उडेरै अफिस !

उडेरै अफिस !

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ३०, २०७६

काठमाडौं, एजेन्सी । ट्राफिक जामले धेरैलाई हैरान बनाएको छ । सबै मानिस यो समस्याको समाधान चाहन्छन् । यसको विकल्पका रुपमा विज्ञानले धेरै नयाँ प्रयोग पनि गरिराखेको छ । तर, इंग्ल्याण्डका प्यारामोटर ग्लाइडर टम प्राइडो–ब्रुनोले एउटा यस्तै विकल्पको उपयोग गरेर दैनिक घर–अफिस गर्छन् । 

प्याराग्लाइडरलाई सुधार गरेर निर्माण गरिएको उपकरणमा उडेर उनी घरदेखि  कार्यालय जान्छन् । टमले उडानको लागि इन्जिनसहितको प्याराग्लाइडर प्रयोग गर्ने गरेका छन् ।

उड्नुअघि टम आफ्नो पिठ्यूमा एउटा ठूलो जालिदार घेरा र प्यारामोटर ग्लाइडरसँग जोडिएको एउटा पट्टी बाँध्छन् । त्यसपछि उनी काँधको माथिबाट डोरी तानेर मोटर चलाउँछन् ।

मोटर चल्नासाथ टमको पिठ्यूको ठूलो पङ्खा घुम्न थाल्छ । त्यसपछि टम फराकिलो खुल्ला मैदानमा दौडन शुरु गर्छन्  ।

१०–१२ कदम दौडेपछि उनी आफ्नो दुवै खुट्टा हावामा उठाउँछन् र लगत्तै उनको प्यारामिटर ग्लाइडरले उनलाई उडाउन थाल्छ । 

३० किमी टाढाको कार्यालय उडेरै
टम प्राइडो–ब्रूनको कार्यालय दक्षिण पश्चिम इंग्ल्याण्डको विल्टशायरमा छ । मौसम सफा भएको अवस्थामा टम सँधै यो दुरी उडेरै पार गर्छन् ।  

आफ्नो उडानबारे बताउदै टम भन्छन् ,‘बिहान उठेपछि म सबैभन्दा पहिले झ्यालको पर्दा हटाएर मौसम हेर्ने गर्छु ,’ बीबीसीसँगको कुराकानीमा टमले भने , ‘आजको दिन राम्रो भएकाले म हवाई शयर नै गर्दैछु । यसको सवारी गाडिकोभन्दा उत्तम छ ।’ 

टम अक्सर साइकलमा वा पैदल यात्रा गर्न रुचाउँछन् । तर, उड्दा भने उनी रोमाञ्चकारी र प्रेरणादायी महशुस गर्छन् । मौसम राम्रो भएको दिन उनी शेरबार्न देखि डार्सेटसम्मको ३० किमी दूरी उडेरै तय गर्छन् । 

उडानबारे प्रस्ट्याउँदै उनी भन्छन् , ‘मुख्य कुरा तपाईँले पिठ्यूमा एउटा ठूलो पङ्खा बाध्नुपर्छ । त्यसपछि त्यसलाई प्याराग्लाइडरसँग जोड्नुपर्छ ।’

पंखामा जोडिएको इन्जिनतर्फ इशारा गर्दै उनी भन्छन् , ‘यसका लागि चारदेखि पाँच लिटर इन्धन लाग्ने खालको इन्जिन आवश्यक हुन्छ ।’

५० किमी प्रति घण्टाको गति 
उनी प्रतिघण्टा ५० किलोमिटरको रफ्तारमा उड्छन् । यद्यपि केही प्यारामोटर ग्लाइडर यो भन्दापनि तीब्र गतिमा उड्न सक्छ । 

उनी भन्छन्  ‘३० देखि ३५ माइल प्रति घण्टाको रफ्तार भएमा उडान रमाइलो बित्छ । ग्लाइडर उच्च प्रविधिको छ भने तपाईँले गति दुई गुणासम्म बढाउन सक्नुहुन्छ ।’

उनी ग्रामिण क्षेत्र माथि हुदैं उड्छन् । उनका अनुसार आकासबाट देखिने हराभरा खेतको दृश्य निकै लोभलाग्दो हुनेगर्छ । 

‘उड्दा फरक कोणबाट संसार देखिन्छ । मेरो लागि उडानको सबैभन्दा महत्वपूर्ण पक्ष यही हो । माथिबाट स्कुल र खेत हेरेर दिनको शुरुवात गर्नु शानदार हुन्छ । 

टम कार्यालय नजिक आएपछि उडानको गति घटाउँदै लान्छन् । त्यसपछि विस्तारै तल आउँछन् । उत्रने बेलामा पनि उनलाई १०–१५ मिटर दौडनुपर्छ । 

‘यसमा कार्यालय पुग्दा उर्जा महशुस हुन्छ । उत्साहित बनाउँछ साथै यसले तपाईँको दिननै उत्कृष्ट हुन्छ ।


उड्ने अनुभव

टम प्याराजेट इन्टरनेशनल कम्पनीका सेल्स एण्ड मार्के्टिङ डाइरेक्टर हुन् । उनको कम्पनीले यो उपकरण बनाएर बेच्छ ।

घर र कार्यालय आउजाउको लागि उड्ने उनी एक्लो भने होइनन् । उनको कार्यालयका १२–१४ जना अन्य स्टाफ प्यारामोटर प्रयोग गरेर कार्यालय जाने गर्छन् । 

यसको संख्या बढ्दै गइरहेको छ । टम यसबारे भन्छन् , ‘हामी उड्ने अनुभव विस्तार गर्न चाहन्छौं । हामी मानिसलाई उड्न प्रोत्साहित गर्न चाहन्छौं ताकि धेरै भन्दा धेरै मानिस यसमा सामेल हुन ।’

आधिकारिक रुपमा यो तीन चार वर्ष पहिले सुरु भएको थियो । सुरुमा कम्पनीले प्याराग्लाइडिङ खेल सजिलो बनाउनको लागि यसको डिजाइन गरेको थियो ।

‘हाम्रा सबै स्टाफ यो काम गर्छन् । तर एउटा भनाई छ– तपाईँले आफ्नो मेहनतलाइ त्यहाँ लगाउनु पर्छ जसले अवस्थामा सुधार ल्याउँछ ,’ टमले भने ।

जोखिमवाला रोमान्च
प्यारामोटरिंग खतराविहीन भने हुँदैन । टम भन्छन् , ‘हामी जे गर्छौं त्यसमा जोखिम पनि हुन्छ । तर पनि यसमा हेर्ने मानिसलाई लाग्ने जति खतरा भने छैन । तर जोखिम भने रहन्छ ।’

अघिल्लो वर्ष उनका एक मित्रको प्यारामोटर बिजुलीको तारमा अल्झेको थियो । त्यसपछि जमिनमा झरेर उनको मृत्यु नै भयो ।  

‘हामी तमाम प्रशिक्षण दिएर जोखिम कम गर्छौं । राम्रो गुणस्तरको उपकरण र सही अवस्थामा उडाउँदा खतरा कम हुन्छ ,’ उनले भने ।

धेरैजसो घटना उडान भर्ने समयमा हुन्छ । त्यस्तै प्यारामोटर पानीमाथि उडाउनु पनि खतरा हुन्छ ।  

अफसोशको कुरा, प्यारामोटरिंग लण्डन र अन्य ठूला सहरका मानिसले प्रयोग गर्न पाउदैनन् । ठूला निर्माण क्षेत्रमा यसको प्रयोगको अनुमती दिएका छैनन् अर्थात शहरी क्षेत्रमा विमान कानूनले यस्तो खालको उडानलाई प्रतिबन्धित गर्छ । 

तर, ग्रामीण क्षेत्रमा यसलाई रोक छैन । टमको प्यारामोटरिङका धेरैजसो ग्राहक यस्तै क्षेत्रमा छन् । 

‘‘तपाईलाई विमान कानुनको जानकारी हुनु जरुरी छ । तर, मेरो विचारमा इंगल्याण्डको ७० प्रतिशत आकाशमा यसलाई उडाउन सकिन्छ,’ टमले भने ।

उडान राम्रो मौसमा पनि निर्भर गर्छ । यसैले प्यारामोटर ग्लाइडिंगको उडानको लागि तयार हुनुभन्दा अघि मौसम पूर्वानुमानलाई राम्रो ख्याल गर्नु उपयुक्त हुन्छ । 
 
यो समाचार बिबिसि हिन्दीबाट साभार गरिएको हो । यसका लेखक फिल क्लार्क हिल हुन् ।