उपत्यकामा सवारी दुर्घटनामा ज्यान गुमाउने बढ्दै

उपत्यकामा सवारी दुर्घटनामा ज्यान गुमाउने बढ्दै

लोकसंवाद संवाददाता  |  समाज  |  श्रावण २८, २०७६

काठमाडौं । काठमाडौं उपत्यकामा सवारी दुर्घटनामा परी ज्यान गुमाउने बढेका छन् । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांक अनुसार गत आर्थिक वर्षमा २११ जनाले ज्यान गुमाएका छन्, जुन अघिल्लो आर्थिक वर्षभन्दा बढी हो । आर्थिक वर्ष ०७४/७५ मा १९४ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । 

यसो त पछिल्ला चार वर्षमा उपत्यकामा बर्सेनि दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढिरहेको छ । कार्यालयका अनुसार आर्थिक वर्ष ०७२/७३ मा सवारी दुर्घटनामा परी १६६ जनाले ज्यान गुमाएका थिए । आर्थिक वर्ष ०७३/७४ मा १८२ जनाको ज्यान गएको थियो । 

उपत्यकाका सडक जोखिमपूर्ण भएकाले बर्सेनि दुर्घटना र त्यसमा ज्यान गुमाउनेको संख्या बढिरहेको ट्राफिक इण्जिनियर बताउँछन् । सडक पूर्वाधार कमी, चालकमा अनुशासन अभाव, अत्यधिक सवारी चापलगायत कारणले उपत्यकाका सडक जोखिमपूर्ण भएको उहाँहरूको भनाइ छ । 

ट्राफिक इण्जिनियरको भनाइमा सहमत हुनुहुन्छ, महाशाखाका प्रवक्ता तथा एसपी रविकुमार पौडेल । ‘तर, खासगरी सवारी चालकको लापरवाहीले बढी दुर्घटना भइरहेको छ,’ उहाँले भन्नुभयो । उहाँका अनुसार चालकको लापरवाहीका कारण ८६ प्रतिशत दुर्घटना हुने गरेको छ । 

सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६१ मा सवारी चालकले जानाजान दुर्घटना गराएर पैदलयात्रुको मृत्यु भएमा सर्वस्वसहित जन्मकैद हुने व्यवस्था छ । सवारी दुर्घटनाकै कारण कुनै व्यक्तिको मृत्यु भएमा भने दुईदेखि १० वर्षसम्म कैदको व्यवस्था छ । 

दुर्घटना पनि बढ्दै 

पछिल्लो समय दुर्घटना पनि बढिरहेको छ । आर्थिक वर्ष ०७२/७३ मा ५६६८ सवारी दुर्घटना भएका थिए । तर, आर्थिक वर्ष ०७३/०७४ मा भने दुर्घटना संख्यामा केही कमी आएको थियो । उक्त अवधिमा ५५३० दुर्घटना भएका थिए । तर, अर्काे आर्थिक वर्षमा पुनः दुर्घटनाको ग्राफ माथि चढ्यो । आर्थिक वर्ष ०७४/७५ मा ६३८१ दुर्घटना भए । 

पौडेलका अनुसार अत्यधिक सवारी चाप, सडक पूर्वाधार अभाव, चालक अनुशासित नहुनुलगायत कारणले दुर्घटना बढिरहेको छ । ‘यो अवस्था हेर्दा नेपालमा दुर्घटना अझ बढी हुनुपर्ने हो,’ उहाँले भन्नुभयो । 

दुर्घटना न्यूनीकरण गर्न कार्यक्रम सञ्चालन गरे पनि चालक अनुशासित नहुँदा कार्यक्रम प्रभावकारी हुन नसकेको उहाँको भनाइ छ । ‘दुर्घटना घटाउन ट्राफिक प्रहरीले मात्रै पहल गरेर हुँदैन, आवश्यक सडक पूर्वाधार निर्माणसँगै सवारी चालक पनि अनुशासित हुन आवश्यक छ,’ उहाँले भन्नुभयो । 

उपत्यकामा सवारी दुर्घटनामा मारिनेको संख्या 

आर्थिक वर्ष         दुर्घटना     मृत्यु 
०७२/७३            ५६६८        १६६
०७३/७४            ५५३०        १८२
०७४/७५            ६३८१        १९४
०७५/७६                –          २५४

स्रोत : महानगरीय ट्राफिक प्रहरी महाशाखा ।