युवती तस्करीको जालो

इम्फालदेखि म्यान्मारहुदै खाडी मुलुकतिर

युवती तस्करीको जालो

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ २१, २०७५

सरकारले खाडी मुलुकमा घरेलु कामदारका लागि नेपाली महिलालाई रोक लगाएपछि विभिन्न माध्यमबाट खाडी मुलुकतर्फ जान लागेका एक सय बढी युवतीलाई भारती प्रहरीले मणिपुरको इम्फालबाट उद्धार गरेपछि तस्करीको नयाँ रुट पत्ता लागेको छ । नेपालबाट लुकीछिपी भारतको मणिपुर लगिएका ती युवतीको उद्धार गरिएको छ भने यस सिलसिलामा चार जना नेपाली पुरुषलाई पनि पक्राउ परेका छन् ।
युवतीहरूलाई म्यानमारको बाटो भएर इराक र दुबई लैजाने योजना रहेको थियो ।  नेपालको माइती नेपाल र इम्पल्स एनजीओ नेटवर्क नामक संस्थाको सहयोगमा मणिपुर पुलिसले म्यानमारको सीमा क्षेत्रमा पर्ने टेङनेपालबाट ४० नेपाली युवतीसहित एक सय १ जनालाई उद्धार गरिएको भारतीय सञ्चारमाध्यम इण्यिन एक्सप्रेसले जनाएको छ ।  

युवतीहरूलाई अवैध रूपमा मणिपुरको बाटो भएर म्यानमार लैजान खोजेको सूचना माइती नेपालले दिल्लीस्थित महिला आयोगलाई दिएको र सोही सूचनाको आधारमा मणिपुर प्रहरीले ३० जनवरी (शुक्रवार) बिहानै सर्च अपरेसन गरी उनीहरूको उद्धार गरेका थियो । भारतीय प्रहरीले यस प्रकरणमा सिन्धुपाल्चोकका ४२ वर्षीय आशाकाजी तामाङ लामा, जीतलाल लामा, सिन्धुलीका राजीव शर्मा, झापाका मदनकुमार खरेललाई  गरेको छ । उनीहरूसँगै अन्य २ जना पनि शङ्कास्पद प्रहरीको भनाई छ ।

प्रहरीको सर्च अपरेसनमा स्थानीय होटेल राज कटेजबाट २० र होटेल नङकोक लाइमा लजबाट ८ तथा १६ नेपाली युवतीहरू भने म्यानमारको सीमा क्षेत्र क्रस गर्न लाग्दा उद्धार गरिएका थिए । उद्धार गरिएका नेपाली युवतीहरू नुवाकोट, सिन्धुली, सिन्धुपाल्चोक, मोरङ र सुनसरीका रहेका छन् । पछिल्लो पटक मानव तस्करहरूले युवतीहरूलाई नेपालको स्थलमार्गबाट मणिपुरको इम्फाल लाने गरेको र त्यहाँबाट म्यानमार हुँदै खाडी मुलुकमा पुर्‍याउने गरेका छन् । यसअघि मानव तस्करहरूले यो रुटको प्रयोग गरेका थिएनन् । सन २०१९ जुलाई २५ यता चौथो पटक भारतीय प्रहरीले नेपाली युवतीहरूको उद्धार गरेको हो । मानव तस्करहरूले खाडी मुलुकमा घरेलु कामदारको लागि नेपाली युवती लैजान गरेका हुन । सरकारले खाडी मुलुकमा महिलालाई घरेलु कामदारका रूपमा लैजान प्रतिबन्ध लगाएको छ । 

यसअघि साउनको पहिलो साता पनि भारतीय प्रहरीले ३९ जना नेपाली युवतीहरूलाई नयाँ दिल्लीको पहारगञ्जंमा रहेको एक होटेलबाट उद्धार गरेको थियो । भारतको दिल्लीस्थित दिल्ली कमिसन फर वुमन (डीसीडब्ल्यु) र त्यहाँको नगर प्रहरीको सक्रियतामा उनीहरूको उद्धार गरिएको  थियो । नेपाली युवतीलाई भारतसम्म मानव तस्करले विराटनगर, धनगढी, लगायतका नाका प्रयोग गर्ने गरेका छन् । तस्करहरूले नेपालदेखि भारत र भारतबाट श्रीलङ्का हुँदै विभिन्न खाडी मुलुक एवं रुससम्म नेपाली युवती लैजाने गरेका छन् । नक्कली कागजका भरमा तस्करहरूले नेपाली युवतीहरूलाई विभिन्न देश पु¥याउने गरेका छन् ।
श्रीलङ्काको कोलम्बोलाई सुरक्षित मार्गका रूपमा प्रयोग गर्दै आएका मानव तस्करहरूले मणिपुर र म्यानमारलाई पनि प्रयोग गर्न थालेका छन् । अहिलेसम्म तस्करहरूले कोलम्बोलाई मात्रै ट्रान्जिट बनाइरहेका थिए भने अब म्यानमारलाई पनि ट्रान्जिट बनाउन थालेका छन् । त्यहाँबाट कुवेत, साउदी तथा इजरायल लगायतका मुलुकमा नेपाली युवतीहरू पठाउने गरेको थाहा हुन आएको छ । मानव तस्करीको नयाँ नयाँ रुट र गिरोहको सञ्जाल तोड्ने प्रयास गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइवी)ले पछिल्लो समय श्रीलङ्काको रुट प्रयोग गर्ने गिरोहको खोजी गरिरहेकै अवस्थामा मणिपुरबाट १ सय ३ नेपाली युवती पक्राउ परेका छन् । भारतको मणिपुरमा उद्धार गरिएका युवतीहरूको बारेमा सिआइवीले संज्ञा नमा लिएको जनाएको छ । ‘भारतीय सञ्चार माध्यममा समाचार आएको त्यस विषयमा हामीले जानकारी लिएका छौ उद्धार गरिएका युवतीहरू आएपछि यो विषयमा थप अनुसन्धान हुनेछ’, सिआइवी प्रमुख नीरजकुमार शाहीले भने । यसअघि अफ्रिकन मुलुकहरू, केन्या, तान्जनिया, युगान्डा, लगायतका देशमा नेपाली युवतीहरूको तस्करी गर्ने गिरोहको सञ्जाल तोडेको सीआइवीले चाइनामा युवती पठाउने तस्करलाई पनि कारबाहीको दायरामा ल्याएको थियो । 

घरेलु कामदार (हाउसमेड) का लागि नेपाली महिलालाई भारतको बाटो हुँदै श्रीलङ्का पुर्‍याएर ओमन, कुवेत र कुर्दिस्तान पठाउने गिरोह पनि सक्रिय रहेका छन् ।  
२०७३ को कात्तिक ७ गते ४ जना र ८ गते ३ जना यसरी पठाइएका महिला श्रीलङ्काबाट डिपोर्ट भएका थिए । नयाँदिल्लीबाट श्रीलङ्का पठाउने गरिएकोमा प्रहरीको निगरानी बढेपछि मानव तस्करहरूले त्यति बेला दिल्लीबाट चेन्नई पुर्‍याएर श्रीलङ्का पठाउने रणनीति बनाएका थिए ।

प्रहरीले दिएको जानकारी अनुसार मानव तस्करीको जालोमा परेका १८ महिला र १ पुरुष श्रीलङ्काबाट फर्काइएका थिए । 

यसै गरी मानव तस्करीका लागि नेपाली महिलालाई किर्गिस्तानसम्म पुर्‍याउन नेपालगन्ज नाका प्रयोग भइरहेको छ । दुई वर्ष अघि किर्गिस्तान जाने भन्दै भारत जान थालेका महिलालाई नेपालगन्ज–रुपैडिहा सीमामा रोकेपछि त्यो नाका पनि सक्रिय रहेको तथ्य  सार्वजनिक भएको थियो । २०१६ जनवरी यता किर्गिस्तान जाने भन्दै भारत जान लागेका १६ महिलालाई प्रहरीको सहयोगमा नेपालगन्ज सीमामा रोकिएको  थियो । अरू मुलुकभन्दा किर्गिस्तानमा बढी कमाइ हुन्छ । घरभित्रै काम पाइने भएकाले त्यहाँ जान थालेको भन्दै उनीहरूलाई दलालहरूले भारतको बाटो भएर किर्गिस्थान भनेपनि खाडी मुलुकमै लैजाने गरेको प्रहरीको दाबी छ । मानव तस्करीको गन्तव्य बारे लगातार कुरा उठ्न थालेपछि भारतको दिल्ली विमानस्थलमा पहिले भन्दा कडाइ गर्न थालिएको छ । अहिले आएर त्यसपछि बैंकक, श्रीलङ्का, बङ्गलादेशको बाटो हुँदै पनि महिलालाई अन्य मुलुलमा लैजाने गरिएको छ ।