जसको गीत ६६ वर्षपछि राष्ट्रगान बन्यो

जसको गीत ६६ वर्षपछि राष्ट्रगान बन्यो

अभिषेक रंजन सिंह  |  साहित्य  |  श्रावण २८, २०७६

आमार शोनार बांग्ला, आमी तोमाए भालोबाशी, चिरोदिन तोमार आकाश, तोमार बाताश, आमार प्राने बजाए बाशी...। 

मूल रूपमा बंगाली भाषामा लेखिएको यस गीतको आशय हो, ‘मेरो प्रिय बंगाल, मेरो सुनजस्तै बंगाल, म तिमीलाई माया गर्छु । तिम्रो आकाश, तिम्रो वायु सधैं मेरो प्राणमा बाँसुरीझैं बजिरहन्छ ।’
गुरुदेव रवींद्रनाथ टैगोरले सन् १९०५ मा ‘बंगभंग’को बेला लेखेको यो गीत ६६ वर्षपछि विश्वपटलमा उदाएको एउटा देशको राष्ट्रगान बन्न पुग्नेछ भन्नेबारे कसले नै कल्पना पनि गर्यो होला !
तर, इतिहासको घटनाक्रमले यस्तै घटित भएको प्रमाण हामीसामु छ । हजुर, सन् १९७१ मा अस्तित्वमा आएको नयाँ मुलुक बंगलादेशले रवींद्रकै गीतलाई राष्ट्रगान बनायो । बंगलादेश र कविन्द्र रवींद्रको नाता राष्ट्रगानमै सीमित छैन । उनले लेखेका कैयन कविता बंगलादेशको स्कुली पाठ्यक्रममा पढाइन्छ । 

उनीद्वारा लेखिएको विपुल साहित्यको ठूलो भाग अहिलेको बंगलादेशकै भू-परिवेशमा लेखिएको थियो । साँचो अर्थमा यसो भन्नुमा कुनै अत्युक्ति हुन्न, ‘रवींद्र जति भारतका हुन् उति नै बंगलादशेका पनि हुन् ।’
टैगोर नै सायद विश्वका एकमात्र त्यस्तो महान हस्ती हुन्, जसले लेखेको गीत दुइटा ठूला राष्ट्रको राष्ट्रगान बन्यो । 

वर्तमानको बंगलादेशमा टैगोर परिवारको तीनवटा बिर्ता थिए–कालीग्राम परगानस्थित पोतिसर, इब्राहिमपुर परगनास्थित सिलाईदाहा, जुन अहिले कुश्तिया जिल्लामा पर्छ, यो पहिला अविभाजित नदिया जिलाको भूभाग थियो । र, टैगोर परिवारको तेस्रो बिर्ता थियो- पावना जिलाको शहजादपुर परगना । 

बंगलादेशको राजधानी ढाकाभन्दा झण्डै २ सय ५० किमि टाढा रहेको पोतिसर गाउँ पहिला राजशाही जिलामा रहेको थियो । तर, १९८४ मा पुनर्सीमन हुँदा यो नौगाँव जिलामा पर्न गयो । 

बंगलादेश अवामी लिगका इसराफिल आलम वर्तमानमा नौगाँवबाट संसद्मा प्रतिनिधित्व गर्छन् । आलम भन्छन्, ‘भारतीय स्वतन्त्रता आन्दोलनका सक्रिय क्रान्तिकारी प्रफुल्ल चन्द्र चाकीको गृहस्थान बोगरा पनि पोतिसरकै नजिकमा छ ।’ 

उनी गर्वसाथ बताउँछन्- रवींद्रनाथ टैगोरको ‘सर्किट हाउस’ यहाँ हुनुले पोतिसर गाउँको ऐतिहासिक महत्व झलकिन्छ । समय विकासक्रमसँगै यस गाउँमा थुप्रै परिवर्तन आएका छन् । तर, अहिले पनि यस गाउँको पहिचान कवि गुरु रवींद्रनाथबाटै हुन्छ । यस गाउँसँग टैगोर परिवारको पुरानो सम्बन्धमा प्रकाश पार्दै सांसद् आलमले भने, ‘सन् १८३० मा रवींद्रका पितामह ‘सर’ द्वारकानाथ टैगोरले ब्रिटिश शासनसँग यहाँको बिर्ता किनेका थिए ।’ 

नागौर नदीको किनारमा अवस्थित यो गाउँ राजधानी ढाकालगायत देशका अन्य सहरसँग रेल एवम् सडकमार्गबाट जोडिएको छ । पोतिसर गाउँबाट नजिकको रेलबे स्टेसन १२ किमि पर छ । ब्रिटिशकालमै बनेको यस रेलवे स्टेसन ‘अतरई’को आफ्नै ऐतिहासिक महत्व छ । 

महात्मा गान्धी, प्रफुल्ल चन्द्र राय, नेताजी सुभाष चन्द्र बोस, मोहम्मद अली जिन्ना जस्ता धेरै ठूला भारतीय नेताको आगमनको साक्षी छ, अतरई रेलवे स्टेसन । रवींद्रनाथ टैगोर सन् १८९१ मा पहिलो पटक पोतिसर आएका थिए । उनको स्वभाव विचित्रको एवम् परम उदार थियो । जमींदार परिवारसँग समबन्धित भए पनि उनको स्वभावमा जमींदारको चरित्र र व्यवहारमा हुने कुनै लक्षण थिएनन् र न उनलाई जमींदार पेशाप्रति कुनै चाख वा लगाव नै थियो । 

उनी विशुद्ध प्रकृतिप्रेमी थिए । उनको मनमा मानिसप्रति मात्र होइन, चराचर जगतप्रति नै स्नेह र करूणाको स्थायीभाव विराजमान रहन्थ्यो । उनको साहित्य पढ्ने जो कोही पाठकलाई विदित नै छ, उनले आफ्नो कलममार्फत् तत्कालीन समाजमा व्याप्त कुरीति र विसंगतिमाथि दह्रो प्रहार गरेका थिए । 

टैगोरले पोतिसर प्रवासमै रहँदा आँप, शिरीष र पीपलको छहारीमुनि बसेर अनेकन कविता, लघुकथा र आफ्नो कालजयी उपन्यास ‘गोरा’को रचना गरेका थिए । पोतिसर प्रवासमा रहँदा उनले रचेका साहित्यमा यहाँको चासी–किसानका समस्या रेखाकिंत भएका थिए । सन् १९०९ मा प्रकाशित चर्चित उपन्यास ‘गोरा’ उनले पोतिसरमा रहँदा नै लेखेका थिए । 

यसका साथै उनले आफ्नो प्रसिद्ध काव्यकृति ‘चैताली’मा संग्रहित ५४ कवितामध्ये ‘बिदाय ओभिशाप’, लघुकथा ‘प्रतिहिंसा’ तथा ‘ठाकुर दा’ र निबन्ध ‘इंग्रेज ओ भारतवासी’ पनि पोतिसरमै लेखेका थिए ।
पोतिसरमा रहेको रवींद्रनाथ टैगोर संग्राहलयका प्रभारी मोहम्मद सोहेल इम्तियाज भन्छन्, ‘सन् १९१३ मा गुरुदेवलाई साहित्यको नोबेल पुरस्कारबाट सम्मानित गरियो । यो पोतिसरवासीहरूका लागि पनि अत्यन्त गौरवको कुरा थियो । गाउँलेहरूको अनुरोधमा रवींद्र १९१४ मा पोतिसर आउनुभयो र सबैसँग भेटघाट गर्नुभयो । 

‘नोबेल पुरस्कार’ स्वरूप प्राप्त भएको धनराशिबाट उहाँले विपन्न ग्रामीण र कृषकहरूको उत्थानका लागि कृषि बैंक र सहकारी समितिको स्थापना गर्नुभयो । निर्धन तथा गरीब गाउँलेका छोराछोरीको शिक्षाको लागि उहाँले गाउँमा स्कुल स्थापित गर्नुभयो । यो स्कुल अहिले पनि संचालन भइरहेको छ । 

रवींद्रलाई पोतिसरसँग आत्मीय लगाव थियो । फुर्सद हुनेबित्तिकै उनी पोतिसर प्रवासमा आउने गर्थे । आफ्नो एक पत्रमा वर्णन गर्दै उनले लेखेका थिए, ‘पोतिसर आउनु आत्म साक्षात्कार गर्नुजस्तै हो ।’
सन् १९३७ मा रवींद्र ७६ वर्षको अवस्थामा अन्तिम पटक पोतिसर आएका थिए । तारीख थियो- २७ जुलाई र अवसर थियो– बांग्ला चाड ‘पुण्य उत्सवको ।’ 

यस पोतिसर भ्रमणको चार वर्षपछि ७ अगस्ट सन् १९४१ मा उनको देहान्त भयो । 

राजशाही युनिभर्सिटीका प्रोफेसर मोहम्मद अमीरुल मोमिन चौधरी भन्छन्, ‘भारतको आजादीसँगै टुक्रिएर बनेको नयाँ देश पाकिस्तानले देशको यस भागमा बलजफ्ती उर्दू भाषा लाद्न चाह्यो । पाकिस्तानका हुक्मरानका लागि हाम्रो भाषा र साहित्यको कुनै महत्व भएन ।’ 

फलस्वरूप नयाँ बनेको पाकिस्तानमा विद्रोह उठ्यो । पाकिस्तानका सत्ताधीशहरूको बलजफ्ती टिक्न सकेन र २४ वर्षकै अन्तरालमा ठूलो त्याग र संघर्षले पाकिस्तानबाट बंगलादेश छुट्टियो । नयाँ मुलुक बंगलादेश स्थापना भएपछि त्यो बेला गुरुदेव रवींद्रनाथ टैगोरको सम्मान झनै बढ्यो जब उनले लेखेको गीत ‘आमार शोनार बांग्ला’लाई राष्ट्रगानको दर्जा मिल्यो । स्मरण रहोस्- यसअघि भारतले रवींद्रकै गीत ‘जन गण मन अधिनायक जय हे भारत भाग्य विधाता’लाई राष्ट्रगानका रूपमा स्वीकार गरेको थियो । 

पोतिसर गाउँमा तीन एकड भूमिमा रवींद्र संग्रहालय छ, यसलाई स्थानीय भाषामा कचहरीबाडी र कुटीबाडी पनि भन्ने गरिन्छ । यस भवनमा तेह्र वटा कोठा छन्, यो भवन नै रवींद्रको पुश्तैनी हवेली हो ।
संग्रहालयमा रवींद्रनाथको जीवनसँग जोडिएका अनेकन महत्वपूर्ण वस्तु संग्रहित छन् । त्यो पलङ, त्यो कुर्सी जसमाथि उनी बस्ने गर्थे, अझै राम्रो स्थितिमा संग्रहित रहेका छन् ।
संग्रहालयमा रवींद्रसँग जोडिएका झण्डै ३ सय वस्तु रहेका छन् । ‘रवींद्र सरोवर’को किनारमा उनको एउटा भव्य प्रतिमा पनि रहेको छ । यस प्रतिमाको डिजाइन राजशाही युनिभर्सिटीका ‘फाइन आर्ट’ प्रोफेसर कनक कुमार पाठकले गरेका थिए । 

कचहरीबाडी अर्थात् रवींद्र संग्रहालयकी अधिकारी नाहिदा सुल्तानका अनुसार, ‘यस मुद्रामा कवि गुरुको प्रतिमा यहाँबाहेक अन्यत्र कतै छैन ।’ पोतिसरस्थित यस संग्रहालयलाई हेर्न प्रतिवर्ष हजारौं देशी–विदेशी पर्यटक आउने गर्छन् । खासगरी रवींद्रसँग सम्बन्धित दिन ७ मई र ७ अगस्टमा यहाँ पर्यटकको ओइरो लाग्छ । ७ मई रवींद्रको जन्मदिन हो भने ७ अगस्टमा उहाँको स्मृति दिवस मनाइन्छ । 
बंगलादेशको कला एवम् संस्कृति मन्त्रालयले यी दुवै दिन रवींद्रको स्मृतिमा भव्य कार्यक्रम आयोजना गर्ने गर्छ । 

यस क्षेत्रबाट निर्वाचित सांसद् आलम भन्छन्, ‘रवींद्रनाथकै कारण यो गाउँ सारा संसारमा चिनिएको छ । संसारको कुना काप्चाबाट यहाँ पर्यटक एवम् शोधार्थी आउने गर्छन् ।’ एक कविका रूपमा कवीन्द्र रवींद्रलाई भारतमा जुन सम्मान प्राप्त छ त्यसको छेउछाउसम्म अर्को कोही पनि पुग्न सकेको छैन । 

गएको ७ अगस्टमा भारत र बंगलादेशमा उनको ८२ औं स्मृति दिवस मनाइयो । आफ्नो काव्यकृति ‘गीतान्जली’का लागि एसियाबाटै पहिलो पटक साहित्यको ‘नोबेल पुरस्कार’ पाउने कवींद्र रवींद्रलाई उनकै विपुल काव्य साहित्यबाट श्रद्धाञ्जलीका चार पंक्ति- 

गोधूलीको अरूण रागमा
रक्तिम सन्ध्या चैत्रमासको,
चम्कियो प्रिय तिम्रो आँखामा
प्रतिमा मेरो सर्वनाशको । 

(बिबिसी हिन्दीका लागि अभिषेक रंजन सिंहले लेखेको यस सामग्रीको पुनर्लेखन ज्ञानमित्रले गरेका हुन् । )