चन्द्रयान–२ पृथ्वी छाडी चन्द्रमातिर

चन्द्रयान–२ पृथ्वी छाडी चन्द्रमातिर

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  श्रावण २९, २०७६

इसरोका वैज्ञानिकले चन्द्रयान–२ लाई चन्द्रपथमा सफलता साथ आरोहण गराएका छन् । पृथ्वीबाट प्रक्षेपण गरिएको २४ औं दिनमा यसलाई पृथ्वीको आर्बिटबाट चन्द्र आर्बिटको यात्रामा पठाइएको छ ।

काठमाडौं, इसरो ट्विटर । अन्ततः प्रक्षेपण गरिएको २४ औं दिनमा इसरोका वैज्ञानिकले चन्द्रयान–२ को आर्विट परिवर्तन गरी यसलाई चन्द्रदिशामा पठाएका छन् । 

इसरोले दिएको जानकारी अनुसार १४ अगस्ट बिहान २.२१ मिनेटमा चन्द्रयान–२ को मुख्ययान आर्बिटरको इंजन प्रज्वलित गरी पृथ्वीबाहिर पठाइएको हो । यसअघि ६ अगस्टमा चन्द्रयानलाई पृथ्वीको सबैभन्दा माथिल्लो आर्बिटमा पुर्याइएको थियो । 

वैज्ञानिकले यस आर्बिट परिवर्तनलाई ‘ट्रांस लुनर इन्जेक्सन’ नाम दिएका थिए । पृथ्वीको आर्बिट छाडेर हिँडेको ६ दिनपछि चन्द्रयानले चन्द्रमाको आर्विटमा प्रवेश गर्नेछ । चन्द्रमाको आर्बिटमा स्थापित भएपछि यसले त्यसपछिका १५ दिनसम्म चन्द्रमाको माथिल्लो आर्बिटबाटै चन्द्रपरिक्रमा गरिरहने कार्यक्रम निर्धारित गरिएको छ । 

त्यसपछि ३ सेप्टेम्बरका दिन चन्द्र सतहबाट १०० किमि माथिलो आर्बिटमा परिक्रमारत रहेकै अवस्थामा मुख्य चन्द्रयान आर्बिटरबाट चन्द्रमामा ओलिर्ने यान ‘ल्याण्डर विक्रम’ विच्छेद भएर (अनडक) चन्द्र अवतरणका लागि अघि बढ्ने छ । 

ल्याण्डर विक्रम आर्बिटरबाट विच्छेदित भएर ५ दिनको यात्रापछि ७ सेप्टेम्बरमा चन्द्र धरातलमा सूर्योदय भएको केही समयपश्चात अवतरण गर्नेछ । ल्याण्डर विक्रमले चन्द्र धरातल स्पर्श गर्न साथ भारत चन्द्रमामा ओर्लिने विश्वकै चौथो देश बन्न पुग्नेछ । अहिलेसम्म रुस, अमेरिका र चीनलाई मात्रै यो गौरव प्राप्त छ । 

इसरो टिम ।

लोकसंवाद डट कमले आफ्ना पाठकका लागि २२ जुलाईमा प्रक्षेपण गरिएपश्चात चन्द्रयान-२ सम्बन्धी प्रत्येक जानकारी प्रस्तुत गर्दै आइरहेको छ । चन्द्र अवतरणसम्म हामी यो क्रम जारी राख्ने छौं ।