’ बोलको गीत २१ अर्ब किमि टाढा समस्त मानवताको नेतृत्व गरिरहेको छ ।