नेपाललाई अवसर

नेपाललाई अवसर

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ३०, २०७६

काठमाडौं । सन् १९१९ मा स्थापना भएको संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय खगोल युनियन (आइएयु)ले स्थापनाको शतवार्षिकीको उपलक्ष्यमा नेपाललाई एउटा तारा तथा ग्रहको नाम राख्ने अवसर प्रदान गरेको छ । 

पृथ्वीबाट १ सय ७२ प्रकाश वर्ष टाढा रहेको त्यो ग्रह र त्यसले परिक्रमा गर्ने ताराको नाम राख्ने अवसर नेपालले पाएको हो । 

नेपाल धर्म, संस्कृतिमा अपार धनी त छँदैछ । प्राप्त भएको यस अवसरलाई आफ्ना धर्म, संस्कृतिजन्य नाम जुराएर यी दुबै खगोलीय पिण्डको नामाकरण गर्न सके यसले हाम्रो धर्म, संस्कृतिको व्यापकता हुने थियो । 

स्मरण रहोस १७२ प्रकाश वर्ष टाढाको खगोलीय पिण्डको नाममा नेपालीपन झल्किने हुँदा विश्वभरि नै नेपालको नाम  प्रसारित हुने थियो । जस्तो कि मानौं, ताराको नाम जनक, अरनिको, र ग्रहको नाम भृकुटी अथवा गण्डकी रहन गएमा प्रत्येका नेपालीलाई गर्व अनुभूति नै हुने थियो । 

खगोल विज्ञानमा प्रकाश वर्ष भनेको प्रकाशले एक वर्षमा तय गर्ने दूरी हो। स्मरण रहोस  प्रकाशले एक सेकेण्डमा झण्डै तीन लाख किलोमिटरको यात्रा तय गर्छ।

खगोल विज्ञानले हाम्रो सौर्यमण्डल बाहिर अहिलेसम्म ४ हजारभन्दा बढी ग्रह पत्ता लगईसकेको छ । तर, ती अधिकांश ग्रहको  हालसम्म नामाकरण गरिएको छैन् मात्र वैज्ञानिक नाम मात्र राखिएको छ । नेपालले नाम राख्न पाउने ताराको नाम एचडी १००७७७  र ग्रहको वैज्ञानिक नाम एचडी १००७७७ बी रहेको छ । अब नेपाललाई भने यी दुबै खगोलीय पिण्डको नाम राख्ने अवसर मिलेको छ । 

आइएयुको नेपाल च्याप्टरले नामाकरण समिति गठन गरी भदौ १४ गते भित्र नाम पठाउन सर्वसाधारणलाई आह्वान गरेको छ। सर्वसाधारणले  वेबसाइटमार्फत नाम पठाउन सक्नेछन्।

http://www.nepalastronomicalsociety.org/ExoWorld/ 

नेपालले नाम राख्नुपर्ने तारा एचडी १००७७७ भने सूर्य जत्रै छ । यस ताराको निर्माण झण्डै दुई अर्ब वर्ष पहिला भएको हो । त्यसैले यसलाई सूर्यभन्दा कान्छो मानिन्छ । हाम्रो आकाशगंगामा रहेको सूर्य भने ४ अर्ब ५० करोड वर्ष पहिले बनेको मानिन्छ। 

आइएयुको नेपाल च्यापटरले नोभेम्बर १५ भित्र ग्रह र ताराको नाम सिफारिस गरेर पठाउनु पर्ने छ । तारा र ग्रहको नामाकरणमा अक्षरको मापदण्ड भने तोकिएको छ। रोमनमा लेख्दा स्पेश र विराम चिन्हसहित ४ देखि १६ ‘क्यारेक्टर’सम्मको हुनुपर्नेछ। त्योभन्दा ठूलो मान्य हुने छैन।

आइएयु नेपाल च्याप्टरले आएका नाममध्ये उत्कृष्ट १० देखि २० वटालाई सार्वजनिक गर्दै त्यसमा फेरि सर्वसाधारणको मत लिनेछ। अन्तिम नाम छनौटका लागि आइएयु नेपाल च्याप्टर फेरि सर्वसाधारणमा जानेछ । सर्वसाधारण र जुरीको ५० – ५० प्रतिशत गरी उत्कृष्ट ३ नाम यी दुबै खगोलीय पिण्डको नामाकरणका लागि पठाइनेछ ।