ड्रोन भएपनि गति हजार किमि प्रति घण्टा

ड्रोन भएपनि गति हजार किमि प्रति घण्टा

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  श्रावण २६, २०७६

रुसले ५ हजार किमिसम्म उड्न सक्ने नयाँ लडाकू ड्रोन बनाएको छ । अत्यन्त गोपनीय ढंगले विकसित गरिएको यस ड्रोनबारे भर्खरै रुसले समाचार सार्वजनिक गरेको छ । 

काठमाडौ, एजेन्सी । रुसको रक्षा मन्त्रालयले आफ्नो पाइलटरहित नयाँ ड्रोनको भिडियो सार्वजनिक गरेको छ । 

यस ड्रोनलाई रुसले ‘ओक्होतनिक’ नाम दिएको छ । रुषी भाषामा ओक्होतनिकको अर्थ शिकारी हुन्छ । 

नाम अनुसार नै यो ड्रोन कुशल शिकारी झै शिकारीमाथि झम्टिन सक्छ । रुसका अधिकारीले सार्वजनिक गरेको जानकारी अनुसार यो ड्रोन १ हजार किमि प्रति  घन्टाको वेगले उड्न सक्छ । यसका साथै यसले एकपटकमा ५ हजार किमिसम्म उडान भर्न सक्छ । 

पहिलो परीक्षण उडानमा यस ड्रोनलाई २० मिनेटसम्म उडाइएको थियो । घातक मारक क्षमताले सम्पन्न यस ड्रोनलाई प्रसिद्ध लडाकू विमान कम्पनी सुखोइले बनाएको हो । 

रुसी मिडियाका अनुसार यस ड्रोनले २ हजार किलोग्रामसम्मका ‘गाइडेड’ अथवा ‘अनगाइडेड’ मिसाइल बोकेर लक्ष्यसम्मको उडान भर्न सक्छ । 

यसै क्रममा युरोपीय सुरक्षा र तकनीक वेभसाइटका अनुसार  यस ड्रोनको वाहिरी  आवरण रडार सिग्नल सोस्ने खालको धातुले वनाइएको छ । 

यो भन्दा पहिला रुससँग कुनै लडाकू ड्रोन थिएन, ओक्होतनिक निर्माणले रुसको सामरिक शक्तिमा झनै वृद्धि भएको छ ।