१७ दिनसम्म सञ्चालन हुने  सुर्माभवानी जात्रा शुभारम्भ

१७ दिनसम्म सञ्चालन हुने  सुर्माभवानी जात्रा शुभारम्भ

लोकसंवाद संवाददाता  |  पर्यटन  |  श्रावण २७, २०७६

दार्चुला । सबैभन्दा लामो समयसम्म मनाइने सुर्माभवानीको जात्रा शुरु भएको छ । साउन महीनाको मान्य औँसीदेखि शुरु भएर दश दिनसम्म सो जात्रा विधिवत् रुपमा मनाइने गरिन्छ ।

दार्चुला र बझाङको सीमा क्षेत्रमा सो जात्रा लाग्ने गर्दछ । सुर्माभवानी जात्रा औँसीदेखि १७ दिन र रतेडीदेखि सात दिनसम्म धुमधामका साथ मनाइने गरिन्छ । अपी हिमाल गाउँपालिकाको घाजिर छेती हुँदै बझाङको सुर्मासरोवरको सीमासम्म सो जात्रा मनाइने गरिन्छ ।

उच्च हिमशङ्खलाको बीचमा अवस्थित सरोवर धार्मिक पर्यटकीय तथा सांस्कृतिक दृष्टिकोणले महत्व रहेको पाइन्छ । चैतमा वर्णन भएको प्रसङ्गअनुसार पूर्णिमाकै दिन थारको भेषधारण गरेका सुर्माभवानी बझाङका सिकारीले लखेट्दा सुर्मा तालमा विलय भएको उल्लेख छ ।

त्यही कारण सुर्मा तालमा अपी हिमालको खण्डेश्वरीबाट जाने तीर्थालुले सरोवरमा पूजा गरेपछि मात्रै बझाङबाट आउने तीर्थालुले पूजा गर्ने चलन रहेको इतिहासका जानकार तुङ्काधोज बोहरा बताउनुहुन्छ । सुर्मा सरोवर जात्रा छ हजार ५२३ मिटर उचाइमा गएर मनाइने गरिन्छ ।

जात्राका लागि क्षेत्त पुख्र्यौली घर भएका स्थानीय र घाजिर घर भएका समुदायका तीर्थालुले औँसीदेखि नै एक छाक मात्र खाएर सुर्माभवानीको व्रत बस्नुपर्ने परम्परा छ । सुर्मासरोवर तीर्थ जाने व्रतालु भक्तलाई वीरे भनिन्छ । वीरे दुई प्रकारका हुन्छन् । जसमा पहिलो पटक जानेलाई बालो वीरे र पटक पटक गएकालाई बुढोवीरे भन्ने चलन छ ।

जसअनुसार सहभागी हुने छेती घर भएका ठेकरे, बोहरा, धामी, वैरे समुदायका भक्तजनलाई उवादेशी, घाजिर घर भएका स्थानीय भक्तजनलाई उनादेशी तथा खण्डेश्वरीभित्र बसोबास गर्ने, रोकाया, कार्कीलाई वाइदेशी भन्ने चलन छ ।

सुर्माभवानी जात्रामा सहभागी हुने भक्तजनलाई जात्रा अवधिभर लसुन, प्याज, मसुर तथा मासु रक्सी जस्ता भोजन निषेध गरिएको छ । जात्रालाई भव्य रुपमा मनाउन स्थानीय क्लब तथा सङ्घसंस्थालाई परिचालन गरिएको अपी हिमाल गाउँपालिकाका अध्यक्ष धर्मानन्द मन्यालले जानकारी दिनुभयो ।

गाउँपालिकाले समेत जात्रा व्यवस्थापनमा सहयोग गरेको छ । विशेष जात्रा मनाइने भएको कारण छेती घाजिर बस्तीलाई नमूना बस्तीका रुपमा विकास गर्न गुरुयोजना निर्माण शुरु गरिएको गाउँपालिका अध्यक्ष मन्याल बताउनु भएकाे समाचार राससमा उल्लेख छ ।