आत्मा मन अनि बुद्धिभन्दा पनि श्रेष्ठ
श्रावण ३२, २०७६

   तस्मात् त्वमिन्द्रियाण्यादौ नियम्य भरतर्षभ ।
    पाप्मानं प्रजहि ह्येनं ज्ञान विज्ञाननाशनम् ।। ४१ 

भावार्थ – हे भरतवंशमा श्रेष्ठ अर्जुन ! त्यसकारण तिमीले पहिले सम्पूर्ण इन्द्रियहरूलाई नियन्त्रणमा लिएर ज्ञान र विज्ञानलाई नाश गर्ने पापमय यस कामलाई नै पूर्णरूपले विनष्ट गर ।

विशिष्टार्थ – बत्तीको ज्योतिले कपासको बत्तीको सहायता विना तेललाई जलाउन सक्दैन, त्यस्तै कामले पनि इन्द्रियहरूको सहायता नलिइकन विषय भोग गर्न सक्दैन । फेरि बत्ती स्थिर भएर कपासको बत्तीभित्रबाट तेल सोस्न पाएन भने बत्ती निभ्छ, त्यस्तै सम्पूर्ण इन्द्रियहरूलाई (वाह्य विषय तिर जान नदिएर भित्रका अविषयमा वाह्य विषय) जाग्रत अवस्थामा जुन दर्शन श्रवण हुन्छ ती सबै बाहिरका हुन्, स्थूल शरीरमा नै तिनीहरूको भोग हुन्छ, ती सबैलाई वहिर्विषय भन्दछन् । किन्तु योगावलम्बनमा सम्पूर्ण इन्द्रियहरूलाई निरोध गरेर जे देखिन्छ, सुनिन्छ त्यो बाहिरको नभएर भित्रको हो, अत्यन्त सूक्ष्म हुनाले त्यो सबै सूक्ष्म शरीरमा नै योग हुन्छ ती सबैलाई अन्तर्विषय भन्दछन् । यो अन्तर्विषय नै अविषय हो । अन्तर्विषय गुण वा शक्ति स्वरूप छ, वहिर्विषय उसका कार्य हो ।) अड्काइराख्नाले तिनीहरुबाट अरू  विषय भोग हुन सक्दैन, यसरी काम आफैं नष्ट हुन्छ अर्थात् कामको त्याग हुन्छ । त्यसैले यस श्लोकको उपदेश हो पहिले सम्पूर्ण इन्द्रियहरुलाई वशमा राख्नु  (अविषय – जाग्रत अवस्थामा जुन दर्शन, श्रवण हुन्छ ती सबै बाह्य हुन्, स्थूल शरीरमा नै उनीहरूको भोग हुन्छ, ती सबैलाई बहिर्विषया भनिन्छ । किन्तु योगावलम्बनमा सम्पूर्ण इन्द्रियहरूलाई निरोध गरेर जे देखिने, सुनिने गर्छ त्यो बाहिरको नभएर भित्रको हो, त्यो सबै सूक्ष्म शरीरमा भोग हुन्छ । ती सबैलाई अन्तर्विषय भन्दछन् । यो अन्तविर्षय नै अविषय हो । अन्तर्विषय गुण वा शक्ति स्वरूप हो, बहिर्विषय त्यसका कार्य हुन् । यसो गर्नाले नै पहिले कामलाई त्याग अथवा नाश गर्न सकिन्छ । कामलाई नाश अथवा त्याग नगर्दा ज्ञान विज्ञानको स्फूर्ति नाश हुन्छ  र विषय चांचल्यरूप पापको बृद्धि हुन्छ ।

योगावलम्बनमा सम्पूर्ण इन्द्रियहरूलाई निरोध गरेर जे देखिने, सुनिने गर्छ त्यो बाहिरको नभएर भित्रको हो, त्यो सबै सूक्ष्म शरीरमा भोग हुन्छ । ती सबैलाई अन्तर्विषय भन्दछन् ।

ज्ञान – ज = उत्पत्ति, ञ = विषय, आ = आसक्ति, न = नास्ति । उत्पत्ति–स्थिति– नाशशील पार्थिव विषमा आशसक्ति नरहनु नै ज्ञानको अक्षरगत अर्थ हो । विज्ञान = विशेष ज्ञान । समष्टि चैतन्यको स्वरूप बोध ज्ञान हो व्यष्टि र्चतन्यको स्वरूप बोध विज्ञिान हो । अर्थात् आत्मामा लीन भएपछि जुन आत्म ज्ञान हुन्छ त्यही ज्ञान हो र पृथ्वी आदिदेखि लिएर तत्व समूहको जुन ज्ञान हो त्यसैलाई विज्ञान भन्दछन् । यसलाई अझ स्पष्ट गर्दा आत्मा नै सबै हो भन्ने यस दृढधारणामा जुन चैतन्य लाभ हुन्छ त्यसैलाई ज्ञान भन्दछन्, ज्ञानको सहायताले पुंखानुपुंख रूप आलोचनाद्वारा तत्व समूहको पृथक् रूपमा विशेष प्रकारको जुन पूर्ण स्वरूप बोध हुन्छ त्यही विज्ञान हो । सीधै भन्नु पर्दा –सोऽहं यो ज्ञान नैज्ञान हो, यस ज्ञानलाई छोडेर अरू जति छ त्यो सबै विज्ञान हो । ज्ञान र विज्ञान परस्पर सापेक्ष छन् । ज्ञानको परिपाक भोग पछि निम्न दृष्टि भएमा विज्ञान लाभ हुन्छ र विज्ञानको परिपाक पछि ऊध्र्वमा स्थिर दृष्टि अड्किइरहँदा ज्ञान लाभ हुन्छ ।

 इन्द्रियाणि पराण्याहुरिन्द्रियेभ्यः परं मनः ।
 मनसस्तु पराबुद्धिर्यो बुद्धेः परत स्तु सः  ।। ४२ ।।

भावार्थ – स्थूल शरीर भन्दा इन्द्रियहरू श्रेष्ठ भनिन्छन् । मन इन्द्रियहरूभन्दा श्रेष्ठ छ । मनभन्दा श्रेष्ठ बुद्धि हो । किन्तु बुद्धिभन्दा जुन श्रेष्ठ छ त्यही देही (आत्मा) हो । 

विशिष्टार्थ – इन्द्रियहरू दस छन् – पाँच ज्ञान साधन र पाँच कर्म साधन । यी दस इन्द्रियहरूद्वारा नै बहिर्विषयको भोग हुन्छ । स्थूल पदार्थ मात्र बहिर्विषय हुन् पाँच सूक्ष्म भूतहरूको पञ्चीकरणद्वारा  उत्पन्न हुन्छन् । यी स्थूल बहिर्भोग्य पदार्थ समूहको  शब्द, स्पर्श, रूप, रस, गन्ध रूपले भोग हुन्छ ।  भोग गर्ने करण हुन् इन्द्रियहरू । अतः यी स्थूल देहादि बहिर्भोग्य पदार्थ भन्दा इन्द्रियहरू श्रेष्ठ छन् । (किन्तु सम्पूर्ण इन्द्रियहरू शब्द स्पर्शादिका गुण वाचक पदार्थ वा शक्तिद्वारा आवद्ध एवं चालित छन् । यही गुण वाचक पदार्थ नै अन्तर्विष (इन्द्रिय विषय) वा तन्मात्रा– जुन योगावलम्बनद्वारा सम्पूर्ण इन्द्रियहरूलाई नियन्त्रण गरेर सूक्ष्मतम रूपमा शरीरभित्र भोग गरिन्छ – जुन कारण स्वरूप, इन्द्रिय सकल जसका करण तथा बहिर्विषया जसका कार्य हुन् । अतएव यो अन्तर्विषय इन्द्रियको  अपेक्षा  श्रेष्ठ छ । उपनिषद्मा यस अन्तर्विषयलाई अर्थ नामले उल्लेख गरिएको छ । इन्द्रियेभ्यः परा ह्यर्था अर्थेभ्यश्च परं मनः । परन्तु गीतामा यसको उल्लेख गरिएको छैन । यसको कारणमा – कार्यको कारण र करण विचारगत भिन्नता भए ता पनि क्रियामा एउटै देखाउँछन् । यस अन्तर्विषय भन्दा मन श्रेष्ठ छ, कारण, मन पञ्चमहाभूतहरूको समष्टि सात्विकांशबाट उत्पन्न भएको हो । दश इन्द्रियहरू पञ्च महाभूतहरूको पृथक् सात्विकांश र पृथक् राजसांशद्वारा उत्पन्न, मनको संकल्प निकल्पद्वारा नै चालित हुन्छन् । मन भन्दा बुद्धि श्रेष्ठ छ, किन कि मन अन्धो हुन्छ, बुद्धि प्रज्ञावती हो, मनको क्रिया विचार विहीन त्याग– ग्रहण हो । विचारद्वारा सत् असत् निश्चय गर्ने क्रिया बुद्धिको हो । यस बुद्धि भन्दा पनि माथि जुन छ त्यही आत्मा हो । यो आत्मा सबैको साक्षी स्वरूप भएर सबैको अन्तःकरणमा अवस्थित छ, यो नै देही (आत्मा) हो । यसलाई कामले विमोहित गर्दछ, किन्तु स्पर्श गर्न सक्दैन । यही देही जीव वा आत्मतत्व र अव्यक्त भन्दा पुरुष श्रेष्ठ छ, पुरुष भन्दा माथि केही छैन, यो पुरुष नै परागति हो ।

मन भन्दा बुद्धि श्रेष्ठ छ, किन कि मन अन्धो हुन्छ, बुद्धि प्रज्ञावती हो, मनको क्रिया विचार विहीन त्याग– ग्रहण हो । विचारद्वारा सत् असत् निश्चय गर्ने क्रिया बुद्धिको हो । यस बुद्धि भन्दा पनि माथि जुन छ त्यही आत्मा हो ।

 एवं बुद्धेः परं बुद्धध्वा संस्तभ्यात्मानमात्मना ।
 जहि शत्रुं महाबाहो कामरूपं दुरासदम् ।। ४३ ।।

भावार्थ – हे महाबहु ! आत्मालाई यसरी वुद्धिभन्दा श्रेष्ठ जानेर आत्माद्वारा मन, बुद्धि इन्द्रिय सकललाई निश्चल गरेर दुर्धर्ष (आजेय) कामरूप शत्रुलाई बिनाश गर ।

विशिष्टार्थ – बुद्धिलाई कामको आश्रय मानिन्छ र विषय र इन्द्रियहरूको संसर्गमा रहँदा उसमा विकार उत्पन्न हुन्छ । किन्तु आत्मा निर्विकार छ, ऊ यी सबैको साक्षी स्वरूप हो, अतएव आत्मा बुद्धिभन्दा श्रेष्ठ छ । हे अर्जुन ? यही आत्मा तिमी हौ अर्थात् तिम्रो प्रकृत स्वरूप हो । तिमीले आफूलाई यसरी बुद्धि तत्व भन्दा पनि श्रेष्ठ जानेर निश्चयात्मिका बुद्धिद्वारा अर्थात् म सबैभन्दा श्रेष्ठ निर्विकार हुँ, कामले मलाई स्पर्श गर्न सक्दैन, त्यसमा पनि जुन ”म” विमोहित हुन्छु त्यो मेरो भ्रम मात्र हो भन्ने दृढ विश्वास लिएर मनलाई स्थिर निश्चल गर । यति भएपछि मन ”म मय” हुनेछ । मन कामको संचारक भएर पनि काम र उसमा अरू संचरण गर्न सक्ने छैन, त्यसकारण ऊ वशमा आउने छ अनि उसलाई विनाश पनि गर्न सकिने छ । काम माथि विजय पाउने तथा उसलाई नष्ट गर्ने यही एक मात्र उपाय हो । त्यसैले कामलाई ”दुरासद” अर्थात् अतिकष्ट गरेर आयत्त गर्न सकिने भनिएको हो ।

इति श्रीमभ्दगवम्द्वीतासूपनिषत्सु ब्रम्हविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुन संवादे कर्मयोगो नाम तृतीयोऽध्यायः ।

चतुर्थोऽध्यायः

इमं विवस्वते योगं प्रोक्तवानहमव्ययम् ।
विवस्वान् मनवे प्राह मनुरिक्ष्याकवेऽब्रवीत् ।। १ 

क्रमशः

याे पनि

प्राणायाम नै यज्ञ हो

आत्माराम हुनु नै परमपुरुषार्थ हो

आत्मामा मन रहनु जागरण हो

'सत्' ज्ञान स्वरूप 'चित्' र सुखस्वरूप 'आनन्द' हो

ज्ञान र कामना परस्पर विरोधी हुन्