तपस्वी पहाडः उज्यालोका पक्षमा वकालत

तपस्वी पहाडः उज्यालोका पक्षमा वकालत

जिचेन स्याङतान  |  साहित्य  |  श्रावण २७, २०७६

अक्सर कविहरूसामु विषयवस्तुको छनौट र बिम्ब विन्यासको क्रममा उज्यालो या अँध्यारो मध्ये कुन पक्षलाई प्रधान मान्ने भन्ने विषयमा गम्भीर प्रश्न खडा भइदिन्छ । यस मानकमा हेर्दा कवि शशी लुमुम्बूको तपस्वी पहाड उज्यालोको गीत हो । हुनत हामीसँग आत्महत्या गराउन बाध्य पारिदिने लास्जियो जाभोरजस्ता कविहरू नभएका पनि होइनन् । परन्तु, कविले नैराश्यताको बीज छर्दै हिँडेको पटक्कै सुहाउँदैन । शशीको यस संग्रहलाई नियाल्दा अधिकांश कविताहरू उज्यालाका पक्षमा वकालत गर्दै हिँडेको कुनै अभियन्ताजस्तो लाग्छन् । खासगरी समय, समाज र युगबोध भएका कविहरू यसरी मुखरित हुने गर्छन् । अर्कोतर्फ कवितालाई स्वान्त सुखायको साधन ठान्ने र बजारिया ग्ल्यामरको ¥याम्पमा हिँडाउनेहरूका लागि उनका कविताहरू निर्मम प्रतीत हुन सक्छन् ।

आगोको खोजीमा 
कति युग बितायौँ 
कति कल्प कटायौँ
कति सन्तानहरूलाई सहिद बनायौँ । 
        (किन यति दुलर्भ छ आगो !)

कवितामा युद्ध विभिषिका, रुपान्तरण, स्थापत्य कहिरनहरूमाथि प्रश्न, सीमान्तकृत÷सबाल्र्टनीय चेत, उज्यालो महिमा, नोस्टाल्जिक सेल्फ कन्फेसन र डायास्पोरिक चेतलाई डिस्कोर्सको रुपमा अगाडि सार्दै प्रगतिवादी चेतलाई उनले अन्तर्यमा केन्द्रीय स्वरका रुपमा स्थापित गरेका छन् र अधिकांश कविताले उत्तिकै सुझबुझपूर्ण ढङ्गले पाठकको मानसपटलमा सपाट चित्र कोर्न सक्ने सामथ्र्य राख्छन् । कवितालाई कमभन्दा कम अमूर्त बनाउन खोज्नुले कविता कर्मलाई उनले सौन्दर्यका लागि सौन्दर्यभन्दा पनि समाज रुपान्तरणसँग जोड्न चाहेको देखिन्छ । साहित्य मीमांशका  अमिनहरूले यस कोटीका कविहरूलाई देब्रे ढल्कुवाको पगरी पनि गुथ्ने गरेका छन् । देशले भोग्नु परेको सशस्त्र संघर्षको घाउलाई उनले सन्त्रासहरू जीवितै छन्, दिलसराको पुनर्जन्म, दशैँ अनुभूति, बेपत्ता प्रियजनप्रति, ज्योति गुमाएका योद्धाहरूमार्फत क्यानभासमा पोत्दा सायद जो कसैलाई पनि यसले फ्ल्यासब्याकमा पुग्न बाध्य पारिदिन्छ । 

त्यस दिनदेखि –
घुरेनन् कौसीमा परेवा
आएनन् दलिनमा बास बस्न गौँथली 
गाएनन् कोइलीले वनमा लोकगीत
फर्किएनन् चरा साँझमा बासस्थान
जुन दिन –
एकाएक खोसियो हामीबाट तिमीलाई ।
(बेपत्ता प्रियजनप्रति)

लामो समयको त्याग, तपस्या र बलिदानपश्चात परिवर्तनलाई संस्थागत गर्ने क्रममा तथाकथित नायकहरूको वैचारिक र सांस्कृतिक स्खलनलाई उहाँले आंलकारिक प्रतिप्रश्न शैलीमा व्यंग्यचेतका साथ पस्कनु भएको छ । यसले कविताक्राफ्टमाथि उनको दक्षता प्रष्टसँग झल्काइदिन्छ । 
   
   देउताको पनि देउता देख्यौँ तिमीलाई 
तिम्रा हर बोली हामीलाई देववाणी लागे
भत्काएर कुलदेउताको थान
तिमीलाई विराजमान गरायौँ त्यहाँ
   कालान्तरमा –
तिमी हिउँचुलीझैँ चुलिँदै गयौ
हामी रित्तिइँदै गयौँ÷खिइँदै गयौँ .....।
   हे नायक !
तर,
तिमीले भनेजस्तो
खोइ त चमत्कार भएको ?
(हे नायक)

राजधानी प्रवेश, अन्तिम विद्रोह, अनागरिक कथा, अक्कर र खरिते, देशसँग संवादमार्फत राज्यसत्ताविरुद्ध उहाँ तीव्र असन्तोषका साथ वागी विद्रोहीको रुपमा देखा पर्नुहुन्छ । खासगरी समाजको पिँधमा थिग्रिएर रहेका समुदायप्रति उहाँको असीम सहानुभूति देखिन्छ । कवितालाई पाठकको अदालतमा उभ्याउँदा उनले सबाल्र्टनीय चेतलाईसमेत पछ्याउनु भएको पाइन्छ ।  बजारमा छ्यास्छ्यास्ती भेटिने वनमारा कविहरूका लागि उहाँका कविताहरू पट्यारलाग्दा लाग्ने खालका रहेकाछन् । किनकि, एकाध कवितामा बाहेक कतै पनि रुमानी तथा पराभौतिक कल्पना भेटिँदैन । बरु, कतै कतै खास वस्तुभन्दा कहिलेकाहीँ त्यसको प्रतिच्छाया सुन्दर देखिन्छ भन्ने एरिस्टोटलको भनाइलाई सम्झाइदिने गरी समाजको अन्तरविरोध र तीतो यथार्थलाई डकुमेन्ट्रीय शैलीमा प्रस्तुत गर्नुभएको छ । 

जस्तापाताको भारी बोकेर 
चतराबाट आइरहेका भरिया दाइ
अक्करमा ठोक्किएर 
सप्तकोसीमा खसेको दृश्यले 
अहिले पनि तर्साइरहन्छ ।
        (अक्कर र खरिते)

अर्गानिक मान्छे, सपनाहरूको रक्षार्थ, आमाको चिठी र अनागरिकमार्फत उपभोक्तावादी चिन्तन, पुँजीवादको तीव्र प्रभाव र अर्थ राजनीतिक तरलतासँगै हुर्केको आन्तरिक तथा बाह्य प्रवासित्वले स्थानीय सामाजिक तथा सांस्कृतिक वैभवमाथिको खतरातर्फ संकेत गरेका छन् । यस क्रममा शैलीगत हिसाबले समेत विशिष्ट आन्तरिक लय चेतना देखिनुले उहाँमा परेको भूपी प्रभाव सहजै देख्न सकिन्छ । 

छोरा !
तेरो बाटो हेर्दाहेर्दै हामी त
आफैँ बाटो हुन लागिसक्यौँ 
खोस्रिँदाखोस्रिँदै खेतबारी 
आफैँ माटो हुन लागिसक्यौँ 
        (आमाको चिठी)

मेरा लागि देशमा 
एक बित्ता जमिन पनि भएन
– उभिनलाई
मेरा लागि देशमा एक टोपी आकाश पनि रहेन 
– ओतिनलाई 
        (सपनाहरूको रक्षार्थ)

कवितामा प्रयुक्त घाम, चन्द्रमा, पूmल, आगमन, आगो, सपनाजस्ता प्रतीकहरूले उनी युटोपियन समाज स्थापनाका लािग प्रयत्नशील देखिन्छन् । तर, उज्यालोको गीत गाउँदै गर्दा अँध्यारोको बिम्बलाई समेत उनले समसामयिक परिवेश अनुकूल प्रस्तुत गर्नु भएको छ ।  

त्यस्तो के सम्बन्ध छ कुन्नि
तस्करलाई हाछ्युँ आउँदा
सरकारको मुटु हल्लिन्छ 
तस्करलाई औँलो ठड्याउँदा 
उसको टाउको दुख्छ । 
        (कि यो शहर ठीक छैन)

कविताको सार पक्ष जति सबल देखिन्छ, उतिकै मात्रामा रुप पक्ष पनि देखिन्छ । खासगरी रुपक, उपमा, प्रतीक तथा मानविकीकरणले उहाँका कविताका रुप पक्षलाई बलियो बनाएका छन् । कुशल शब्दविन्यासले कवितामा एक खालको सुमधुर संगीत समेत पैदा गरिदिएको छ । हुनत कवितामा नजानिँदो पाराले स्वतः लयको निर्माण हुन्छ । तर, उहाँले प्रायःजसो सबै कवितामा श्रुत्यनुप्रास र अन्त्यानुप्रासको समेत कुशल प्रयोग गर्नुभएको छ । लामा र छोटा दुवै प्रकारका कवितामा उहाँको कलम उत्तिकै बलियो देखिएता पनि छोटा कविताहरू बढी खँदिला र प्रभावकारी देखिन्छन् । 

यती हुँदाहुँदै पनि रुप र सार दुवै कोणले कवि शशीको ‘तपस्वी पहाड’लाई यथार्थवादी/ प्रगतिवादी कविता संग्रहका रुपमा भने लिन सकिन्छ ।