टी-२० क्रिकेटमा नेपालको ऐतिहासिक जित

टी-२० क्रिकेटमा नेपालको ऐतिहासिक जित

लोकसंवाद संवाददाता  |  खेलकुद  |  माघ २०, २०७५

काठमाडौं : नेपालले युएईविरुद्ध ऐतिहासिक जित हात पारेको छ। युएईसँगको टी-२० सिरिजको अन्तिम खेलमा १४ रनको जित हात पारेसँगै नेपालले सिरिज आफ्नो कब्जामा गरेको हो। नेपालको यो पहिलो टी-२० सिरिजमा विजय हासिल गरेको हो।

यसअघि भएका २ खेलमध्ये पहिलो खेल युएईले २१ रनले जितेको थियो। दोस्रो खेल नेपालले ४ विकेटले आफ्नो पक्षमा पार्दै सिरिज १-१ को बराबरी गरेको थियो। त्यस्तै नेपालले तीन खेलको एक दिवसीय सिरिज २-१ ले आफ्नो कब्जामा पारेको थियो।

आइतबार भएको टी-२० सिरिजको अन्तिम खेलमा नेपालले जीत हात पारेको हो। वर्षाका कारण १० ओभरमा छोट्टिएको खेलमा नेपालले १०५ रनको चुनौती दिएको थियो। 

दुवईस्थित आईसीसी एकेडेमी ओभलमा वर्षाका कारण १० ओभरमा छोट्याइएको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गरेको थियो। कप्तान पारस खड्काको २९ र डेब्यू शृङ्खला खेलेका सन्दीप जोराको २८ रनको सहयोगमा नेपालले ८ विकेट गुमाएर १ सय ४ रन बनाएको थियो।

ओपनर पवन सर्राफ खाता नखोली आउट भएपछि नेपालले तेस्रो खेलमा पनि राम्रो सुरुआत गर्न सकेन ।

वर्षाले प्रभावित हुँदा १०  ओभरमा झारिएकाे खेलमा नेपालले दिएकाे १ सय ५ रनकाे विजयी लक्ष्य पछ्याएकाे घरेलु टाेली युएईले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै ९० रन मात्रै जाेड्न सकेपछि नेपालले ऐतिहासिक श्रृङ्खला आफ्नाे पक्षमा पार्न सफल भएकाे हाे। नेपालकाे जितमा करन केसी, अविनाश बाेहरा र ललित राजवंशीले समान २/२ विकेट लिए। उत्कृष्ट सुरुवात गरेपनि युएईका मध्येक्रमका व्याट्सम्यान चल्न नसक्दा घरेलु टाेलीले श्रृङ्खला बचाउन सकेन। युएईका शैमान अनवरले ३०, घुलाम सब्बरले २५ तथा मुहम्मद बुटाले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दाेहाेराे अंक समेत छुन सकेनन्।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १ सय ४ जाेडेकाे थियाे। कप्तान  पारस खड्काले १४ बलमा २९ रन जाेडे। यस्तै सन्दीप जाेराले ११ बलमा २८ तथा विनाेद भण्डारीले २१ रन बनाए। युएईका लागि माेहम्मद नाविद र सुल्तान अहमदले समान २/२ विकेट लिए।

नेपालले यसअघि २ ट्वान्टी–२० शृंखला खेलेपनि कुनै पनि शृंखला भित्र्याउन सकेको थिएन। २०१४ मा श्रीलंकामा भएको हङकङविरुद्धको ४ खेलको ट्वान्टी–२० शृंखला नेपालले १–० ले गुमाएको थियो। सुरुआती तीन खेल वर्षाले रद्द भएको थियो भने अन्तिम खेलमा नेपाल २ विकेटले स्तब्ध भएको थियो। त्यस्तै २०१५ मा नेपालले नेदरल्यान्ड्सविरुद्ध ४ खेलको ट्वान्टी–२० शृंखला खेलेको थियो। जहाँ सुरुआती तीन खेल गुमाएको नेपालले अन्तिम खेलमा सुखद नतिजा ल्याए पनि अन्ततः शृंखला  ३–१ ले गुमाएको थियो।