ब्रह्माण्डको सबैभन्दा महँगो वस्तु के हो ?

ब्रह्माण्डको सबैभन्दा महँगो वस्तु के हो ?

विजय सिंह ठकुराय  |  जीवनदर्शन  |  श्रावण २९, २०७६

‘पशु वधशालाका पर्खाल यदि शीशाले बनेका हुन्थे भने सम्पूर्ण विश्व शाकाहारी हुन्थ्यो ।’
यस भनाईको आशय तपाईंले सोचेभन्दा फरक र गहिरो अर्थ बोकेको छ । तपाईं कुनै वधशाला छेउ गएर आफ्ना आखाँले हेर्नुस्, ‘कसरी ती मूक प्राणीहरूलाई अत्यन्त विकट परिस्थितिमा श्वास फेर्न गाह्रो हुने गरी सानो कोठामा थुनेर राखिन्छ । सायदै कोही मानिसले यो हेरेपछि मासुको एक गास पनि मुखमा राख्न सक्छ होला ! 

भोजन निश्चय पनि मानिसको व्यक्तिगत चुनावको विषय हो । यो भनाइ पनि प्राकृतिक रूपमा उपयुक्त नै हो, ‘प्रकृतिमा शक्तिशालीले निर्बललाई आफ्नो आहारा बनाउँछ ।’ तर, खुला हृदयले मनन गरी हेर्नुस् त ! प्रकृतिमा निर्बल भनाउँदाहरूलाई आफ्नो जीवनको रक्षा गर्ने मौलिक अधिकार प्रकृतिप्रदत्त नै छ । उनीहरूले आफ्नो जीवन रक्षाका लागि अन्तिम क्षणसम्म संघर्ष गर्छन्, हात–खुट्टा फैलाउँछन्, अरु केही नभए पनि अन्तिम प्रयासस्वरूप दुई-चार पाइला भए पनि दगुर्छन् । 

मानिसले बढ्दो जनसंख्याको पेट भर्न निमित्त नयाँ व्यवस्था कायम गर्यो । मूक प्राणीको देहभक्षणबाट आफ्नो क्षुधा शान्त गर्ने हेतुले उसले यिनको ‘फार्मिङ’ सुरु गर्यो । यी मूक प्राणीको जन्मदेखि वधशालामा काटिनु पूर्वको सम्पूर्ण जीवन नर्कजस्तो साघुँरो स्थानमा कोचमकोच अवस्थामा गुज्रियो । केमिकलका इन्जेक्सनमाथि इन्जेक्सन खोपेर यिनीहरूको देहलाई भरिलो–पोषिलो बनाइने नव परम्परा विकसित भयो । भरिलो–पोषिलो देह यस अर्थले बनाइयो, जसले एउटै शरीरबाट बढीभन्दा बढी मासु उपलब्ध भएर मानिस भनिने प्रजातिको आँत र दाँतको भोक मेटियोस् । 

यो भोजनको अधिकार हो ? अथवा कुर निर्ममता एवम् निर्दयताको मानव सृजित घृणित खेल ! 

तपाईंले एउटा प्राणीलाई जन्मलिने स्वतन्त्रता त दिनुभयो, उसको श्वास फेर्ने अधिकारलाई छुट दिए पनि उसलाई जिउने अधिकार भने दिनु भएन । मानव उसको भाग्य नियन्ता बन्यो । जन्मेदेखि मृत्युपर्यन्त उसले मानवको क्रूरता र स्वार्थपरकताको शिकार हुनु पर्यो । अरु त के उसलाई खुला हावामा मनग्गे प्राणवायु  ग्रहण गर्ने अवसर पनि आजन्म उपलब्ध भएन । के कुनै मूक प्राणीलाई जीवनपर्यन्त बन्धक बनाएर, नारकीय यंत्रणा भोग्न विवश तुल्याएर अन्त्यमा उसको गर्दन छिनाएर आफ्नो पेटपूजा गर्नु हाम्रो भोजन अधिकार हुन सक्छ ? 

ईश्वरको अनुकम्पा प्राप्त गर्न अथवा विशिष्ट कृपापात्र बन्न गरिने प्राणी हत्या धार्मिक अन्धता हो ! जुनसुकै धर्म संस्कृति वा परम्परामा यस्ता कृत्यलाई जे नामले महिमा मण्डन गरिए पनि २१ औं शताब्दीको मानवीय संवेदना र चेतनायुक्त मानिस त्यो मात्र हो, जसले यसलाई ‘धार्मिक अपांगताको उत्सव’ भनी निन्दा गर्छ । मानवीय विवेकको आत्महत्यासरिको उपक्रम घोषित गरी यस्ता कृत्य र यसमा संलग्न जुनसुकै समुदायको बहिष्कार गर्छ । 

यो भोजन-अधिकार होइन, क्रूरता एवम् पाशविकताको पराकष्ठा हो । अथवा भनौं आफ्नो शक्ति वा सामथ्र्यको विद्रुप प्रदर्शन हो, नांगो नृत्य हो । कुरा यतिमै मात्र कहाँ टुगिन्छ र ? मूर्ख मानिसले आफ्ना मनगढन्ते देवी–देवता–अल्लाह–खुदा–परम नियन्तालाई खुुसी पार्न ‘हत्या महोत्सव’ आयोजना गर्ने होडबाजी गर्यो ।  बलि, कुर्बानी र धार्मिक परम्पराका नाममा उसले मूक प्राणीको सामूहिक हत्या गर्ने जघन्य अपराधको क्रम प्रारम्भ गर्यो । 

के यसै कारणले मानव आफूलाई सर्वश्रेष्ठ प्रजातिको पशु भन्छ ? आफूभन्दा इतरका सबै प्राणीलाई आफ्नो भोजन र भोग्य पदार्थ मात्रै सम्झिन्छ ? भोजनको अधिकार सामथ्र्यले हासिल हुन्छ । करोडौं मूक–निर्बल प्राणी जन्माएर, आजन्म तिनलाई बन्धक बनाएर, सुविधापूर्वक तिनको गर्दन छिनाल्नु न त भोजन अधिकार हुन सक्छ र न त यसलाई कुनै किसिमको सामथ्र्य मान्न सकिन्छ । 

ईश्वरको अनुकम्पा प्राप्त गर्न अथवा विशिष्ट कृपापात्र बन्न गरिने प्राणी हत्या धार्मिक अन्धता हो ! जुनसुकै धर्म संस्कृति वा परम्परामा यस्ता कृत्यलाई जे नामले महिमा मण्डन गरिए पनि २१ औं शताब्दीको मानवीय संवेदना र चेतनायुक्त मानिस त्यो मात्र हो, जसले यसलाई ‘धार्मिक अपांगताको उत्सव’ भनी निन्दा गर्छ । मानवीय विवेकको आत्महत्यासरिको उपक्रम घोषित गरी यस्ता कृत्य र यसमा संलग्न जुनसुकै समुदायको बहिष्कार गर्छ । 

ब्रह्माण्डमा रहेका १ सय अर्बभन्दा बढी आकाशगंगाहरूमा ‘मिल्की वे’ नामक आकाशगंगाको केन्द्रबाट २७ हजार प्रकाश वर्ष टाढा सूर्य नामक ताराको सौर्यपरिवारमा अवस्थित पृथ्वीनामक ग्रह अहिलेसम्मको ज्ञात एक मात्र त्यस्तो स्थान हो, जहाँको परमाणु जीवनरूपी संगीतको तालमा अविछिन्न नृत्य गर्ने क्षमताले सुसज्जित हुन सकेका छन् । 

२१ औं शताब्दीको मानिसका लागि ‘अनन्त ब्रह्माण्डमा परग्रही जीवन’को खोजी प्राथमिकता सूचीमा शीर्ष स्थान राख्छ । तर, के तपाईंलाई लाग्दैन, यदि हामी मानिस भनाउँदा श्रेष्ठ प्राणीहरू पृथ्वीमा यत्रतत्र छरिएर रहेको जीवनको सम्मान एवम् रक्षा गर्न सक्दैनौं भने अन्य ग्रहमा भेटिएको जीवनप्रति हाम्रो मानसिकता एवम् दृष्टिकोण के होला ? 

यस्तो संशयावस्थामा के हामीलाई नैतिक अधिकार छ, ‘हामी पृथ्वीजस्तै समानान्तर ग्रह वा जीवनको खोजरूपी महाअभियानखातिर अर्बौं डलरको निवेश जारी राखौं ?’ 

निश्चय पनि मानिसलाई भोजनको अधिकारबाट वञ्चित गर्नुहुन्न । तर, हामी आफ्नो जनसंख्या सीमित एवम् नियन्त्रित त गर्न सक्छौं । आफ्नो भोजनका लागि कुनै प्राणीको गर्दन छिनाल्नुभन्दा पहिला त्यसलाई ‘मानवनिर्मित शर्त र सुविधा अनुसारको जीवनमूल्यबमोजिम’ बाँच्न दिउ । आफ्नो मनगढन्ते परमसत्तालाई खुसी बनाउने नाममा ब्रह्माण्डकै सबैभन्दा अमूल्य वस्तु जीवनलाई समाप्त पार्ने सामूहिक मूर्खता नगरौं । 
मूक प्राणीको जीवनको सट्टा पाइने ईश्वरीय वा खुदा बख्श कृपा र अनुकम्पाको विचार त्याग्नु तपाईंलाई महान दुष्कर कार्य लाग्छ भने पनि कृपा गरी यो दुस्साहस आजै, अहिले नै गर्नुस् र साँचो अर्थमा साच्चिकै महान पुरुष बन्नुस् ।