भाकपाका  नेताद्वय यचुरी र राजा  श्रीनगर विमानस्थलबाट पक्राउ

भाकपाका  नेताद्वय यचुरी र राजा  श्रीनगर विमानस्थलबाट पक्राउ

लोकसंवाद संवाददाता  |  विदेश  |  श्रावण २४, २०७६

 भारत ।  भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम यचुरी र नेता डि राजालाई २०७६ साउन २४ शुक्रबार गिरफ्तार गरिएको छ । 

विवादास्पद जम्मु–कश्मीरतर्फ जाने क्रममा श्रीनगर विमानस्थलबाट सरकारी सुरक्षाकर्मीहरुले पक्राउ गरेकाे जनाईएकाे  छ ।  

जम्मु कश्मीर क्षेत्रका आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरूलाई भेट्न गएका बेला उहाँ पक्राउ पर्नुभएको समाचारमा जनाइएको छ । 

आफ्ना नेता पक्राउ परेको घटनाप्रति भाकपाले विरोध जनाउँदै भारतीय जनता पार्टी (भाजपा) को सरकार ‘तानाशाही’ भएको आरोप लगाएको छ । 

जम्मु–कश्मीर राज्यलाई केन्द्र मातहत ल्याउने भारत सरकारको निर्णयका विरुद्धमा भारतीय कम्युनिष्ट पार्टीका नेताहरुले प्रदर्शन गर्दै आएका छन् । उनीहरू जम्मु कश्मीर राज्यको अधिकार खोसिएको भन्दै विरोधमा उत्रिएका हुन् । 

भारतको केन्द्रीय सरकारको पछिल्लो निर्णय प्रजातन्त्र विरोधी भएको पनि उनीहरुको भनाई छ । 

भाकपा महासचिव यचुरी र अर्का नेता राजाले जम्मु कश्मीर भ्रमणका क्रममा आफूलाई कुनै अवरोध नहुने वातावरण बनाउन आग्रहसहित जम्मु–कश्मीरका गभर्नर सत्यपाल मलिकलाई पत्राचार गर्नुभएको थियो । 

येचुरीले पार्टीको लेटरहेडमा जम्मु–कश्मीरका राज्यपाल मलिकलाई लेखेको पत्र सामाजिक सञ्जाल ट्विटरमा सेयर गर्नुभएको थियो । पत्रमा उहाँले मलिकसँग आफू, भारतीय कम्युनिष्ट पार्टीका नेता ९भाकपा० नेता राजा, युसुफ तारीगामीसँग भेट गर्न जाने निश्चित भएको उल्लेख गर्नुभएको थियो ।  

यसअघि काँग्रेस नेता गुलाम नाबी अजादलाई पनि बिहीबार श्रीनगर विमानस्थलबाट जम्मु–कश्मीर क्षेत्रमा जान नदिएर केन्द्रीय राजधानीतर्फ नै फिर्ता पठाइएको थियो ।  

संविधानबाट जम्मू–कश्मीरलाई विशेष सुविधा दिँदै आएको धारा ३७० खारेज गरिएपछि भारतसहित छिमेकी देशहरुमा तरङ्ग फैलिएको छ ।