बकर इद : बलिदान र दानको पर्व

बकर इद : बलिदान र दानको पर्व

लक्ष्मण ओझा  |  समाज  |  श्रावण २७, २०७६

आज बकर इद अर्थात् मुस्लिम धर्मावलम्बीको एक महत्वपूर्ण चाड । ‘हिजरी संवत्’ अनुसार ‘जुल हिज्जा’ महिनाको १० औं दिन । 

विश्वको झण्डै एक चौथाइ हिस्सा ओगटेका मुस्लिम धर्मावलम्बीले आज यो पर्व हर्षाेल्लासपूर्वक मनाइरहेका छन् । 

आज विश्वभरका मस्जिदमा चहलपहल रहेको छ । पर्वका अवसरमा मुस्लिम धर्मावलम्बीहरू एक–आपसमा शुभकामना आदानप्रदान गरिरहेका छन् । 

मुस्लिम धर्मावलम्बीले बकर इदलाई त्याग अर्थात् कुर्बानी र दानको पर्वका रूपमा मनाउँछन् । यस दिन खासगरी बाख्रा र भेडाको बलि दिने प्रचलन छ । तर, पछिल्लो समय बोका, खसी, राँगा र भैँसीको बलि पनि दिन थालिएको छ । 

मुस्लिम धर्ममा यस पर्वका बेला आर्थिक रूपमा सम्पन्न मानिसले आफ्नो संचित धनको २.५ प्रतिशत हिस्सा आर्थिक रूपले विपन्न मासिनलाई दान गर्नुपर्ने नियम बनाइएको छ । यसको कारण हो– आर्थिक रूपले विपन्न मानिसले पनि पर्व मनाउन सकुन् । 

यसरी मनाइन्छ 

बकर इदको दिन बिहान सबेरै उठेर नुहाइ–धुवाई गरी खुलास्थान वा मस्जिदमा गई सामूहिक रूपमा विशेष नमाज पढ्ने धार्मिक मान्यता छ । नमाज पढिसकेपछि एक–आपसमा अँगालो मारी शुभकामना आदानप्रदान गर्ने गरिन्छ । पछिल्लो समय यो पर्वमा गैर मुस्लिम समुदायका मानिसलाई बोलाएर शुभकामना आदानप्रदान गर्ने क्रम पनि बढ्दै गइरहेको छ । त्यसपछि घर फर्किएर खसी, बाख्रा लगायतको कुर्बानी (बलि) दिने परम्परा छ । बलि दिइएको पशुको मासुलाई तीन भाग लगाइन्छ, जसमा एक भाग आफूलाई राखिन्छ । बाँकी दुई भागमध्ये एक नजिकका मित्रलाई र अर्काे गरिब तथा असहायलाई बाँड्ने प्रचलन छ । 

यस आधारमा बकर इदलाई बलिदान र दानको पर्व भन्न सकिन्छ । 

के छ मान्यता ? 

यो पर्व मुस्लिम धर्मगुरु हजरत इब्राहिमको बलिदानमा आधारित छ । उनको बलिदानको उदाहरण परम्पराका रूपमा स्थापित भएको हो । 

मान्यता अनुसार लगभग चार हजार वर्षपहिले अल्लाह (भगवान्)ले मुस्लिम धर्मगुरु इब्राहिमलाई सपनामा आफ्नो प्रिय प्राणी वा वस्तुको बलिदान गर्न भने । उनले अल्लाहको निर्देशन सहजै स्वीकारे । र, आफ्नो प्रियको बलिदानका लागि सबै तयारी गरे । कान्छो छोरा उनको सबैभन्दा प्रिय थियो । बलिदान गर्ने दिन उनले कान्छो छोरालाई वधस्थलमा ल्याए । बलिदान गर्नुअघि छोराप्रति दयाभाव आउन सक्छ भनी आँखामा पट्टि बाँधे । र, छोरामाथि हतियार प्रहार गरे । 

तर, जब उनले आँखाको पट्टि खोले, छोरालाई जिउँदै आफ्नो अगाडि उभिएको देखे । हतियार प्रहार गर्दा पनि छोरालाई केही नभएको देखेर उनलाई अचम्म लाग्यो । त्यसपछि उनले यताउता हेरे, वधस्थलमा भेडा काटिएको अवस्थामा थियो । 

उनको यही बलिदानको उदाहरणलाई परम्पराका रूपमा मनाउन थालिएको हो । 

गलत प्रवृत्ति 

बकर इदले धार्मिक सद्भाव झल्काए पनि यसका केही नराम्रा पक्ष रहेका छन् । 

हामी सबैलाई थाहा छ– बकर इदमा प्रायः बाख्राको बलि दिइन्छ । यो समयमा बाख्रा, बोका र खसीको माग अत्यधिक हुन्छ, जसका कारण मूल्य पनि महँगो हुन्छ । माग बढ्दा मूल्य बढ्नु अर्थशास्त्रको नियम नै हो । तर, पर्वका बेला भने यो नियम लागू हुँदैन । यतिबेला मागअनुरूप मूल्य घटबढ हुँदैन । मनपरी मूल्य कायम गरिन्छ । आवश्यकभन्दा अत्यधिक मूल्य तिरेर बाख्रा, बोका र खसी किनबेच हुने गरेको छ । 

केही दिनअघि भारतमा एक व्यक्तिले २२ लाखमा तीन बाख्रा किनेको समाचार भारतीय सञ्चारमाध्यममा सार्वजनिक भएको थियो । यसले पनि बाख्राको मूल्य अप्रत्यासितरूपमा बढेको जानकारको भनाइ छ । यसले आर्थिक रूपले विपन्न समुदाय मारमा परेका छन् । 

निश्कर्ष 

बकर इद बलिदान र दानको पर्व मात्रै होइन, धार्मिक सद्भाव झल्काउने पर्व पनि हो । मुस्लिम धर्मावलम्बीले गैर मुस्लिम समुदायका साथीभाइलाई बोलाएर शुभकामना आदानप्रदान गर्नु यसको उदाहरण हो । यो प्रचलन केही समययता मात्रै देखिन थालेको हो । 

विश्व समुदाय तथा देश–देशबीच एक–आपसमा वैमनस्यता बढिरहेका बेला विश्वको झण्डै एक चौथाइ हिस्सा ओगटेका मुस्लिम समुदायले देखाएको धार्मिक सद्भाव साच्चै नै उदाहरणीय छ । 

बकर इदको सबैलाई शुभकामना !