लोप हुँदै पुराना पानीघट्ट

लोप हुँदै पुराना पानीघट्ट

लोकसंवाद संवाददाता  |  समाज  |  श्रावण २४, २०७६

रुकुमपूर्व । जिल्लामा खोलाको पानीबाट चल्ने घट्टहरूमा स्थानीयवासीले मकै, गहुँ, जौँ, चामल लगायतका अन्न पिस्ने गर्छन् । तर, पछिल्लो समयमा आधुनिक विद्युतीय मिलको सञ्चालन बढ्दै गएपछि यस क्षेत्रका पानीघट्ट लोप हुँदै गइरहेको सिस्ने गाउँपालिका-५ का मिमबहादुर विकले बताउनुभयो । 

रुकुमपूर्वका विभिन्न खोलाको छेउछाउमा ४०० को हाराहारीमा पानीघट्ट रहेको रुकुमकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष यज्ञप्रकाश मल्लले बताउनुभयो । ‘यीमध्ये अधिकांश घट्ट ६ महिना चल्ने र ६ महिना बन्द हुने गर्छन्,’ अध्यक्ष मल्लले भन्नुभयो, ‘वर्षा सुरु हुनेबित्तिकै सबै पानीघट्ट सञ्चालनमा आउँछन्, जब हिउँदयाम सुरु हुन्छ तब खोलाको पानी सुक्छ, अनि आधाजति घट्ट बन्द हुन्छन् ।’ भुमे र पुथा उत्तरगंगा गाउँपालिकाका पानीघट्ट सञ्चालनमा छन् । तर, रुकुमकोटमा भने पानीघट्ट प्रयोगविहीन हुँदै आएको उहाँको भनाइ छ । 

नयाँ प्रविधिका विद्युतीय मिलको बढ्दो प्रयोगसँगै पानीघट्ट लोप हुन थालेको स्थानीयवासीको भनाइ छ । हाल प्रयोगविहीन रहेका सिस्नेका पानीघट्टलाई कतिपयले सुधार गरी आधुनिक प्रविधिअनुसार पिसानी, तेल र काठ चिरानीसमेत गर्न सक्ने घट्ट बनाएर सञ्चालनमा ल्याएसँगै पुराना पानीघट्ट लोप हुने अवस्थामा पुगेको पुराना पानीघट्ट सञ्चालन गर्दै आउनुभएका सिस्ने गाउँपालिका–५ का जितबहादुर बस्नेतले बताउनुभयो । 

पहिले पानीघट्टबाट पिसानी गर्दा पिसानी गरेको अन्नको केही भाग घट्ट धनीलाई दिने चलन थियो । यस्तो प्रचलनले धेरै–थोरै भए पनि आम्दानीको स्रोत बन्ने भएपछि व्यावसायिकरूपमा नै घट्टलाई लिने गर्थे । तर, अहिले विद्युतीय शक्तिबाट  चल्ने अत्याधुनिक प्रविधिका पिसानी गर्ने मिल बनेपछि पानीघट्ट प्रयोग गर्नेको संख्या घटेको हो । 

मिलमा पिसानी गरेवापत प्रतिपाथी (८ माना) को ३० देखि ४० रूपैयाँसम्म तिर्ने गरेको पाइन्छ । आधुनिक प्रविधिका मिलहरू बनेसँगै पुराना पानीघट्टमा पिसानी गर्न कोही पनि नआउने भएकाले बन्द गरेर बस्नुपरेको बताउनुहुन्छ, पानीघट्ट सञ्चालन गर्दै आउनुभएका सिस्ने गाउँपालिका-६ का सुमन खत्री ।

घट्टमा पिसानी गर्दा टाढाको दूरीसम्म बोकेर लानुपर्ने र पिस्दा घण्टौंसम्म कुर्नुपर्ने बाध्यता रहेकाले आफूहरू छिटोछरितो र सजिलोको लागि विद्युतीय मिलमा जाने गरेको स्थानीयवासी बताउँछन् । तर, पानीघट्टबाट पिसानी गरिएको अन्न पिठो स्वास्थ्यका लागि निकै लाभदायक र खाँदा पनि स्वादिष्ट हुने जानकारहरू बताउँछन् । 

विकासको गतिसँगै जिल्लाका अन्य ठाउँमा पनि यातायात र विद्युत्को सुविधा हुँदै गइरहेकोले अन्य ठाउँमा पनि विद्युतीय मिलको विकास र प्रयोग हुँदैन भन्न सकिँदैन । त्यसैले परम्परागत शैलीमा रहेका पानीघट्टको अस्तित्वलाई बचाइराख्न स्थानीय सरकारले पनि पहलकदमी चाल्नुपर्ने बताउनुहुन्छ, पानीघट्ट सञ्चालन गर्दै आउनुभएका पुथा उत्तरगङ्गा गाउँपालिका-११ तकसेराका धर्मु बुढा । 

के हो पानीघट्ट ? 

कुलोबाट कलकल गर्दै बगेको पानी खोपेर कुलेसोजस्तो बनाइएको ठाडो काठबाट जोडले पानी खनिँदा काठको सानो मुढोमा मिलाएर अड्याइएका पोहरा (भुना) मा पर्दा जोडले मानीका साथमा जोडिएको फालीसँगै बाटुलो ढुंगो फनफनी घुम्न थाल्छ । तब सुरु हुन्छ, नेपाली जीवनशैलीमा परापूर्व कालदेखि स्थान पाएको घट्टको पिसानी कार्य । 

फनफन घुमिरहेको घट्टमाथि टाङटाङटुङटुङ गर्दै उफ्रिने काठको चराको कलात्मक उफ्राइको बलले काठको कोठामा राखिएको अन्न विस्तारै खस्दै जान्छ । फनफनी घुमिरहेको घट्टको बीच भागमा रहेको मानी (प्वाल)बाट पसेको अन्न पिसिएर घट्टको वरिपरि घेरो लाग्न थाल्छ । घट्ट घुम्दै गर्दा एक छेउबाट अलि बढी नै पिठो फाल्ने गर्छ । त्यस ठाउँमा बेलाबेलामा कुचोले बढारिरहनुपर्छ । यसलाई धार मार्ने भनिने खबर राससमा छ ।