बडिमालिका पूजाको लागि भक्तजनहरू जाने क्रम  सुरु

बडिमालिका पूजाको लागि भक्तजनहरू जाने क्रम  सुरु

लोकसंवाद संवाददाता  |  पर्यटन  |  श्रावण २७, २०७६

बाजुरा ।  सुदूरपश्चिमको धार्मिक तथा पर्यटकीय गन्तव्य बडिमालिका धार्मिक यात्रा शुभारम्भ भएको छ ।

२०७६ साउन २९ गते जनैपूर्णिमाको अघिल्लो दिन लाग्ने मेलाका लागि धार्मिक यात्रा  पाँच दिन अगावै  शनिबारबाट औपचारिक शुभारम्भ भएको हो ।

सरकारी टोलीे २०७६ साउन २७ बिहानदेखि जिल्लाबाट बडिमालिकाका लागि प्रस्थान गर्ने प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले बताउनुभएको छ । बडिमालिका मन्दिरमा जनैपूर्णिमाको अघिल्लो दिन पूजा लाग्ने गरेको छ ।

समुद्री सतहबाट चार हजार २१६ मिटर उचाइमा रहेको बडिमालिका पुग्न तीर्थालुहरुलाई मार्तडीबाट तीन दिन लाग्ने गरेको छ । दूरीका हिसाबले दुई दिनमा पुगिने भए पनि धार्मिक मान्यताअनुसार तीन दिन लगाएर पुग्ने मान्यता छ । हरेक वर्षको साउन–भदौमा पर्ने बडिमालिका मेलामा झरी होस् कि वर्षा जे भए पनि भक्तजनहरुले त्यसको प्रवाह नगरी यात्रा गर्ने गर्दछन् ।

१४ हजार फिट उचाइमा रहेको बडिमालिकाको यात्रालाई धार्मिकरूपमा महत्वपूर्ण मानिन्छ । आस्था बोकेर गएकाहरुले यात्रा अवधिको थकाइ भुल्ने गरेका छन् । बडिमालिकाको सुन्दरता र आस्थाले थकाइदेखि अन्य सबै प्रकारका कष्टहरु बिर्सिने गरेको बडिमालिका नगरपालिकाका प्रमुख पदम बडुवालले बताउनुभयो । नगरपालिकाबाट पनि यो वर्ष विशेष टोली जाने भएको छ । बडिमालिका मन्दिर क्षेत्र भने त्रिवेणी नगरपालिकामा पर्छ । बडिमालिका पूजाआजाको परम्पराअनुसार छिमेकी जिल्ला अछाम, डोटी, जुम्ला र कालिकोटबाट सरकारी टोली पूजासहितका तीर्थयात्री यसअघि नै बडीमालिका प्रस्थान भइसकेका छन् ।

सरकारी टोली डोटीबाट १२ र जुम्लाबाट १० दिनपूर्व नै प्रस्थान गर्ने धार्मिक मान्यता छ । हिँडेरै पुग्नुपर्ने विश्वास रहे पनि हाल सवारीसाधनको प्रयोग गरेर आउने गरेका छन् । अछामको वैद्यनाथबाट समेत त्यस क्षेत्रमा फलेको धानको बाला बडिमालिकामा चढाउने परम्पराअनुसार एक टोली १० दिनअघि प्रस्थान गरिसकेको छ । सोही मान्यताअनुसार जिल्लाभित्रका तीर्थयात्री त्यसतर्फ तीन दिनअघिदेखि हिँड्न थालेका हुन् । उचित सुरक्षा व्यवस्थासहित प्रहरी टोली पनि खटिने जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताउनुभयो ।

जिल्ला अस्पतालबाट औषधिसहितको टोली पनि जाने तयारी गरिएको कार्यालय प्रमुख डा. रुपचन्द्र विश्वकर्माले जानकारी दिनुभएको छ । मागेको बरदान पूरा हुन्छ भन्ने विश्वासले बडिमालिकाको धार्मिक महिमा बढाएको भक्तजन बताउँछन् । स्कन्दपुराणमा उल्लेख भएअनुसार मल्लागिरी पर्वतमा सतीदेवीको बायाँ अङ्ग पतन भएको  थियो ।

यसै स्थानमा मालिकादेवी उत्पन्न भएकाले बडीमालिका एक प्रमुख शक्तिपीठका रूपमा स्थापित भएको हो । मन्दिर क्षेत्रको प्राकृतिक सुन्दरताले बडिमालिकाको महत्व अझ बढाएको छ । त्यस क्षेत्रको अवलोकन गर्ने उद्देश्यले आन्तरिक तथा बाह्य पर्यटक यसैबेला बडिमालिका पुग्ने गर्छन् ।

२२ पाटन, त्रिवेणी र खेतीबेती बडिमालिकाका मुख्य आकर्षणका केन्द्र रहेका छन्  । करीब १४ हजार फिट उचाइका समथर हरिया फाँट र ती फाँटमा फुलेका दर्जनौँ प्रजातिका फूलको रमणीयताले बडिमालिका प्रकृतिको अनुपम उपहार अनुभव हुने त्रिवेणी नगरपालिकाका प्रमुख रामसिंह रावलले बताउनुभयो ।

देश–विदेशबाट पनि तीर्थालु पुग्ने गर्दछन् । बडिमालिकामाईको दर्शनका लागि विशेषगरी बाजुरा, बझाङ, अछाम, डोटी, कैलाली, डडेल्धुरा, बैतडी, जुम्ला, कालिकोट, हुम्लाबाट तीर्थालु पुग्ने गर्दछन् । काठमाडौँ, भारतको गडवाललगायतका ठाउँबाट पनि दर्शनार्थी आउने गरेको मेला व्यवस्थापन समितिले जनाएको छ । बडिमालिकामाईको पूजा गर्दा र बर माग्दा चाहेको कुरा पूरा हुने विश्वास रहिअएकाे  समाचार राससकाे लागि गङ्गराज पण्डितले लेख्नु भएकाे  छ ।