पूर्व राष्ट्रपति सत्ताविद्रोहको आरोपमा पक्राउ

पूर्व राष्ट्रपति सत्ताविद्रोहको आरोपमा पक्राउ

लोकसंवाद संवाददाता  |  विदेश  |  श्रावण २९, २०७६

किर्गिजस्तान, एएफपी । किर्गिजस्तानका पूर्व राष्ट्रपति अल्माजबेक अटामबायेभमाथि सत्ताविद्रोहको योजना बनाएको आरोपमा गिरफ्तार गरिएको त्यहाँको सुरक्षा सेवाले जनाएको छ । पूर्व राष्ट्रपति अटामबायेभलाई गत साता प्रहरीले पक्राउ गरेको थियो ।

अटामबायेभ सन् २०११ देखि २०१७ सम्म किर्गिजस्तानको राष्ट्रपति हुनुहुन्थ्यो । अटामयेभलाई पक्राउ गर्नु अघिल्लो दिन उहाँका समर्थक र प्रहरीबीच भिडन्त भएको थियो । राष्ट्रिय सुरक्षा सेवाका प्रमुख ओरोजबेक ओपुमबायेभले पत्रकार सम्मेलन गर्दै पूर्व राष्ट्रपति अटामयेभले मुलुकमा रक्तपात चाहेको आरोप लगाउनुभयो ।

सुरक्षा प्रमुख ओपुमबायेभले भन्नुभयो – पूर्व राष्ट्रपतिको एकमात्र चाहना सत्ताविद्रोह देखिएको छ । पूर्व राष्ट्रपति अटामबायेभमाथि हत्याको आरोपका विषयमा पनि अनुसन्धान थालिएको सुरक्षा सेवाले जनाएको छ ।

राजधानी विश्केकमा भएको प्रदर्शनमा पूर्व राष्ट्रपतिका समर्थकहरु हतियार सहित प्रदर्शनमा उत्रिएको र त्यसक्रममा एक सुरक्षाकर्मीको मृत्यु हुनुका साथै १३० जनाभन्दा बढी घाइते भएका थिए । सुरक्षा सेवाका वकील जमिर बेइसेकिभले सरकारी अधिकारीहरुको नियोजित हत्या र हिंसा भड्काउन पूर्व राष्ट्रपतिको भूमिकाका बारेमा पनि अनुसन्धान भइरहेको बताउनुभयो ।

दुई दशकभित्रै किर्गिजस्तानमा दुई पटक क्रान्ति भइसकेको छ । पूर्व राष्ट्रपति अटामबायेभ र राष्ट्रपति सूरोनबाई जीनबेकोभबीच तिक्ततापूर्ण सम्बन्ध रहेको छ । अटामबायेभको गिरफ्तारीका बारेमा प्रहरीले दुई पटक सूचना पठाए पनि उहाँले आत्मसमर्पण गर्नुभएको थिएन । उहाँमाथि आफ्नो राष्ट्रपतीय शासनकालमा चेचेन कुख्यात व्यक्ति अजिज बाटुकायेभलाई सन् २०१३ मा मुक्त गरेको विषयमा पनि सरकारले छानबिन थालेको छ ।