रुकुमपूर्वमा स्याउखेती फस्टाउँदै

रुकुमपूर्वमा स्याउखेती फस्टाउँदै

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण २६, २०७६

रुकुमपूर्व । केही वर्षअघिसम्म रहरले स्याउ लगाउने रुकुमपूर्वको भूमे गाउँपालिका–१ लुकुमका तीर्थबहादुर पुन अहिले व्यावसायिक कृषक बनेका छन् । उनको बगैंचामा स्याउका करिब तीन सय ५० बिरुवा छन् । ढल्किँदो उमेरमा पनि उहाँलाई स्याउखेतीले उत्तिकै व्यस्त बनाएको छ । 

‘पहिले स्याउ लगाएर मात्र के गर्नु, बिक्री गर्ने ठाउँ हुन्थेन,’ उहाँले भन्नुभयो, ‘अहिले त ग्राहक घरमै आउँछन् ।’ आफ्नै गाउँघरमा स्याउ फलाएर सफलता पाएपछि खुसी हुँदै उहाँले भन्नुभयो, ‘पहिले जुम्ला जाँदा रुखबाट स्याउ टिपेर खाएको थिए । अहिले त्यो अनुभव घरमै गर्न पाएको छु ।’ 

स्याउको एउटा बिरुवामा दुई सयभन्दा बढी स्याउका दाना फलेका छन् । गत वर्ष एउटै बोटमा सयभन्दा बढी स्याउको दाना फलेको उहाँले बताउनुभयो । विसं २०६९ मा जुम्लाबाट व्यापारीले बेच्न ल्याएको ३३० वटा बिरुवा किनेर स्याउ खेती सुरु गरेको पुनले बताउनुभयो । 

पुथा उत्तरगंगा गाउँपालिका–२, पेल्माका वासु बुढामगरको बगैंचामा पनि एक हजार स्याउका बिरुवा छन् । ती बिरुवा चार वर्षदेखि फल दिन थालेको उहाँले बताउनुभयो । एउटा बिरुवामा तीन सयदेखि पाँच सयसम्म स्याउका दाना लाग्ने गरेको बुढामगरको भनाइ छ । 

उहाँले भन्नुभयो, ‘पहिले–पहिले जुम्ला तथा रोल्पाको विभिन्न ठाउँमा पुग्दा स्याउ फलेको देखेको र अहिले आफ्नै बगैंचामा फलेको स्याउ टिपेर खान पाउँदा निकै खुसी लागेको छ ।’  ‘पहिले स्याउ कहाँ पाउँला जस्तो हुन्थ्यो । तर, अहिले स्याउ कहाँ लगेर बिक्री गरौं जस्तो भइसक्यो,’ उहाँले भन्नुभयो । गत वर्ष स्याउ ढुवानी नभएर कुहिएर गएकोसमेत उहाँले बताउनुभयो ।

सडकलगायत पूर्वाधार र अन्य सुविधा पुगेसँगै रुकुमपूर्वमा पुन र बुढामगरजस्ता थुप्रै स्थानीयवासी स्याउसँग जोडिएका छन् । उनीहरूको आर्थिक हैसियत पनि माथि उठेको छ । प्रदेश सरकारले प्रोत्साहनको नीति लागू गरेपछि परम्परागत रूपमा थोरै स्याउ लगाउने किसान व्यावसायिक खेतीमा लागेका छन् । उत्पादन ह्वात्तै बढेको छ । 

रुकुमपूर्वको उच्च हिमाली क्षेत्रका विभिन्न ठाउँमा लगाएको स्याउमा अहिले राम्रो दाना लागेको छ । यतिबेला जिल्लाको पुथा उत्तरगंगा गाउँपालिकाको पेल्मा, घुइँवाङ, रल्तिजाङ, हुकाम, मयाङ लगायतको क्षेत्र र भूमे गाउँपालिकाको लुकुम, गुणाम, काँक्री, कोर्जा लगायतको ठाउँमा लगाएको स्याउले राम्रो फल दिन थालेको छ । 

कृषि विज्ञका अनुसार स्याउ मध्यम चिसो र हिमाली भेगमा फल्ने गर्छ । स्याउ खेतीको लागि मलिलो माटो आवश्यक पर्ने भएकाले त्यस्तो खालको माटो रुकुममा भएको किसान बताउँछन् । रुकुमपूर्वको भूमे र पुथा उत्तरगंगा गाउँपालिकास्थित विभिन्न ठाउँका नागरिकले जुम्ला, रोल्पाबाट स्याउका बिरुवा किनेर रोपेका छन् । पछिल्लो चरणमा भने स्थानीयस्तरमै स्याउका बिरुवा उत्पादन गर्न थालिएको छ । 

आगामी वर्षमा कलमी गरेर बिरुवा उत्पादन गर्ने सोचमा किसान छन् । परीक्षणकालमै स्याउका बोटले लटरम्म दाना दिन थालेपछि अब व्यावसायिक रूपमा खेती गर्न सकिने किसान बताउँछन् । परीक्षणका क्रममा किसानले प्राविधिकको सल्लाह सुझाव पाउन सकेका छैनन् । 

लगाएको दुई तीन वर्षमै अग्लो र त्यसबाट लटरम्म स्याउ फलेपछि किसान पनि उत्साहित छन् । पुथा उत्तरगंगा गाउँपालिकाका विभिन्न ठाउँमा पहिलेदेखि नै स्याउखेती गर्दै आए पनि भूमे गाउँपालिकामा भने भर्खरै मात्रामा लगाइएको बताइएको छ । अहिले पुथा उत्तरगंगा गाउँपालिकास्थित विभिन्न क्षेत्रका मानिसले दुई सयदेखि एक हजारसम्म स्याउका बोट लगाएका छन् । जिल्लाको विभिन्न उच्च क्षेत्रमा व्यावसायिक रुपमा खेती गर्न सकिने भएपछि किसान उत्साहित भएका हुन् । यहाँ फलेको स्याउको स्वाद पनि हिमाली भेगको जस्तै रहेको भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले बताउनुभयो । विस्तारै स्याउ उत्पादन हुने क्षेत्रको पहिचान गरी गाउँपालिकाबाट किसानलाई सहयोग गर्ने उहाँको भनाइ छ । 

पुथा उत्तरगंगा गाउँपालिकाको अधिकांश ठाउँमा स्याउ उत्पादन हुने भएपछि सहकारीमार्फत् स्याउ उत्पादनलाई जोड दिने निर्णय गरेको पुथा उत्तरगंगा गाउँपालिका अध्यक्ष ओमप्रकाश घर्तीले जानकारी दिनुभयो । यसैवर्ष पुथा उत्तरगंगा गाउँपालिकाको विभिन्न क्षेत्रमा कृषि सहकारीमार्फत् २५ हजार स्याउका बिरुवा लगाउने तयारी भइरहेको सहकारीका अध्यक्ष जीताराज बुढाले बताउनुभयो । 

अहिले स्याउको बोट लगाउनको लागि खाल्डो तयार पार्ने काम भइरहेको पनि उहाँले जानकारी दिनुभयो । गत वर्ष किसानले उत्पादन गरेको स्याउ कुहिएर गएकोले यस वर्ष भने किसानको दुःखलाई खेर जान नदिने गाउँपालिकाले जनाएको छ । यस वर्ष उत्पादित स्याउलाई ढुवानीको लागि गाउँपालिकाले सहयोग गर्ने गाउँपालिका अध्यक्ष घर्तीले बताउनुभयो । 

बिरुवा उत्पादन, खेती गर्ने तरीका र यस क्षेत्रको भौगोलिक अध्ययनका लागि स्थानीय सरकारले ध्यान दिनुपर्ने किसानको माग रहेको खबर राससमा छ ।