प्रियंकाको अग्निपरीक्षा

प्रियंकाको अग्निपरीक्षा

सरोज ज्ञवाली  |  दृष्टिकोण  |  माघ १८, २०७५

भारतीय राजनीति अहिले बडो तरङ्गगित अवस्थामा छ । भारतमा केही महिनापछि हुन गइरहेको केन्द्रको चुनावले राजनीतिक माहौल तातेको छ । हालै सम्पन्न भएको पाँच राज्यको विधान सभाको चुनावमा भारतीय जनता पार्टीको पराजय र कांग्रेस आईको पुनरागमन, विपक्षीद्धारा निर्मित महागठबन्धन, उत्तर प्रदेशमा बहुजन समाजवादी पार्टी(मायावती) र समाजवादी पार्टी (अखिलेश) बीचको चुनावी गठजोडको चर्चा चलिरहेका बेला अकस्मात रुपमा प्रियंका बाड्रा(गान्धी) को राजनीतिमा प्रवेश चर्चाको विषय बनेको छ । अगामी अप्रिल तिर हुन गइरहेको भारतीय लोकसभा चुनावको परिणामले राष्ट्रिय, क्षेत्रीय तथा विश्व राजनीतिमा ठूलो असर पर्छ । प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपाको राजनीतिमा यस चुनावले निश्चय नै दुरगामी प्रभाव पार्नेछ । 

हुन त दक्षिण एशियाली राजनीतिमा परिवारवाद हावी हुनु कुनै नौलो कुरा होइन, तर प्रियंका गान्धी असामान्य तरीकाले कांग्रेस आईको महासचिव पद लिएर सक्रिय राजनीतिमा अहिलेको अवस्थामा आउनु गम्भीर विचारणीय विषयवस्तु भएको छ । कांग्रेस आईमा गान्धी परिवारको एकछत्र राज नै छ, पाकिस्तानमा पनि भुट्टो र शरीफ परिवार, बंगलादेशमा रहमान परिवार तथा नेपालमा कोइराला परिवारको प्रभाव राजनीतिमा कायम रहेको छ । यी देशहरुमा पार्टी जतिजति कमजोर हुँदै जान्छ, त्यति त्यति परिवारवादको सिद्धान्त मजबुत हुँदै जाने परम्परा छ । भारतमा पनि कांग्रेस आईको दुरावस्थालाई सुधार गर्न गान्धीवादको अवधारणा विस्तार भएको पाइन्छ । हुन त ‘गान्धी परिवारवादको सिद्धान्त’ जवाहरलाल नेहरु की छोरी इन्दिरा गान्धी हुँदै  राजीव गान्धी, सोनिया गान्धी, राहुल गान्धी र अब प्रियंका गान्धीसम्म आईपुगेको छ ।

इन्दिरा गान्धीको विवाह फिरोज खान, एक फारसी परिवारमा भएको थियो । राजीव गान्धीको विवाह सोनिया, एक इटालियन क्रिश्चियन परिवारकी महिलासँग भएको थियो । त्यसैगरी प्रियंका गान्धीको विवाह रोबर्ट बाड्रा, एक क्रिश्चियन परिवारका व्यक्तिसँग भएको थियो । धर्मगत तथा विचारधाराले गान्धी परिवार स्वच्छन्द भएता पनि, वर्तमानको भारतीय राजनीति र नरेन्द्र मोदीको बढ्दो प्रभाव कम गर्न एवं हिन्दुवादीहरुलाई रिझाउने वाध्यता स्वरुप कांग्रेस हिन्दुत्वको धारणा स्वीकार्न वाध्य भएको छ । गएको चुनावमा राहुल गान्धीले आफूलाई कश्मीरी पण्डीतको छविमा देखाउने प्रयास स्वरुप जनै लगाएर विभिन्न मन्दिर तथा तीर्थस्थलको भ्रमण गरेका थिए । यस प्रसंगमा प्रियंका गान्धीलाई भने आफ्नो धर्मको परिभाषा दिन अति नै कठिन पर्नेछ । 

धर्मगत तथा विचारधाराले गान्धी परिवार स्वच्छन्द भएता पनि, वर्तमानको भारतीय राजनीति र नरेन्द्र मोदीको बढ्दो प्रभाव कम गर्न एवं हिन्दुवादीहरुलाई रिझाउने वाध्यता स्वरुप कांग्रेस हिन्दुत्वको धारणा स्वीकार्न वाध्य भएको छ ।

इन्दिरा गान्धी सत्तासीन रहेकै अवस्थामा उनका कान्छा पुत्र संजय गान्धी राजनीतिमा सक्रिय रुपमा सहभागी भइरहँदा अचानक विमान दुर्घटनामा दिवंगत भएका थिए । उनकी श्रीमती मेनका गान्धी राजनीतिमा सक्रिय रुपमा अगाडि बढ्ने चाहना राख्थिन तर सासू इन्दिरा गान्धीको कोपभाजनमा पर्दा उनी विपक्षी खेमा समात्न पुगिन् । हाल उनी मोदी सरकारमा मन्त्री छन् । र, उनका पुत्र वरुण गान्धी पनि सांसदका रुपमा भाजपामा सक्रिय छन् । 

सन २०१४ लोक सभाको चुनावमा नरेन्द्र मोदीको जादुई छविका कारण भाजपाले प्रचण्ड बहुमतका साथ सरकार गठन गरेको थियो । भारतको राजनीतिक माहौल अझै भाजपा र नरेन्द्र मोदी कै पक्षमा छ, नरेन्द्र मोदीको प्रभाव निस्तेज पार्ने उपाए स्वरुप प्रियंका बाड्रालाई कांग्रेसले इन्दिरा गान्धीको छविसँग तुलना गर्दै चुनावी मैदानमा बाजी मार्ने आशयले तुरुपको एक्का झंै अगाडि सारेको छ । 

हालै सम्पन्न भएको राज्यस्तरको चुनावमा छत्तिसगढ,राजस्थान र मध्यप्रदेशमा कांग्रेस आई विजयी भई सत्ता सम्हाले पनि केन्द्रगत स्तरमा नरेन्द्र मोदीको सामुन्ने खडा हुन राहुल गान्धीलाई अप्ठेरो परीरहेको छ । चुनावी आंकडा अनुसार जनसंख्या र सीट बढी भएका राज्य जस्तै उत्तर प्रदेश, बिहार, वंगाल, उडिसा, राजस्थान, मध्यप्रदेश, महाराष्ट्रमा अझै पनि कांग्रेस कमजोर स्थितिमा छ । उत्तर प्रदेशमा बसपा र सपा पार्टीको गठजोड,बंगालमा ममता बनर्जीको एकलौटी कब्जा, विहारमा नीतिशको पकड, उडीसामा नवीन पटनायकको पकडले गर्दा कांग्रेसले  २०१९ कोे अगामी निर्वाचनमा राम्रो प्रदर्शन  गर्ने सम्भावना अति न्युन छ । 

हालै केही राज्यमा कांग्रेस आई विजयी भएता पनि राहुल गान्धीको नेतृत्वमा धेरै त्रुटी रहेको पाइन्छ । कांगे्रसका वरिष्ठ नेतृत्वलाई हटाउनु, राष्ट्रियताका विषयमा अन्तराष्ट्रिय मंचमा गएर हल्का कुरा गर्नु, एकहोरो तरिकाले कुनै प्रमाण र आधार नभएको राफेलको मुद्दाको कुरा गरिरहनु, अनावश्यक रुपमा राष्ट्रिय स्वयंसेवक संघको निन्दा गर्नु उनका कमजोरी रही आएका छन् । गत वर्ष देखि उठाउँदै आएको चुनावी मुद्दा ‘किसान समस्या’ पनि तीन राज्यमा सरकार बनाउँदा कमजोर हुन गएको छ । ती समस्या काँग्रेसको सरकारले कसरी सल्टाउला ? अहिलेको तीन राज्यको कांग्रेस आईको विजय नै अगामी २०१९ लोक सभाको पराजयको कारक पनि हुन सक्छ ।  कांगे्रस आईको मूलभूत चुनावी मुद्दा अति नै कमजोर हुन पुगेको छ । 

मीडिया तर्फ हेर्ने हो भने कांग्रेस आईको धेरै जसो मीडिया हाउसमा पकड रहेको छ । यसको बलमा राहुल गान्धीलाई देवत्वकरण गर्दै आइएको छ । धेरै जसो कांग्रेसीजन एवं नेतृत्व पंक्तीलाई यो थाहा छ राहुल गान्धीको नेतृत्वमा कांगे्रस केन्द्रीय स्तरको सत्तामा पुग्न कठिन छ । त्यसै कारणले प्रियंका गान्धीलाई चुनावी माहौलमा सक्रिय रुपमा ल्याउनु वाध्यता बनेको हो । कांग्रेस आईमा केही नेता तथा कार्यकर्ता खुलेर प्रियंका गान्धीका समर्थक भएका कारणले गर्दा पार्टी एकता कायम राख्न पनि प्रियंका गान्धीलाई अगाडि सारेको हुनु पर्दछ । 

प्रियंका गान्धीको नेतृत्व क्षमता बारे अहिले नै पूर्वानुमान गर्न कठिन हुन्छ किनकि उनले हालसम्म त्यस्तो ठूलो पदभार ग्रहण गरेकीे थिइनन् । सोनिया गान्धीको विगतको छविलाई हेर्दा त्यसबेलाका लोकप्रिय नेता अटल विहारी वाजपेयीको सरकारलाई पराजित गरी गठवन्धनको सरकारका रुपमा भए पनि कांग्रेसलाई पुनर्जीवन दिन सफल भएकी थिइन । सोनिया गान्धीमा कति क्षमता थियो÷थिएन त्यो त प्रष्ट रुपमा देख्न पाइएन । मनमोहन सिंहको दश वर्षीय कार्यकालमा सोनियाको छाँया उपस्थिति मात्र  देखिएको थियो । उनको छाँया उपस्थिति रहँदा पनि  सरकार माथि आर्थिक घोटालाका आरोप लाग्नु, भ्रष्टाचार ब्यापक बढ्नु, रोबर्ट बाड्राको शान शौकात बृद्धि हुनु, भारतको आर्थिक अवस्था खस्किंदै जानु, विभिन्न चरम पन्थी आक्रमण बढ्दै जानुले गर्दा भाजपाले दश वर्ष पछि सत्ता प्राप्त गरेको  थियो । 

कांग्रेसले बडो आश राखेर प्रियंकालाई अघि सारेको छ, सीधै महासचिव पदमा नियुक्ती गरेर । प्रियंकाको सक्रियता पार्टीका लागि संजीवनी सावित हुन्छ कि हुन्न त्यो भविष्य मै थाहा हुन्छ । तर विगत हेर्दा  उनको सक्रियता भाइ र आमाको चुनाव क्षेत्र भन्दा पर कही पनि देखिएको छैन ।