आत्मकेन्द्रित सोचः खुसी र सुख कारक वा बाधक ?

आत्मकेन्द्रित सोचः खुसी र सुख कारक वा बाधक ?

निर्जला कक्षपति  |  जीवनशैली  |  श्रावण २८, २०७६

हिजोआज मानिसहरू निकै नै आत्मकेन्द्रित अर्थात् आफूमै बढी केन्द्रित हुन थालेका छन् । आफूले भनेकै कुरा लागू हुनुपर्ने, हरेक कुरामा आफू नै माथि रहनुपर्ने, आफ्नो कुराले उच्च स्थान पाउनुपर्नेलगायतका प्रवृत्ति मानिसहरूमा देखिन थालेको छ । एक हिसावले हेर्दा यो ठीकै जस्तो देखिए पनि सबै कुरामा आफू नै ठीक र आफू नै सही भन्नुले स्वयंलाई हित गर्दैन । 

हामी कसैको घरमा गयौँ भने श्रीमान्ले भन्ने गर्छन्– ‘खै, भन्या’ केही मान्या’ होइन । मैले भन्या’ केही गर्ने होइन, आफूलाई जे गर्न मन लाग्या’ हो, त्यही गर्ने हो ।’

श्रीमतीको पनि गुनासो उस्तै हुन्छ । यसको मतलब मानिस प्रायः आफनै कुरा लागू होस् भन्ने चाहन्छ । घरमा होस् वा कार्यालयमा, आफ्नै कुरा लागू होस्, आफू नै माथि रहूँ भन्ने चाहना हुन्छ मान्छेको । र, आफूअनुकूलकै सबथोक होस् भन्ने चाहन्छ । चाहनाअनुरूपको काम भएन भने कतिपय अवस्थामा द्वन्द्व पनि सिर्जना हुनसक्छ ।

‘सेल्फ सेन्टर्ड’को समानार्थी अंग्रेजीमा ‘इगोसेन्ट्रिक’ अथवा ‘इगोइस्टिक’ भन्ने हुन्छ । आत्मकेन्द्रित व्यक्ति आफ्नो आवश्यकता र स्वार्थमा मात्र केन्द्रित हुन्छ । यसको मतलब स्वार्थी वा ‘सेल्फिस’ भन्नेचाहिँ होइन । यस्ता व्यक्तिलाई अरूको चाहना र आवश्यकताको वास्ता हुँदैन । यस्ता मानिसले आफूलाई के गर्दा राम्रो हुन्छ र के कुरामा आफूलाई आनन्द मिल्छ ? त्यो कुरामा मात्र ध्यान दिएका हुन्छन् । त्यहीअनुसार नै यस्ता व्यक्तिले आफ्नो काम र व्यवहार गर्ने गर्छन् । 

आफू खुसी र सुखी रहन आत्मकेन्द्रित हुनै पर्छ भन्ने होइन । मानिसका खुसी र सुखी हुने तरिका फरक फरक हुनसक्छन् । कोही मानिस झुपडीमै बसेर पनि खुसी र सुखी हुन्छन् । कोही महलमा बसेर पनि दुखी हुन्छन् । कसैको साँझ–बिहान गाँस जुटाउन धौधौ पर्ने अवस्था हुन्छ, यद्यपि, उनीहरू पनि खुसी र सुखी नै हुन्छन् । कोही भने चौरासी व्यञ्जन नै खालान् तर पनि दुखी हुन्छन् ।

त्यसो त ‘माई लाइफ इज माई च्वाइस’ अर्थात् मेरो जीवन, मेरै मर्जी । आफ्नो जीवन कसरी जिउने भन्ने कुरा आफ्नो रुचिअनुसार निर्धारण गर्नुपर्छ भन्ने हो । आफूलाई डुल्न मन लाग्छ डुल्ने, घुम्न मन लाग्छ भने घुम्ने, मीठो खान मन लाग्छ, खाने । पढ्न मन लाग्छ भने पढ्ने आदि । 

जीवन कसरी जिउने भन्ने कुरा नितान्त व्यक्तिको आफ्नै हातमा छ । ‘माई लाइफ, माई राइट’ अर्थात् मेरो जीवन मेरो अधिकारको कुरा गर्दा हाम्रो जस्तो समाज कति जना महिलाले यो अधिकारको उपभोग गर्न  पाएका होलान् ? आफूलाई मनपरेको तरिकाबाट कतिले जीवन जिएका होलान् ? यसको छुट्टै बहस हुनसक्छ । संयुक्त परिवारमा बस्नेहरूका लागि यो कुरा ‘आकाशको फल, आँखा तरी मर’ भनेजस्तै हो । यदि सासू–ससुरा भएको घरमा बुहारीले यस्तो कुरा गर्दै हिँडिन् भने घरमा टिक्नसमेत मुस्किल हुन जान्छ । तर हिजोआज कतिपय महिलाहरू घर परिवारको कुनै पर्वाह नगरी आफ्नो खुसीमा रम्न चाहेका पनि देखिन्छ । 

आत्मकेन्द्रित प्रवृत्तिकै कारण आफ्नो कुरा लागू हुने संभावना कम देख्नेहरू समूहबाट अलग्गिन रुचाउँछन् । आफ्नो स्वार्थ मिलेन अर्थात् आफूलाई के कुरा गर्दा फाइदा हुन्छ, त्यो गर्न नपाउनेवित्तिकै उनीहरूको यात्राको मोडले अर्कै रूप लिन्छ ।

जुनसुकै कुराका पनि राम्रा र नराम्रा दुवै पक्ष हुन्छन् । आत्मकेन्द्रितका केही राम्रा पक्ष छन्, यसका कारण कतिपय व्यक्तिलाई खुसी मिलेको हुनसक्छ । कतिपयले स्वतन्त्रता पाएका छन् त कसैले सफलता पनि प्राप्त गरेका छन् । तर यही आत्मकेन्द्रित स्वभावका कारण कतिपय परिवारमा विचलन पनि आएको छ । आफ्नो खुसी, करियर र सुखलाई नै सबथोक ठान्ने प्रवृत्तिका कारण यस्ता मानिसहरू आफ्ना व्यवसायमा सफल हुनसक्छन् । तर यस्ता प्रवृत्ति भएका व्यक्तिलाई हाम्रो जस्तो समाजमा घर परिवार, कार्यालय र समाजमा मिलेर बस्न गाह्रो हुने गर्छ । 

हाम्रो समाजमा एकअर्कामा आश्रित हुने प्रकारको परिवार भएको हुँदा यसले घरमा समस्या नपार्ला भन्न सकिँदैन । आआफ्नै कुरा ठूलो ठान्ने अनि आआफ्नै आवश्यकता ठूलो भन्ने भावनाले गर्दा श्रीमान–श्रीमतीबीच बेमेल ल्याएको छ । यसको कारण कसले कसको कदर गर्ने ? भन्ने रहनसक्छ ।

केही समय पहिलेको कुरा गर्ने हो भने घर परिवार पुरुषले भनेअनुसार चल्ने गथ्र्यो । अर्थात् भनौँ, पुरुष नै घरको सर्वेसर्वा हुने गर्थे । अहिले आएर यसमा थोरै भए पनि परिवर्तन आउन थालेको छ । महिलाहरू पढेलेखेका छन् । बाँचुञ्जेल खुसी भएर रहनुपर्छ भन्ने कुरा बुझ्न थालेका छन् । वैवाहिक जीवनमा खुसी रहन सकिएन भने महिलाहरू एक्लै बस्न पनि थालेका छन् । आफ्नो मनोकांक्षा पूरा गर्न र उद्देश्य प्राप्तिमा तल्लीन देखिन्छन् आजका केही महिलाहरू । यसले के देखाउँछ भने अबको हाम्रो समाजका महिला आत्मनिर्भरतातर्फ बढिरहेका छन् र सामाजिक मूल्य मान्यताप्रति प्रश्न पनि गर्न थालेका छन् । यो समाज सुधारकै एउटा सबल पक्ष पनि हो भन्न सकिन्छ ।

त्यसो त फेसबुकमा पोष्ट गरिएका तस्वीर हेरेर मात्र व्यक्तिको खुसी र सुखको मापन गर्न सकिँदैन । साग र रोटी खाए पनि आफ्ना कामहरू सत्कर्म हुन् भन्ने लाग्छ र आफूलाई सन्तुष्टि मिल्छ भने त्योभन्दा अरू सुखको क्षण केही हुँदैन । आफूले कसैलाई सानो सहयोग गर्न पाउँदाको क्षण अविष्मरणीय हुन्छ । कतिपयले त देखाउनका लागि खाएको, घुमेको, रमाइलो गरेको फोटो फेसबुकमा अपलोेड गर्छन् । भित्री मन खुसी भएन भने तपाईं जति नै सुन्दर ठाउँमा जानुहोस्, तपाईंलाई त्यो ठाउँ फिक्का लाग्नसक्छ । रमाउँदैन मन त्यो ठाउँमा ।

आफू खुसी र सुखी रहन आत्मकेन्द्रित हुनै पर्छ भन्ने होइन । मानिसका खुसी र सुखी हुने तरिका फरक फरक हुनसक्छन् । कोही मानिस झुपडीमै बसेर पनि खुसी र सुखी हुन्छन् । कोही महलमा बसेर पनि दुखी हुन्छन् । कसैको साँझ–बिहान गाँस जुटाउन धौधौ पर्ने अवस्था हुन्छ, यद्यपि, उनीहरू पनि खुसी र सुखी नै हुन्छन् । कोही भने चौरासी व्यञ्जन नै खालान् तर पनि दुखी हुन्छन् । त्यसैले हाम्रो जस्तो समाजमा परिवारमा रहँदा धेरै कुरामा सम्झौता गर्नुपर्ने हुन्छ । 

श्रीमान–श्रीमतीबीचको सम्बन्ध दरिलो बनाउन त झनै धेरै कुरामा सम्झौता गर्नुपर्ने हुन्छ । त्यसैले त ‘सम्झौता गर्न नसक्नेले विवाह नगरे पनि हुन्छ’ भन्नेहरू पनि छन् । विवाह भन्नु पनि दुईबीचको सम्झौता पहिलो हो भने त्यसभन्दा पर दुवैतर्फका परिवार, सामाजिक मूल्य मान्यता र संस्कारप्रतिको सम्झौता पनि त हो । आफ्नो स्वार्थ मात्र हेरेर अगाडि बढ्यो भने त्यो कति दिनसम्म टिक्न सक्ला ? हामी सहजै अनुमान गर्न सक्छौँ । 

समयको विकास क्रमसँगै मानिसहरू धेरै स्वार्थी हुँदै गएका छन् । कसैलाई सहयोग गरौँ, अरूको खुसीमा आफू पनि रमाउन सकौँ भन्ने खालका भावनाहरू लोप हुन थालेका छन् । आफू मात्र बनाैँ, आफू मात्र खाऊँ, आफू मात्र लाऊँ भन्ने भावनामा निकै नै विकास भएको छ । आफ्नो कुरा मात्र महत्त्वपूर्ण ठान्ने, अर्काका कुरालाई पूरै बेवास्ता गर्ने चलन बढ्दै गएको छ । 

मानिसहरू ६० वर्षको उमेर काटेपछि किन सम्बन्धविच्छेद गर्छन् त ? उत्तर खोज्ने हो भने ‘आफ्नो कुराको कदर भएन, आफ्ना भावनाको कदर भएन’ भन्नेहरू धेरै भेटिन्छन् । अन्ततः जानी नजानी सबैले ‘मेरो जीवन, मेरो अधिकार’को धारणा अवलम्बन गर्न खोजेका हुन्छन् ।