गौरा पर्वकाे विवाद !  भदौ ६ मै मनाउनुपर्ने  निर्णय

गौरा पर्वकाे विवाद !  भदौ ६ मै मनाउनुपर्ने  निर्णय

लोकसंवाद संवाददाता  |  पर्यटन  |  श्रावण ३२, २०७६

काठमाडाैँ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको गौरा अर्थात् दुर्वाष्टमी पर्व भाद्र कृष्णअष्टमी अर्थात् श्रीकृष्ण जन्माष्टमीकै दिन मनाउनुपर्ने जनाएको छ ।

भाद्र शुक्लअष्टमी अघि अगस्ति तारा उदय नभएको वर्ष शुक्लअष्टमीका दिन गौरा पर्व मनाइने प्रचलन रहेकाे  छ ।

यसवर्ष भाद्र शुक्ल अष्टमीको अघिल्लो दिन अगस्ति तारा उदय हुने भएकाले भाद्र कृष्णअष्टमीकै दिन पर्व मनाउने निर्णय गरिएको समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा.  डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

समितिले स्वीकृत गरेका पात्रो (पञ्चाङ्ग) मा भाद्र कृष्णअष्टमी अर्थात् भदौ ६ गते नै गौरा पर्व मनाउनुपर्ने उल्लेख गरिएको छ । समितिमा स्वीकृतिका लागि पेश नै नभएको मानसखण्ड पञ्चाङ्गले भाद्र शुक्लअष्टमीकै दिन अर्थात् भदौ २० गते गौरापर्व भनी उल्लेख गर्दा पर्वका विषयमा भ्रम उत्पन्न भएको थियो । 'भदौ १९ गते बिहीबार बिहान १०ः१८ बजे अगस्ति तारा उदाउने भएकाले कृष्ण अष्टमीकै दिन गौरापर्व मनाउनुपर्ने शास्त्रीय बचनअनुसार समितिका विज्ञ सदस्यहरुको बैठकले भदौ ६ गतेको निर्णय गरेको हो', उहाँले भन्नुभयो ।

भदौ २० गतै गौरा पर्व भनी लेखिएको पात्रो बोकेर समितिको कार्यालय आएका पञ्चाङ्गकारले पात्रोसमेत नछोडी गएका थिए । समितिको स्वीकृति बेगर आफुखुशी निस्कने पात्रोले चाडपर्वका विषयमा आम मानिसलाई द्विविधा बनाउने गरेको छ । सामान्य मानिसलाई समितिले स्वीकृत गरे/ नगरेको थाहा नहुने भएकाले पनि समस्या भएको थियो । सरकारले चाडपर्वको निर्णय गरी पात्रोलाई स्वीकृति दिन समितिको गठन गरे पनि यससम्बन्धी कार्यविधि, निर्देशिकालगायत आधार नबनाएकाले काममा समस्या हुने गरेको छ ।

समितिले एक दशकअघि नै मस्यौदा गरी पठाएको निर्देशिका मन्त्रालयबाट स्वीकृत नभएकाले पनि चाडपर्वसम्बन्धी निर्णय गर्न पात्रोलाई नियमन गर्ने ठोस् कानूनी आधार छैन । जसका कारण चाडपर्व जस्ता संवेदनशील विषयमा सरकारका कुनै पनि निकायबाट स्वीकृत नभएका पात्रोले आफूखुशी समयसारिणी उल्लेख गरिदिँदा जनमानसमा भ्रम सिर्जना हुने गरेको छ ।

समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेल मानसखण्ड पात्रोले गणितका आधारमा नभइ पौराणिक वचनका आधारमा भदौ २० गतेका दिन गौरा पर्वको निर्णय गरेकाले शास्त्रसम्मत् नभएको बताउनुभयो । समितिले धर्मसिन्धु, निर्णयसिन्धुलगायत ग्रन्थको वचनका आधारमा निर्णय गरेको जनाएको छ ।

समितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नियुक्त गरेका धर्मशास्त्र, ज्योतिष, इतिहास पुराणलगायत शास्त्रीय विषयका विज्ञको सहभागिता हुन्छ । भदौ २० गते गौरा पर्व लेखिएको पात्रो नेपालको सुदूरपश्चिम क्षेत्रमा बढी पुगेकाले कहिले मनाउने भन्ने भ्रम उत्पन्न भएको थियो ।

सुदूरपश्चिम क्षेत्रका विद्वान्को भेलाले समितिको निर्णयअनुसार भदौ ६ गते गौरापर्व मनाउने निर्णय गरेको बैतडीबाट प्रकाशन हुने अठोला पात्रोका पञ्चाङ्गकार डिल्लीराज जोशीले बताउनुभयो । भाद्र शुक्लअष्टमी अघि नै अगस्ति तारा उदाएका वर्ष कृष्णअष्टमीकै दिन गौरा पर्व मनाउने गरिए पनि यसवर्ष बढी विवाद भएको थियो । गतवर्ष पनि यसवर्ष जस्तै कृष्णअष्टमीकै दिन पर्व मनाइएको थियो ।

अन्य प्रदेशमा महिलाले तीज मनाए जस्तै सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै ठाउँमा पार्वतीको पूजाआजा गरी गौरा पर्व मनाइन्छ । यस दिन दुबोको समेत विशेष पूजाआजा हुन्छ । यसैले यस दिनलाई दुर्वाष्टमी पनि भनिन्छ  भनेर राससकाे लागि पूर्णप्रसाद मिश्रले लेख्नु भएकाे छ।