पल्टिएकाे ट्याङ्करबाट चुहिएको तेल थाप्ने क्रममा विस्फोट हुँदा ६० ज्यान गयाे

पल्टिएकाे ट्याङ्करबाट चुहिएको तेल थाप्ने क्रममा विस्फोट हुँदा ६० ज्यान गयाे

लोकसंवाद संवाददाता  |  विदेश  |  श्रावण २६, २०७६

 तान्जानीया/ सिन्ह्वा । पेट्रोल बोकेको ट्याङ्कर विस्फोटन हुँदा तान्जानीयामा   २०७६ साउन २५ गते शनिबार कम्तीमा ६० जनाको मृत्यु भएको छ ।

देशको मोरोगोरो क्षेत्रमा पेट्रोल बोकेको ट्याङ्कर पल्टिएर विस्फोटन भएको प्रहरीले जनाएको छ । घटनास्थल राजधानी दार एस सलामदेखि २० किलोमिटर टाढा पर्दछ । प्रहरीका अनुसार ६० जनाको घटनास्थलमै मृत्यु भएको र अरु ७० भन्दा बढी जलेर घाइते भएका छन् ।

उनीहरुमध्ये अधिकांशको अवस्था गम्भीर रहेको जनाइएको छ । 'हामी एकदमै हतारमा छौँ, अहिले खोजी तथा उद्धारमा लागिरहेका छौँ,' प्रहरीले सिन्ह्वासँग टेलिफोनमा बताए । उनले खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी, उद्धारकर्मी, स्थानीय बासिन्दा लगायत खटिएको पनि जानकारी दिएका छन् । घाइतेमध्ये धेरैको अवस्था गम्भीर भएकाले मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने ती अधिकारीले अनुमान गरेका छन् ।

जलेर घाइते भएका मध्ये ३९ जनालाई थप उपचारका लागि मुहिम्बीली राष्ट्रिय अस्पतालमा लगिएको पनि उनले बताएका छन् । स्थानीय समय अनुसार बिहान ८ बजे दुर्घटना भएको हो । एउटा मोटर चालकलाई छलेर अगाडी बढाउन खोजीरहेका बेला ट्याङ्कर पल्टिएको हो । ट्याङ्कर पल्टिएपछि ट्याङ्करबाट चुहिएको तेल स्थानीय बासिन्दाले थापिरहेका बेला आगलागी भएर विस्फोट भएको र उनीहरुको मृत्यु भएको जनाइएकाे छ ।