दलित बस्तीमा घरैपिच्छे धारा

दलित बस्तीमा घरैपिच्छे धारा
सांकेतिक तस्बिर ।

लोकसंवाद संवाददाता  |  समाज  |  श्रावण २९, २०७६

लमजुङ । जिल्लाको बेसीसहर नगरपालिका–३ गाउँसहरमा रहेका दलित बस्तीमा घरैपिच्छे धारा जडान गरिएको छ ।

नगरपालिकाको ‘एक घर एक धारा’ अभियानअन्तर्गत उक्त बस्तीमा घरैपिच्छे धारा जडान गरिएको हो । 

अभियानअन्तर्गत मंसिर पहिलो सातादेखि गाउँमा खानेपानीको संरचना निर्माण गरिएकामा यतिबेला घरैपिच्छे धारा निर्माणको काम अन्तिम चरणमा पुगेको हो । ६५ हजार लिटर क्षमताको पानीको ट्याङ्की निर्माण भइसकेको छ । त्यस्तै, घरघरमा खानेपानी पाइप बिच्छ्याउनका साथै मिटरबक्ससमेत जडान भइसकेको निर्माण उपभोक्ता समितिका अध्यक्ष पञ्चबहादुर हिमालीले बताउनुभयो । मुहानमा इनटेक, रिजर्भ ट्याङ्की निर्माण, पाइप बिच्छ्याउने कार्य, धाराका संरचना निर्माण मिटर जडानदेखि धारामा पानी ल्याउने कामसम्मका सम्पूर्ण कार्य सकिएको उहाँले बताउनुभयो । 

समितिका अनुसार ६५ घरधुरीमध्ये ५७ घरधुरी दलितको छ । त्यस्तै गैरदलितको आठ वटा घरमा समेत जडान गरिएको धारामा पानी झर्न थालेको छ । खानेपानी ट्याङ्कीबाट ५०० मिटरमाथि देवीस्थान (अलैँची बारी)को मुहानबाट खानेपानी ल्याइएको हो । प्रत्येक घरमा जडान गरिएको धारामा केही दिनअघिदेखि पानी आएको बेसीसहर नगरपालिकाका प्रवक्तासमेत रहनुभएका स्थानीय उपभोक्ता अजय मजाकोटीले बताउनुभयो । 

धाराबाट आउने सफा पानी खान पाउने हुँदा स्थानीयवासीको स्वास्थ्यमा असर नपर्ने, समयको बचत हुने गाउँ सफा हुने, अन्य काम गर्न स्थानीयवासीको  समय बचत हुने र पहिलाको जस्तो पानीको धारा खोज्दै हिँड्नुपर्ने बाध्यता हटेको नगरप्रमुख गुमानसिंह अर्यालले बताउनुभयो । नगरपालिकाले उक्त खानेपानीका लागि आव २०७५/७६ को बजेटबाट ६ लाख ३ हजार उपलब्ध गराएकामा स्थानीयवासीको २ लाख ५० हजार बराबरको श्रमदान र स्थानीय उपभोक्ताबाट ६ लाख ५० हजार संकलन गरिएको खबर राससमा छ ।