औपचारिक कार्यक्रम सञ्चालनः  स्वीकार्य संस्कृति  कि अपसंस्कृति ?

औपचारिक कार्यक्रम सञ्चालनः  स्वीकार्य संस्कृति  कि अपसंस्कृति ?

बम बानियाँ  |  दृष्टिकोण  |  श्रावण २६, २०७६


कुनै पनि कार्यक्रमको निमन्त्रण आउनसाथ सोधिने प्रश्न हो– नेपाली समय कि अंग्रेजी ? यो कुरा दैनिकजसो सुनिने गरेको छ नेपाली समाजमा । सोहीबमोजिम कार्यक्रममा उपस्थित हुने संस्कार नै बसिसकेको छ । विषय हेर्दा सामान्य जस्तोे लाग्न सक्छ । तर, नेपालमा हुने औपचारिक कार्यक्रमसँग जोडेर हेर्दा एकदमै जटिल र गम्भीर विषय हो । यही कारण लाखौं मानिसको समय अनुत्पादक ढंगले बितिरहेको छ । 

औपचारिक कार्यक्रम तथा समय, सम्बोधन तथा आसनग्रहण आदिको बारेमा बहस गरी केही  निश्कर्षमा पुग्न ढिला भइसकेकोे छ । नयाँ मोडेलको परिवर्तनको पक्षधर, समाजवाद उन्मुख समृद्धि, सुखी नेपाली, आत्मसम्मानपूर्वक बाँच्न पाउने अधिकार सहितको स्वतन्त्रता आदि नेताका  सुनिने गरेको छ । जनताले हेर्ने भनेको उनीहरूको बोली र व्यवहारमा कतिको तालमेल छ ?  सामान्य जनताको जीवनशैलीमा कतिको परिवर्तन भयो ? उनीहरूका सवारीमा हिजो र आजमा के फरक छ ? कार्यक्रममा जाँदा र बोल्दा के–के बोल्छन् र कार्यमा के–के गर्दै आएका छन् ? हिजो गर्ने कार्यक्रमहरू सिलान्यास, उद्घाटन, सम्मेलनका शैली कतिको जनमुखी छन् ? महेन्द्रकालीन समयदेखि हुँदै आएका औपचारिक कार्यक्रम र अहिले हुने कार्यक्रममा के–कति परिवर्तन आयो ? यसले हाम्रो समाजमा कस्तो खालको प्रभाव परिरहेको छ ? यदि यसरी गरिने कार्यक्रममा समस्या छ भने समाधानका उपाय के हुन सक्छन् ? यी आदि विषयमा प्रश्न गर्न आज जरुरी छ । 

कार्यक्रम भन्नाले खासगरि नेपालको विभिन्न स्थानमा हुने गरेका आमसभा, सम्मेलन, भेला, बैठक, विमोचन, लोकार्पण, अन्तरक्रिया, सेमिनार, गोष्ठी आदि लगायतका कार्यक्रम आयोजना भइरहेका छन् । यस्ता कार्यक्रम औपचारिक र अनौपचारिक दुई ढंगले नै सञ्चालन हुने गर्छन् । औपचारिक भन्नाले विधि, प्रक्रिया पु¥याएर गरिने, योजनावद्ध, पूर्वनिर्धारित, मर्यादा र सिष्टतापूर्वक गरिने कार्यक्रमलाई बुझिन्छ । सामान्यतया कार्यक्रममा सभापति, प्रमुख अतिथि, विशेष अतिथिसहित उद्घाटन र मन्तव्यसहित समापन गरिने कार्यक्रम औपचारिक कार्यक्रमको क्षेत्रमा पर्छन् । 

औपचारिक कार्यक्रमका केही नमुना

कार्यक्रम गर्ने बैठकको निर्णय, कार्यक्रमको आयोजना तथा प्रमुख अतिथि, विशेष अतिथिहरूको छनोट तथा पत्राचार, कार्यक्रमको मिति, समय र स्थानको समेत जानकारी दिने प्रचलन छ । हिजोआज हुने सामान्यतया कार्यक्रमको सञ्चालन अवधिमा उद्घोषको सञ्चालन गर्दा आसनग्रहण, सभापति, प्रमुख अतिथि, विशेष अतिथिहरू, अतिथिहरूको फेहरिस्तको सूची नै बनाएर बोकेको हुन्छ । त्यहाँ मर्यादाक्रम अनुसार आसनग्रहण गराइन्छ । एउटा महत्वपूर्ण कुरा प्रायः सबै आयोजकले सर्वसाधारणलाई आसनग्रहण गराएको पाइँदैन । स्वागत मन्तव्य, उद्घाटन, मन्तव्यको फेरि वक्ताको पनि मर्यादाक्रम अनुसारको विवरण (सानो पद हुँदै ठूलोतिर), बीचबीचमा कुनै कार्यक्रम भए प्रस्तुत अर्थात् विषयगत कार्यक्रम भए प्रस्तुत, औपचारिक समापन धन्यवाद ज्ञापनसहित सभाध्यक्ष । यो मोडेल हेर्दा अधिकांश कार्यक्रम पट्यारलाग्दा र उपलब्धिविहीन देखिँदै आएका छन् । 

सभाध्यक्ष, प्रमुख अतिथि हुँदै सबैको पद, नाम, तथा अन्य संलग्न संस्थाहरू समेत जोडेर सम्बोधन गर्दा सम्बोधनमै धेरै समय खर्च हुने गरेको छ, जस्तैः नेपालको सांस्कृतिक भवन राष्ट्रिय नाचघरको उद्घाटन समारोहका आयोजक समितिको निमन्त्रणालाई स्वीकार गरेर आफ्नो अमूल्य समयको बापजुद पनि प्रमुख अतिथिको रूपमा उपस्थित हुनुभएका नेपाल कम्युनिस्ट पार्टीका  नेता नेपाली जनताका ढुकढुकी, क्रान्तिका नायक, जनप्रिय नेता, पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री आदि, आदि ) 

अतिथि 

यो कार्यक्रमको नमुना नेपालको सामन्तवादबाट सुरुवात हँुदै आएको परम्परागत शैली हो । यसमा बढीभन्दा बढी प्रमुख अतिथि, विशेष अतिथि र मर्यादाक्रमको ख्याल गर्नुपर्ने हुन्छ । उल्लेखित अतिथिलाई सम्बोधन गरेको आतिथ्यता आसनग्रहणसम्बन्धी पत्र घर वा कार्यलयमै पुग्नुपर्ने भर्सक आयोजकको टोली नै गएर स–सम्मान अनुरोध गर्नु पर्ने हुन्छ । प्रमुख अतिथिलाई कसैको पहुँच छैन भने पहुँचवालालाई अनुरोध गरेरसमेत उपस्थित गराउने र कार्यक्रमलाई भव्यताको संज्ञा दिने प्रचलन छ । के यो हामी ठीक गरिरहेका छौं ? सोच्ने समय आएको छ ।

समय

कार्यक्रमको समय तोकिएको भन्दा कम्तीमा एक घण्टापछि सुरु हुने गर्छ र यसलाई नेपाली समय भन्ने गरिन्छ । कार्यक्रममा सबैभन्दा ढिला नै प्रमुख अतिथि र विशेष अतिथि उपस्थित हुने गर्छन् । यो किन हुन्छ ? प्रमुख अतिथिको मनोविज्ञान नै सबै सामान्य मान्छे उपस्थित भइसकुन् र बाटोमै उनलाई स्वागत गर्न लामवद्ध बनिदिउन् भन्ने ध्येय लुकेको हुन्छ । यो एक किसिमको सामन्ती राज्यसत्ताले प्रयोग गर्दै आएको संस्कार र मान्यता हो । यसलाई परिवर्तनकर्मी र क्रान्तिकारी भन्नेहरूले पनि निरन्तरता दिँदै आएको पाइन्छ । विगतभन्दा अहिलेका सवारी पनि खास फरक पाइँदैन । आयोजक आफै पनि समयप्रति सचेत हुँदैनन् । अतिथिहरूलाई बोलाएको समयमा कार्यक्रम सुरु गर्न सक्दैनन् । किनकि उनीहरूको मनोविज्ञान पनि नेपाली समय भन्ने नै हुन्छ । आयोजकको व्यवस्थापन, अतिथिहरूको उपस्थिति, समयको तारतम्य कार्यक्रमको चुनौतीका रूपमा खडा हुँदै आएको छ । 

उद्घोषण

सञ्चालक वा उद्घोषकको जिम्मेवारी कार्यक्रमलाई प्रभावकारी तुल्याउनु हो । कार्यक्रम सञ्चालन कार्यक्रमको मुख्य पाटो मध्यमा पर्छ । कार्यक्रमलाई सफल र प्रभावकारीको जस–अपजसको भागीदार सञ्चालकलाई बनाइने गरेको छ । सञ्चालककै आधारमा  कार्यक्रम  ‘सुन्दर, सफल र झुर’ भन्ने चलन छ । पछिल्लो समय सञ्चालकको भूमिकाभन्दा बढी धेरै समय वक्ता र प्रस्तुतीकरणको बारेमा अतिरिक्त बढाइचढाइ गर्दा गर्दै समय खर्च गर्ने प्रवृत्ति हावी हुँदै गएको छ । यो एकदमै गलत हो । सञ्चालक स्मार्ट हुनुपर्छ । ठीक समयमा सुरु गरेर तोकिएकै समयमा कार्यक्रम उपलब्धिमूलक ढंगबाट समापन गर्न सक्नु सफल सञ्चालकको कला पनि हो । बीचबीचमा आफै सञ्चालक ‘वक्ता’ बनेर कार्यक्रमलाई बोझिलो बनाउने गरेको पाइन्छ । कतिपय कार्यक्रममा सञ्चालकले आसनग्रहण र स्वागतमै लगभग कार्यक्रमको आधा समय खर्च गरिरहेको पाइन्छ । 

खादा, ब्याच र मालाको मनोविज्ञान

कार्यक्रममा सभापतिको आसनग्रहणसँगसँगै ब्याच र खादा लागाइदिन उद्घोषकले प्रायः दुई महिलालाई अगाडि सार्ने गरिएको छ । महिला नै किन ? यो संस्कार हेर्ने हो । यो एउटा भयंकर जटिल लैंगिक प्रश्न हुन आउँछ । 

महिलामाथि हुने विभेदको सांकेतिक तर भयंकर रूप पनि हो यो । खादा र माला पनि सस्ता र महँगा अतिथि अनुसार फरक–फरक हुन्छन् । सहभागी, स्रोता वा दर्शक हेर्दै फरकफरक हुन्छन्  अर्थात् त्यहाँ स्पष्ट वर्ग नै छुट्टिएको हुन्छ ।

ब्याच वितरण र खादाले सम्मान गर्ने कार्यक्रमको औधि चल्तीकोे संस्कृतिको रूपमा विकास हुँदैछ । कार्यक्रमको आर्थिक तथा व्यवस्थापकीय पक्षको निकै ठूलो तथा झन्झटिलो र खर्चिलो पक्ष हो यो । ब्याचचाहिँ परम्परागत कार्यक्रमको संस्कृति हो भने खादाचाहिँ पछिल्लो समयमा निकै व्यापक प्रयोग र आलोचनाको बीचबाट प्रयोगमा आएको सम्मानको संस्कृति हो । यो कार्यक्रममा मात्र नभएर प्रायः सबै खाले अवसरमा यसको प्रयोग हुँदै आएको छ, जस्तैः बिहे, व्रतबन्ध, भोज, विजय जुलुस, जन्म, मृत्यु जस्ता कार्यमा । 

आसनग्रहण

आसनग्रहण शब्द संस्कृतबाट जस्ताको तस्तै आएको तत्सम शब्द हो । आसन भनेको बस्ने ठाउँ र ग्रहण भनेको सम्मानपूर्वक लिनु भन्ने हुन्छ । यो राजामहाराजाहरूले उनीहरूको बैठक, भेला, भोजभतेर आदिमा राजालाई छुट्टै सिटको व्यवस्था गरी गद्धिमा राखेर अन्य सर्वसाधारण तल बस्ने राजामाथि आसनग्रहण गर्ने भन्ने संस्कार हुँदै आएको शब्दावली हो । समय जति बदलिए पनि यो शब्द र आसनग्रहणको शैली बदलिएको पाइँदैन । कार्यक्रमको अहिलेसम्मको सबैभन्दा ठूलो समस्या नै आसनग्रहण बनेको छ । आज अधिकांश दर्शकको आँखामा आसनग्रहण कार्यक्रम निकै खाने र विवादास्पद बन्दै आएको छ । 

आसनग्रहणको शृंखला 

आसनग्रहण मञ्चको अतिथि आसनग्रहणको लागि तयार गरिएको डायसको बीचको सिट प्रमुख अतिथि, सभाअध्यक्ष अनि क्रमशः मर्यादाक्रम अनुसार हुनेगर्छ । उद्घोषकले अलिकति मात्रै मर्यादाक्रम मिलाएन भने निकै ठूलै अपमान भएको महसुस गर्नेहरू प्रायः अतिथिहरू हुन्छन्, आसनग्रहणको लागिः मञ्चको डायस, मञ्चको तल अग्रभाग, यथास्थानमा भनेर गराउने गरिन्छ, (मञ्चमा तीन खण्ड हुन्छ माथि, अग्रभाग तल, पछाडि यथास्थान) यसरी हेर्दा एउटा कार्यक्रममा उपस्थित महानुभावहरूमा को कसको हैसियत कति रहेछ भन्ने देखिने र आयोजकले आफ्नो हैसियत थाहा नपाएर अग्रभाग या मञ्चमै बोलाउनु पर्ने अतिथिलाई बोलाउँदै बोलाएन् अर्थात् यथास्थानमा मात्र बोलायो भने एक प्रकारको मर्यादाको कारण कार्यक्रम नै ठीक नलाग्ने, मन नपर्ने, असफल जस्तो पनि हुने गर्छ । कार्यक्रममा उपस्थित हुने तर सर्वसाधारणलाई चाहि समग्र आसनग्रहण नै नगराउँदा उनीहरूमा कस्तो असर पर्दो हो, सोचौं त ? 

आसन गर्ने तरिका वा मर्यादाक्रम

सभापतिः कुनै पनि औपचारिक कार्यक्रम सञ्चालन गर्न सभापतिको आवश्यकता पर्ने भएकाले भए भन्ने सबै ठाउँमा (जे सिकाए त्यही गरेजस्तो) गरिने गरिएको छ ।

प्रमुख अतिथिः प्रमुख अतिथिका सम्पूर्ण पद, उहाँको जीवनयात्रा उल्लेख गर्दै करिव ५ मिनेटसम्म लगाएर समय व्यतीत गर्ने गरिएको पाइन्छ । 

विशेष अतिथिहरूः प्रमुख अतिथिभन्दा केही कम तर सकेसम्म सबै वर्णन गर्ने नै गरिएको छ ।

अतिथिहरूः अतिथिहरूको पनि विशेषण, अलंकार थप गर्दै ।

छुटफुट आसनग्रहणः आउन बाँकी, छुटेका, मर्यादाक्रममा तलमाथि परेका अतिथिहरूलाई कोही आएपछि गराउनेछु भन्दै छुटेकालाई माफी माग्दै कार्यक्रमको बीचबीचमा अर्थात् कार्यक्रम सकिउन्जेलसम्म पनि यो प्रक्रिया चलिरहन्छ । सञ्चालकलाई मञ्चमै गएर आसनग्रहणका चिट दिने र कानेखुसी गर्ने क्रम चलिरहन्छ । कार्यक्रमको यो मोडेलले आज लाखौं मानिसको उत्पादनमूलक समय खर्च गरेर हामी हाम्रो बहुमूल्य समय त खर्च गरिरहेका छैनौं ? सोच्ने समय आएको छ ।

मन्तव्यः कार्यक्रमको अर्को महत्व पूर्ण पाटो मन्तव्यको रहेको हुन्छ । यसमा पनि मर्यादाक्रमको ठूलै महत्व  राखिन्छ । सानो प्रोफाइलबाट क्रमशः ठूलो प्रोफाइलमा मन्तव्यको क्रम राखिएको हुन्छ । को भन्दा को ठूलो पोस्टमा रहेछ भन्ने मन्तव्यको क्रमले पनि निधो गर्छ । मञ्चमा बस्ने मान्छेले मर्यादाक्रम अनुसार बोल्न पाएन भने अर्थात् समय अभावका कारण बोल्ने समय मिलेन भने निकै अपमानको गुनासो आउने गर्छ । 
ठ्याक्कै आसनग्रहण र यसको प्रकृति एकै प्रकारको हुने गरेको छ । आसनग्रहणमा पहिला बोलाउनु पर्ने मन्तव्यमा पछि बोल्ने मान्छे महŒवपूर्ण मानिन्छ । मन्तव्यमा केही कुरा उल्लेख गर्न यहाँ उपयुक्त हुन्छ ।

सम्बोधन 

सम्बोधनमा झन् यही ख्याल गरिन्छ कि हरेक  वक्ताले पहिला कसलाई सम्बोधन गरियो ? सभाध्यक्ष, प्रमुख अतिथि हुँदै सबैको पद, नाम, तथा अन्य संलग्न संस्थाहरू समेत जोडेर सम्बोधन गर्दा सम्बोधनमै धेरै समय खर्च हुने गरेको छ, जस्तैः नेपालको सांस्कृतिक भवन राष्ट्रिय नाचघरको उद्घाटन समारोहका आयोजक समितिको निमन्त्रणालाई स्वीकार गरेर आफ्नो अमूल्य समयको बापजुद पनि प्रमुख अतिथिको रूपमा उपस्थित हुनुभएका नेपाल कम्युनिस्ट पार्टीका  नेता नेपाली जनताका ढुकढुकी, क्रान्तिका नायक, जनप्रिय नेता, पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री आदि, आदि ) 

यसरी एक वक्ताले एक जना अतिथिलाई यो तरिकाले सम्बोधन गर्दै जाँदा सबैलाई सम्बोधन गर्दा कति समय लाग्छ ? सोचनीय विषय हो वा होइन ? यो सम्बोधनको परम्परा पनि सामन्ती संस्कारबाटै आएको हो र अहिलेसम्म पनि यही अवस्था चलिरहेकै छ । 

वक्ताहरूको प्रवृत्ति 

जब वक्ताको हातमा माइक पर्छ । समयको ख्यालै नगरी, स्रोताको ध्यान÷विचार नगरी, विषयवस्तु भन्दा फरक बहकिएर बोल्ने चलन पनि व्याप्त छ । बोल्दाखेरि अघि पूर्ववक्ताले भनेजस्तै...एउटा कथाबाट सुरु गर्छु...जस्ता कुरा जोड्दै जाने आफ्नो कुराभन्दा बढी अरुको कुरा काट्ने प्रवृत्तिका मन्तव्य हुन्छन् । 

सबैलाई समेटेर वक्ताहरूलाई बोल्न दिने र अनावश्यक मन्तव्यमै समय धेरै खर्च हुने कारणले विशेष र प्रमुख वक्ताको वक्तव्य नै फिक्का र दर्शकविहीन हुने पनि गर्छ । 

समापनः  सभाध्यक्षले औपचारिक कार्यक्रम समापन गर्ने प्रचलन छ । जब  सभाध्यक्षले कार्यक्रम समापन गर्न माइक हातमा लिइसक्दा नसक्दै दर्शक आधिभन्दा बढी निस्कने चलन छ । यो अत्यन्तै अमर्यादित वा असभ्य नेपाली चलन हो । यसपछि सभाध्यक्षले बोल्ने शब्द पनि नबोली सभा समापन गर्न बाध्य हुने गर्छ । कति पाए सभाध्यक्ष दर्शकको ख्यालै नगरी लामो बोल्ने पनि गर्छन् । यो पनि उचित हुँदैन ।

निष्कर्ष 

नेपालमा यी यस्ता औपचारिक कार्यक्रमले आज हामी नेपालीको सबैभन्दा बढी समय बर्बाद गरिरहेछन् । कार्यक्रमको उपलब्धिभन्दा हरेक पक्षबाट हेर्दा घाटा बढी देखिन्छ । सामन्तवादी संरचनाको मुख्य विशेषता नै सबैखाले विभेदको प्रशय दिनु हो । हालसम्म भइरहेका यी र यस्ता कार्यक्रम त्यही संस्कारबाट आएका हुनाले समय,काल परिस्थीति अनुसार अव यी प्रकारका कार्यक्रमलाई निस्तेज गर्दै नयाँ प्रक्रियाबाट कार्यक्रम सञ्चालन गर्ने पद्दतिको विकास स्थानीय तह, प्रदेश र संघीय संरचनाबाट सुरु गर्नु जरुरी छ । नेपालमा प्रमुख अतिथिलाई कार्यक्रमभरि राखेर अन्तिममा बोल्न दिने संस्कारको अन्य गर्न जरुरी छ । यसले महत्वपूर्ण मानिसको समय बचत हुन्छ । 

अब गर्न सकिने कार्यक्रमको प्रस्तावित मोडेल

यो कार्यक्रम पूर्णरूपमा औपचारिक तथा पूर्णरूपमा अनौपचारिक दुवै हुने छैन । यो अबको मानवीय समय र आवश्यकता अनुसारको हुनेछ ।

१. कार्यक्रमको निर्णयः सम्भव भए ग्रुप च्याटमार्फत् गर्ने । बढीभन्दा बढी इन्टरनेट, प्रविधिको प्रयोग गर्ने ।

२. सबै अतिथिलाई ग्रुप एसएमएस गर्ने, सम्भव नहुनेलाई मात्र फोन कल गर्ने ।

३. आयोजकले उपस्थित अतिथिलाई कार्यक्रम सुरु हुनुअगावै सिट सूचना अनुसार राख्ने । सिट सकेसम्म गोलो घेरामा राख्ने । त्यहाँ महŒवपूर्ण मान्छेको उपस्थिति छ भन्नेचाहिँ सबैलाई जानकारी होस् । तर, एउटाको उपस्थितिले अरुको आत्मसम्मानमा चोट नपुगोस् । यो प्रकृतिको सिट व्यवस्थापन गर्ने ।

४. उद्घोषकले कार्यक्रम आयोजनाको उद्देश्य, आमन्त्रित अतिथिको सामान्य परिचय, सम्बोधन तथा स्वागत मन्तव्यसहित सुरुवात गर्ने । छुट्टै  स्वागत मन्तव्य नराख्ने । 

५. सभापतिले कार्यक्रमबारे उद्घोषकले भन्न छुटाएका कुरासहित बिना सम्बोधन कार्यक्रमको सभापतित्व गर्ने समापन उद्घोषकलाई नै जिम्मा दिने । अर्थात् सम्बोधन एक जना आयोजकले गरिसकेपछि कोही पनि अतिथि वक्ता, प्रस्तोताले सम्बोधन नगर्ने । 

यदि सम्बोधन गर्नै पर्ने भए ५ सेकेण्डभित्र गर्न पनि सकिन्छ, जस्तैः कार्यक्रममा उपस्थित सम्पूर्ण महŒवपूर्ण व्यक्तित्वहरू वा अतिथि आसनग्रहण गराएकै कार्यक्रम भएमा (कार्यक्रमका सभाध्यक्ष, प्रमुख अतिथि, विशेष अतिथि तथा सम्पूर्ण उपस्थित महानुभावहरू) यति भए हुन्न र ? वक्ताहरूलाई विषयमा मात्र बोल्ने समयको दायरा दिने । सीमा वा विषयभन्दा बाहिर गएमा तत्काल चिट दिने ।

६. प्रायः प्रमुख अतिथि, विशेष जस्ता प्रोटोकललाई कसैसँग नबाझिने ढंगले गर्ने वा यो सिस्टम नै नराख्दा राम्रो हुन्छ । वा विशेष अतिथिसम्म बनाउने । आसनग्रहण गराउँदै नगराउने किनकि पहिले नै हामीले अतिथिलाई सिटमा राखिसकेका हुन्छौं । आयोजक, उद्घोषकले अगाडि नै परिचय गराई आ–आफ्नो सिटमा बसाइसकेको हुन्छ । 

७. अबको कार्यक्रमका हल दुई तह भएका निर्माण नगर्ने । राउण्ड टेबल बैठक गर्ने । आम कार्यक्रमको मञ्च आवश्यक परेमा एक जना जो वक्ता हुन्छ, उहाँलाई मात्र मञ्चमा बोल्न दिने । अन्य सबै विभेद नहुने किसिमको हलमा डिजाइन गरी बस्ने । 

८. हरेक होटल, संघ–संस्था, सरकारी तथा गैरसरकारी निकायले तालिम, स्टेज तयार तथा निर्माण गर्दा नै विभेद नझल्किने समान प्रकृतिका निर्माण गर्ने ।

९. खादा, ब्याच फूलमाला जस्ता आलंकारिक चिज मात्र हुन् यी केहीको प्रयोग नगर्ने यसले उपस्थितिमा ठूलो विभेदको पर्खाल ल्याउँछ । यो काम नगर्दा आयोजकको हतासो कम र ठूलो खर्च जोगिने गर्छ । बरु आयोजकले यसमा गर्ने खर्च कुनै कोषमा राख्न वा सहयोग गर्न सक्छ । सम्मान गर्दा भने यो प्रयोग गर्न सकिन्छ । अतिथिलाई आवश्यक हुन्न । यो नलागाउँदैमा अतिथि सानो र अपमानित हुने भन्ने भ्रम हटाउनु पर्छ । को कस्तो सम्मानित मान्छे हो भन्ने विषय पनि अहिलेको पिंढिलाई थाहा हुन्छ । त्यसैले कार्यक्रममा बढी नै पुरानो शैलीको बढाइचढाइ आवश्यक हुन्न । यसले केबल समय मात्रै नोक्सान भइरहेको छ । 

सोचौं, नयाँ केही थालनी गरौं । सम्भव छ ।