१ सय १० देश वैदेशिक रोजगारको गन्तव्यः आकर्षण कि परनिर्भरताकाे बाटो ?

१ सय १० देश वैदेशिक रोजगारको गन्तव्यः आकर्षण कि परनिर्भरताकाे बाटो ?

लक्ष्मण ओझा  |  दृष्टिकोण  |  श्रावण २६, २०७६

२०६८ सालको जनगणना अनुसार नेपालमा १५–५९ वर्ष उमेरको जनसंख्या ५६.९६ प्रतिशत छ । यो उमेर समूह श्रमको लागि सक्रिय जनशक्ति मानिन्छ । 

तर, श्रमका लागि सक्रिय जनशक्ति मानिने अधिकांश युवा बेरोजगार छन् । राज्यले यी युवाका लागि रोजगारीका अवसर सिर्जना गर्न सकेको छैन । 

अर्काेतर्फ राज्यले बेरोजगार युवालाई ‘रोजगार दिन’ सञ्चालन गरेका कार्यक्रम पनि प्रभावकारी हुन सकेका छैनन् । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले ‘युवा स्वरोजगार कार्यक्रम’ ल्याएको थियो । यस्तै, प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ सञ्चालन गरिरहेको छ ।  

यी विभिन्न कारणले यहाँको श्रम जनशक्तिलाई स्वदेशमै रोक्न सकिने अवस्था छैन । अतः युवाहरूको वैदेशिक रोजगारीमा आकर्षण बढेको छ । यसमा युवाको मानसिकताले पनि प्रभाव पारेको छ । अधिकांश युवा ‘स्वदेशमा जति काम गरे पनि जीवन धान्न नसकिने’ मानसिकताबाट ग्रसित छन् । लाग्छ– पैसा कमाउने माध्यम वैदेशिक रोजगार मात्रै हो ।

अहिले नेपालमा वार्षिक रूपमा ५ लाख भन्दा बढी व्यक्ति श्रम बजारमा प्रवेश गर्छन् । यस्तै, दैनिक १ हजार बढी युवा वैधानिक बाटोबाट वैदेशिक रोजगारका लागि विदेश जान्छन् । यसले नेपालमा वैदेशिक रोजगारीप्रतिको मोह स्पष्ट देखाउँछ । 

वैदेशिक रोजगारमा दलालबाट ठगिनु पर्ने, भाषागत र सीपगत समस्याले विदेशमा दुर्घटनामा पर्ने, ज्यान जाने तथा हेपिएर काम गर्नु पर्ने, विदेशमा सर्तअनुसार काम तथा तलब नपाउने लगायतका चुनौती देखिएका छन् । यसको मुख्य चुनौती यहाँको सक्रिय जनशक्तिलाई स्वदेशमा व्यवस्थापन गर्न नसक्नु हो । 

वैदेशिक रोजगारमा नेपाली 

नेपालीको वैदेशिक रोजगार यात्रा पहिलो विश्वयुद्धपछि अर्थात् सन् १८१४ मा सुरुवात भएको मानिन्छ । त्यतिबेला नेपालीहरू ब्रिटिस सेनामा जागिर खान वैदेशिक रोजगारमा गएको पाइन्छ । यसका अलावा ब्रिटिस सेनाको झोला बोक्ने, खाना पकाउने काममा पनि नेपाली कामदार गएको पाइन्छ । 

पछि अन्य मुलुकमा जान थालिएको हो । सरकारले अहिले नेपाली कामदारका लागि १ सय १० मुलुक खुला गरेको छ । 

बन्न सक्छ अवसर 

वैदेशिक रोजगारीबाट भित्रिने बिप्रेसनले आर्थिक रूपमा सबलीकरण गर्न तथा जीवनशैलीमा परिवर्तन गर्न सहयोग पुर्‍याएको छ । नेपाली अर्थतन्त्रको ठूलो हिस्सा बिप्रेसनले धानेको छ । 

त्यसकारण वैदेशिक रोजगारी अवसर बन्न सक्छ । बिप्रेसनबाट प्राप्त रकम उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सके यसबाट थुप्रै लाभ लिन सकिन्छ । तर, अहिले बिप्रेसनको रकमको ठूलो हिस्सा अनुत्पादक क्षेत्रमा लगानी भइरहेको छ । यसमा सरकारले चासो देखाउनु जरुरी छ । 

चुनौती पनि उत्तिकै 

वैदेशिक रोजगारीमा आकर्षणसँगै नेपाली परनिर्भर भएका छन् । यससँगै विदेशको कमाईबाट मात्रै केही गर्न सकिने सोचको विजारोपण भएको छ । 

वैदेशिक रोजगारमा दलालबाट ठगिनु पर्ने, भाषागत र सीपगत समस्याले विदेशमा दुर्घटनामा पर्ने, ज्यान जाने तथा हेपिएर काम गर्नु पर्ने, विदेशमा सर्तअनुसार काम तथा तलब नपाउने लगायतका चुनौती देखिएका छन् । यसको मुख्य चुनौती यहाँको सक्रिय जनशक्तिलाई स्वदेशमा व्यवस्थापन गर्न नसक्नु हो । 

वैदेशिक रोजगारीका अवसर सदुपयोग तथा चुनौती व्यवस्थापन गर्न सके राज्यलाई फाइदा हुने निश्चित छ । यसका लागि वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित, भरपर्दो र प्रतिफलयुक्त बनाई श्रमिकको हक–अधिकारको संरक्षण तथा लगानीमैत्री वातावरणको सृजना गरी सुमधुर श्रम सम्बन्ध स्थापना गर्न र सीप तथा व्यावसायिक तालिमका अवसर वृद्धि गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धात्मक श्रम शक्ति विकास गर्न आवश्यक छ । 

निष्कर्ष 

बेरोजगारी समस्या, विदेश मोह, आर्थिक भू–मण्डलीकरणलगायत कारण वैदेशिक रोजगारमा जाने नेपालीको संख्या बर्सेनि बढिरहेको छ । अहिले ४५ लाखभन्दा बढी युवा वैदेशिक रोजगारमा छन् । यो जनशक्तिलाई तत्काल अन्य क्षेत्रमा क्रियाशील गर्न सक्ने सम्भावना छैन ।  

त्यसकारण यस क्षेत्रका अवसरको सदुपयोग तथा चुनौती व्यवस्थापन गर्नु नै उत्तम विकल्प हुनेछ । यसका लागि वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित, भरपर्दाे र प्रतिफलयुक्त बनाउन आवश्यक छ । बिप्रेसनलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सके यसबाट राज्यले फाइदा लिन सक्छ ।