व्यक्तिको आर्थिक सहयोग रञ्जना लिपि प्रशिक्षण

व्यक्तिको आर्थिक सहयोग रञ्जना लिपि प्रशिक्षण

लोकसंवाद संवाददाता  |  शिक्षा  |  श्रावण २९, २०७६

भक्तपुर । लोपोन्मुख रञ्जना लिपिको संरक्षण, सम्वर्द्धनका साथै जनचेतना अभिवृद्धिका लागि मध्यपुरथिमिका टोलटोलमा सो लिपिको प्रशिक्षण  सुरु गरिएको छ ।

रञ्जना लिपिलाई जनमानसमा पुर्‍याउने हेतुले रञ्जना लिपि क्यालिग्राफी समूह गठन गरी नगरका विभिन्न टोलमा प्रत्येक महीनाको एक पटक लिपि लेख्ने प्रशिक्षण कक्षा सञ्चालन भइरहेको हो ।

समूहका संयोजक एवं लिपिका प्रशिक्षक विक्की बज्राचार्यका अनुसार लोपोन्मुख रञ्जना लिपिलाई जनमानसमा जानकारी दिने र लिपिका बारेमा व्यापक प्रचारप्रसार गर्ने अभिप्रायले २०७६ जेठ ३२ गते स्थानीय लाय्कु परिसरमा ५० जना, असार २८ गते दिगुटोलमा १५० र यही साउन २५ गते चपाचोमा २३० जनालाई लिपिका बारेमा प्रशिक्षण दिइएको छ ।

बज्राचार्यले आगामी दिनमा समूहले गुङ्गचिवा, बाहाखा बजार, नगदेश र बोडेका विभिन्न टोलमा गई प्रशिक्षण दिने योजना रहेको जानकारी दिनुभयो । लिपि प्रशिक्षणका लागि नेपाल लिपि गुठी काठमाडौँले सहयोग गरेको बताउँदै संयोजक बज्राचार्यले स्थानीय नगरपालिका र वडा कार्यालयले लिपि संरक्षण सहयोग गरे कार्यक्रम थप प्रभावकारी ढङ्गले सञ्चालन गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

बज्राचार्यले एक पटकको प्रशिक्षणमा स्टेशनरी र सहभागीलाई चियापान गरी करीब  सात हजारमात्र खर्च लाग्ने गरेको जानकारी दिँदै विगतमा स्थानीय उमेश श्रेष्ठ र प्रदीप पुइपजामनले आर्थिक सहयोग गरेको बताउनुभयो ।

लिपिसम्बन्धी प्रशिक्षण लिन करीब डेढ महीना लाग्ने भएकाले उहाँले केही घण्टाको प्रशिक्षणमा रञ्जना लिपिबाट आफ्नो नाम कसरी लेख्ने र लिपिसम्बन्धी सामान्य जानकारी हासिल गर्न सकिने जानकारी दिनुभयो ।