बर्खा सकियो,  मुस्ताङमा सुरु भयाे  यार्तुङ महोत्सव

बर्खा सकियो,  मुस्ताङमा सुरु भयाे  यार्तुङ महोत्सव

लोकसंवाद संवाददाता  |  पर्यटन  |  श्रावण २८, २०७६

मुस्ताङ । निरज थकाली हिमालपारिको जिल्ला मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ मन्दिरको मुख्य प्रवेशद्वार रानीपौवामा आजदेखि यार्तुङ महोत्सव शुरु भएको छ ।

मुक्तिनाथसहित यहाँका १९ वटा गाउँका स्थानीयले प्राचीनकालदेखि बर्खा सकिएको खुशियालीमा रमाउँदै यार्तुङ महोत्सव गर्दै आएकामा यस वर्ष बारागुङ मुक्तिक्षेत्र गाउँपालिका र जनप्रिय युवा क्लबको आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा महोत्सव गरिएको हो । बर्खायाम सकिएको खुशियालीमा यार्तुङ मनाइए पनि सामान्यतः वर्षभरि नै यस क्षेत्रमा पानी कम पर्दछ ।

महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्याप्त पर्यटकीय सम्भावना बोकेको मुस्ताङमा हिजोका दुःखका दिन समाप्त हुँदै गएको बताउनुभयो । भौगालिक विकटताका साथै शिक्षा, स्वास्थ्य आदिका कारण यो क्षेत्र पछि परेको बताउँदै उहाँले आगामी दिनमा आवश्यकताअनुरुप पर्यटकीय पूर्वाधार विकास गर्दै लगिने बताउनुभयो । पूर्वाधार विकास प्रदेश सरकारको प्रमुख प्राथमिकतामा रहेको बताउँदै उहाँले उपल्लो मुस्ताङमा जिओ पार्क निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न बजेट छुट्याइसकेको जानकारी दिनुभयो ।

मुस्ताङमा विद्यमान गरीबी आगामी १० वर्षभित्र हटाउने उहाँले उल्लेख गर्नुभयो । मुक्तिनाथ मन्दिर पछिल्ला समयमा फोहर हुनेक्रम बढ्दै गएकामा जोड दिँदै मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले मन्दिर परिसरमा शौचालय, रानीपौवामा ढल निकास लगायतमा सहयोग गर्ने बताउनुभयो ।

मुस्ताङकै छेङ्गुरमा ‘हाइ अल्टिच्युट ट्रेनिङ सेन्टर’ निर्माणको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गर्न डेढ करोड रुपैयाँ छुट्याइएको उहाँले जानकारी दिनुभयो । मुक्तिनाथको विकास समग्र प्रदेशको विकाससँग जोडिएको चर्चा गर्दै उहाँले मुक्तिनाथ, दामोदरकुण्ड जस्ता स्थलको भारत र चीनमा प्रवद्र्धन गरिने बताउनुभयो ।

आर्थिक वर्ष २०७८/७९ सम्म कालीगण्डकी करिडोर सम्पन्न गर्ने लक्ष्य रहेको र कोराला नाका खुलाउन पहल भइरहेको बताउँदै मुख्यमन्त्री गुरुङले यो क्षेत्र चाँडै नै सुगम अन्तरराष्ट्रिय व्यापारिक केन्द्र बन्ने विश्वास व्यक्त गर्नुभयो । सङ्घीय सांसद प्रेमप्रसाद तुलाचनले यार्तुङ जिल्लाको प्राचीन संस्कृति भएको बताउँदै यसको जगेर्नाका लागि महोत्सवले निरन्तरता पाउनुपर्ने धारणा राख्नुभयो ।

मुस्ताङमा अहिले पनि कतिपय स्थानीयवासीले लालपूर्जा नपाएकाले त्यस्ता समस्याको समाधान गर्न पहल भइरहेको बताउनुभयो । प्रदेशसभा सदस्य महेन्द्र थकालीले संस्कृतिको जगेर्ना गर्दै जानुपर्ने बताउँदै महोत्सवले हिमाली क्षेत्रको संस्कृतिलाई बचाइराख्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

गण्डकी प्रदेशका प्रमुख सचिव हरिप्रसाद बस्यालले संस्कृतिको पुस्तान्तरण हुनु आवश्यक भएको बताउनुभयो । यस्ता महोत्सवहरुले सांस्कृतिक जागरण ल्याउन मद्दत पुग्ने उहाँको भनाइ छ । बारागुङ गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरूङले हिमाली संस्कृतिको जीवन्तता र पर्यटन प्रर्वद्न गर्न महोत्सव आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष डिकी गुरुङ, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक रेग्मी, जनप्रीय युवा क्लबका सल्लाहकार सुरज गुरुङलगायतले यार्तुङको महत्व र पर्यटन प्रवद्र्धनका विषयमा प्रकाश पार्नुभयो । चार दिनसम्म चल्ने महोत्सवमा याकमा सवार, ऐतिहासिक घोडा दौड, परम्परागत ताराखेल, ‘सेवेन ए साइड’ फुटबल प्रतियोगितालगायतका कार्यक्रम हुनेछन् ।

महोत्सवमा गाउँपालिकाभित्रका १९ वटा गाउँको परम्परागत वेषभूषा प्रदर्शन गरिनुका साथै त्यहाँका विविध संस्कृति देखाइनेछ । महोत्सवमा जिल्लाका विभिन्न गाउँ तथा छिमेकी जिल्लाबाट समेत नागरिक सहभागी भएका समाचार राससकाे लागि वासुदेव पौडेलले लेख्नु भएकाे छ ।