प्लास्टिकको पुनर्प्रयोगको अत्यन्त न्यून भएकोमा प्रधानमन्त्रीको आक्रोश

प्लास्टिकको पुनर्प्रयोगको अत्यन्त न्यून भएकोमा प्रधानमन्त्रीको आक्रोश

लोकसंवाद संवाददाता  |  विदेश  |  श्रावण २९, २०७६

अष्ट्रेलिया, सिन्ह्वा ।  अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले देशमा प्लाष्टिकको पुनर्प्रयोगको मात्रा अन्त्यन्त न्युन भएकोमा रोष प्रकट गर्नुभएको छ ।

प्लाष्टिकको पुनर्प्रयोगको मात्रा १२ प्रतिशत मात्रै भएको भन्दै उहाँ रिसाउनु भएको अधिकारीहरुले जनाएका छन् ।

उहाँले प्लाष्टिकको पुनर्प्रयोगका लागि रचनात्मक काम गर्न दुई करोड अष्ट्रेलियाली डलरको कोष बनाइएको घोषणा पनि गर्नुभयो ।

सिड्नीमा उहाँले बुधबार यो कोषसहितको परियोजनाको घोषणा गर्नुभएको हो । प्रधानमन्त्री मोरिसनले अष्ट्रेलियाको फोहोर नष्ट गर्ने उद्योगहरु बन्द गर्ने आदेशको आवश्यकता भएको पनि बताउनु भयो । 'हामीले आफ्ना सन्तान र हामी आफै‌लाई पनि प्लाष्टिकको बोतल छुट्टै एकै ठाउँमा राख्नु पर्छ भन्नु पर्ने भएको छ,' उहाँले भन्नुभयो । प्रधानमन्त्री मोरिसनले थप्नुभयो, 'एक पटक प्रयोग भइसकेका प्लाष्टिकका सामग्रीहरु फेरि प्रयोग गर्न मिल्ने बनाउन हामी सबैले प्रतिज्ञा गर्नुपर्ने छ ।'

अष्ट्रेलियाबाट हरेक बर्ष १५ लाख टन कवाडी सामानहरु अन्य देश पठाइने गरेको छ । त्यसमा प्लाष्टिक, सिसा, कागजलगायतका सामग्रीहरु रहेको उहाँले बताउनुभयो । “फोहोरलाई देशभित्रै व्यवस्थापन गर्नु हाम्रो पहिलो जिम्मेवारी हो,' प्रधानमन्त्री मोरिसनले भन्नुभयो । अष्ट्रेलियाको वातावरणको संरक्षण गर्नु नै यो घोषणाको मुख्य उद्देश्य भएको उहाँले बताउनुभयो ।