नाम र दाम कमाउने  मौलिक लोकभाकाहरूको मुहानमा नै खडेरी

नाम र दाम कमाउने  मौलिक लोकभाकाहरूको मुहानमा नै खडेरी

यमबहादुर दुरा  |  लोकरञ्जन  |  श्रावण २४, २०७६

आधुनिकताले लोकसङ्गीतको विकास गर्‍यो कि विनाश गर्‍यो ? यो प्रश्नमा केन्द्रित रहेर लामो बहस गर्न सकिन्छ । यसबारे तर्क–वितर्क गरेर रात छिचोल्न सकिन्छ ।

यसै मेहरोमा आधुनिकताले लोकसङ्गीतमा ल्याएको उज्यालो पक्षबारे एकैछिन चर्चा गरौँ । गाउँका भाका शहरमा भित्रिएका छन् । शहरका दोहोरी रेष्टुराँमा गायक–गायिका र वाद्यवाधकले रोजगार पाएका छन् । मेला–महोत्सवहरूमा लोककलाकारहरूले राम्रोसँग नाम र दाम दुबै दिएको छ । 

लोक कलाकारले नेपाली डायस्पोरा भएका विदेशी भूमिबाट निम्ता पाइरहेका छन् । कलाकारहरूका लागि विदेश भ्रमण पानी–पँधेरा बनिरहेको छ । उनीहरूले तुलनात्मक रूपमा उच्चस्तरको जीवनयापन सम्भव भइरहेको छ ।   

अब लागौँ, आधुनिकताले लोकसङ्गीतमा ल्याइदिएको अँध्यारो पक्षतर्फ । नेपालका हरेक डाँडा र हरेक पाखामा बेग्लाबेग्लै भाका भेटिने देशका रुपमा परिचित छ  । अर्को अर्थमा भन्दा नेपाली लोकभाकाहरूको बौछार भएको देश हो । तर, आधुनिकताको रापले यो भनाइलाई भनाइमै सीमित गरिदिने अवस्था  सृजना भएको छ । 

समयक्रममा लोकगीतले उद्योगको रूप लियो । यसपछि शहरमा उत्पादित गीतहरू चक्का र सीडीमार्फत गाउँमा भित्रिए । रेडियो टेलिभिजनमार्फत पनि यस्ता गीतहरु प्रशारित भए । पछिल्लो समयमा यु ट्युबमार्फत शहरका ती गीतहरु विश्वका दूरदराजसम्म भरमार भित्रिए ।

शहरबाट भित्रिएका गीतको राप र तापमा परेर गाउँका मौलिक लोकभाकाहरू विस्तारै लोप हुँदै गए । गाउँघरका जनसाधारणले सुखदुःखमा पनि शहरकै गीत गुनगुनाउन थालेको पाइन थालेको छ । मेलापर्म र सामाजिक जमघटहरूमा समेत शहरकै गीत चल्न थाले । मौलिक लोकभाकाहरू बिरानो हुँदै गए । लोकस्मृतिबाट हराउँदै गए । 

छेउमा पर्दा अत्तरको सुगन्ध आउने शहरका सजधजपूर्ण कलाकारका अगाडि शरीरमा पसिना गन्हाउने, झुत्रेझाम्रे गाउँका कलाकारको कुनै भाउ रहेन कुरै भएन । 

शहरमा उच्च प्रविधियुक्त वाद्ययन्त्र (हेभी मेटल)हरूका अगाडि गाउँमा लोकपृय रहेका खैँजडी, मादल र मुर्जुङ्गाहरू फिका सावित हुन  थाले । छेउमा पर्दा अत्तरको सुगन्ध आउने शहरका सजधजपूर्ण कलाकारका अगाडि शरीरमा पसिना गन्हाउने, झुत्रेझाम्रे गाउँका कलाकारको कुनै भाउ रहेन कुरै भएन । 
शहरका कलाकारका अघिपछि मिडिया देखा पर्न थाल्यो । यससँगै शहरका कलाकारको प्रेम–प्रसंगलगायतका नितान्त निजी प्रसंगहहरू पनि मिडिया आउन थाले, जुन मिडियामा नआए पनि फरक नपर्ने कुरा हो । यसको विपरीत गाउँका कलाकारलाई मिडियाले देखेन । उसको प्रतिभा चिनेन । मिडियामा उसको चर्चै भएन । गाउँका कलाकार औषधोपचार नपाएर प्राणान्त हुन लागेको गम्भीर विषय पनि समाचार बनेन । 

रेकर्डेड गीत भित्रिएपछि गाउँघरमा सामाजिक जमघटमा लाइभ गीत गाउने चलन पनि निकै पातलिँदै गएको छ । यससँगै मौलिक लोकभाकाको जननी मानिने गाउँघरै मौलिक लोकभाकाको मुहान सुक्न थालेको छ । अवस्था प्रतिकूल  बन्दै गएकोछ ।

यानीमाया, सुनिमायाजस्ता भाकाहरू धेरैका लागि एकादेशको कथा भइसकेका छन् । गण्डकी भेगमा प्रचलित ठाडोे भाका पनि यही बाटोमा छ । आधुनिकताले मुख आँ गरिरहेको बेलामा आँधीखोले भाका, हाक्पारे, पालम, तामाङसेलो, ठाडीभाकाजस्ता स्थानीयपन झल्काउने मौलिक लोकभाकाहरू पनि आधुनिकताको गिद्धे नजरमा परिरहेका छन् । 

गाउँघरमा स्वच्छ मनोरञ्जनका लागि गाइन्थे । अहिले गाइएका गीत लोकप्रियता प्राप्तिमा बढी केन्द्रित छ । अहिलेका गीतका सर्जकहरू नयाँ ट्रेन्ड सेट गर्ने र यु ट्युब भ्युज बढाउने दिशामा केन्द्रित भएका देखिन्छन् । त्यसैले गाउँघरका लोकभाका र शहरमा उत्पादित गीतबीच तात्विक रूपमै भिन्नता रहेको पाइन्छ । 

मौलिक लोकभाकाहरूको चिन्ता गरिरहँदा शहरमा उत्पादित गीतको विरुद्धमा उत्रिएको अर्थ नलागोस् । यो लेखको आशय शहरमा बनेका गीत प्रयोग गर्नै हुँदैन भन्ने हुँदै होइन । शहरमा उत्पादित कतिपय मौलिक लोकभाकाहरू बचाउनका सहायक छन् । शहरमा उत्पादित सबै गीतले मौलिक लोकभाकाहरूलाई सधैँ अहित गर्छ भन्ने आशय पनि होइन ।

समस्या कहाँनेर हो भने शहरमा उत्पादित साङ्गीतिक उत्पादनहरूको संतुलित उपयोग भने हुन सकिरहेको छैन । शहरमा उत्पादित साङ्गीतिक उत्पादनले गाउँघरलाई एकोहोरो मिचिरह्यो । गाउँघरका रैथाने भाकाहरूलाई किनारामा पुर्‍याउने गरी यस्ता उत्पादन प्रयोग गर्नुहुँदैनथ्यो ।

यस्तो अवस्था आउनुमा धेरै हदसम्म राज्य दोषी छ । मौलिक लोकभाकाहरूको विवरण राख्ने र त्यसलाई संरक्षण गर्ने दिशामा राज्यले उचित ध्यान दिन  सकेन । लोकसङ्गीतका अध्येताहरूलाई खटाएर लोकभाकाहरूको अध्ययन, अभिलेखीकरण र तिनीहरूलाई पुनर्जीवन दिने दिशामा सरकार गम्भीरतापूर्वक लाग्नुपर्‍थ्यो ।

मौलिक गीतसङ्गीत हाम्रो संस्कृति हो । संस्कृति पहिचानमा झल्किन्छ । पहिचानबिना हाम्रो स्वतन्त्र अस्तित्व रहँदैन । मूल चिन्ता यही हो । देश विदेशमा चलेका पहिचानमुखी आन्दोलनको अन्तर्य पनि यही हो । 

यहाँनेर साहित्यकार हाङ्युग अज्ञातका विचार सान्दर्भिक हुन आउँछ । उनले खरो विचार राख्दै भनेका छन्–‘एकथरी भन्छन्, ‘गीतसंगीतको जात हुँदैन, धर्म हुँदैन, देश हुँदैन । गीतसंगीत अन्तर्र्रािट्रय भाषा हो ।’ तर, यथार्थ अर्कै छ । गीतसंगीतको जात, धर्म र देश हुन्छ । स्पेनिस गीतसंगीत र ल्याटिन गीतसंगीत बिल्कुलै अलग सुनिन्छ । क्रिस्चियन र हिन्दू भजन फरक हुन्छ’ नयाँ पत्रिका (झन् नयाँ), असार १४, २०७६)  । 

उनी थप्छन्–‘चाइनिज संगीत र भारतीय संगीत पनि एकार्कासँग मेल खाँदैन । यसकारण हामीले भन्यौँ– नेपाली गीतसंगीत भारतीय गीतसंगीतभन्दा बेगल हुनपर्छ । त्यसका निम्ति नेपालका विभिन्न समुदाय र क्षेत्रमा पाइने लोकलयलाई प्राथमिकता दिनुपर्छ । लोकबाजागाजाको प्रयोग गर्नुपर्छ’ (उही) ।

हाङ्युग अज्ञातले व्यक्त गरेका विचारले मौलिक लोकभाकाहरू प्राथमिकता दिनुपर्ने आवश्यकतालाई स्पष्ट किसिमले औंल्याएको छ । यससँगै अरू पक्षलाई पनि ध्यान दिनुपर्ने देखिन्छ । 

यी सबै कुरालाई कार्यरूप दिन राज्यको सक्रियता अत्यावश्यक छ । त्यसमा नागरिकको साथ र सहयोग पनि अपेक्षित नहुने कुरै भएन ।