‘सामाजिक सञ्जालको आगमनले लेखक बनायो’

‘सामाजिक सञ्जालको आगमनले लेखक बनायो’

घनेन्द्र ओझा  |  अन्तर्मन्थन  |  श्रावण ३२, २०७६

जीवा लामिछाने (५३), विश्वभर छरिएर रहेका नेपालीहरूलाई एकत्रित गर्ने, नेपाली भाषा, साहित्य, कला र संस्कृतिको विश्वव्यापीकरण गर्ने अभियानमा सक्रिय हुनुहन्छ । गैरआवासीय नेपालीहरूको छाता संस्था गैरआवासीय नेपाली संघका पूर्वअध्यक्षसमेत रहिसक्नुभएका लामिछाने हाल नेपालको आर्थिक विकासका निम्ति बैंकिङ, विद्युतलगायतका विविध क्षेत्रमा विकासका निम्ति क्रियाशील हुनुहुन्छ ।

व्यावसायिक सन्दर्भमा विश्वका धेरै देशहरूको भ्रमण गरिसक्नुभएका लामिछानेले पछिल्लो समय साहित्य लेखनलाई पनि प्राथमिकता दिइरहनुभएको छ । खासगरी नियात्रा लेखनमा विशेष रुचि राख्नुहुने लामिछानेको ‘सरसर्ती संसार’ नियात्रा कृति प्रकाशित छ भने चाँडै नै अर्को नियात्रा कृति प्रकाशनको तयारीमा रहनुभएको छ ।

यस पटक लोकसंवाद डट कमले प्रसिद्ध व्यवसायी, गैरआवासीय नेपालीको हकहितका लागि सक्रिय लेखक तथा साहित्यकार जीवा लामिछानेको जीवनका उतारचढाव खोतलेको छ ।

जन्म, बाल्यकाल र शिक्षा

जीवा लामिछाने सन् १९६७ मा चितवनको पदमपुरमा जन्मिनुभएको हो । स्थानीय विद्यालयबाट एसएलसी पूरा गरी १९ वर्षको उमेरमा सिभिल ओभरसियर पास गर्नुभएका लामिछाने सन् १९८६ मा सोभियत संघ जानुभयो– इन्जिनियर पढ्न ।

त्यसबेला एक सयवटा कोटा छात्रवृत्तिअन्तर्गत आउने गथ्र्यो । त्यसमा छानिएर लामिछाने सोभियत संघतर्फ जानुभयो । त्यो समय नेपाली राजनीतिमा पञ्चायतको दबदबा भएको र प्राजातन्त्र प्राप्तिको आन्दोलन चर्किरहेको समय थियो । सन् १९८६ देखि १९९२ सम्म लामिछानेले स्नातकोत्तर पढिसक्नुभयो । त्यसपछि विद्यावारिधि (पीएचडी)का लागि ‘इनरोल’ गर्नुभयो । तर सन् १९९१ मै विशाल सोभियत संघ विघटन भयो । सन् १९१७ को अक्टुबर क्रान्तिपछि साम्यवादी प्रणालीबाट अघि बढिरहेको तत्कालीन सोभियत संघ विघटनपछि खुला बजार अर्थतन्त्रमा प्रवेश ग¥यो । यसपछि सुरु भयो लामिछानेको व्यावसायिक जीवन ।

इलेक्ट्रोनिक सामानबाट बैंक, होटल र हाइड्रोतिर

लमिछानेको व्यावसायिक यात्रा विद्युतीय सामग्रीहरूको बिक्रीबाट सुरु भएको बताउनुहुन्छ । त्यसबेला (सन् १९९२ तिर) ऊबेलाका चल्तीका ब्राण्ड सोनी, पानासोनिक, क्यानन कम्पनीका टीभी, कम्प्युटर र क्यामेराहरू सिंगापुर, युएई, जर्मनीलगायतका देशबाट सोभियत संघ लगेर बेच्ने गरेको सम्झना छ लामिछानेलाई । ‘मैले पढाइ पनि लगभग पूरा गरिसक्नु र सोभियत संघ खुला बजार अर्थतन्त्रमा प्रवेश गर्नुले पनि मेरो व्यावसायिक यात्रामा सहजता भयो’, लामिछाने भन्नुहुन्छ, ‘त्यसपछिको यात्रा आजसम्म निरन्तर छ ।’

अहिलेको बजारमा विविधता आइसकेको उहाँको भनाइ छ । ‘त्यसबेला सीमित कम्पनीहरूको एकाधिकार जस्तै थियो’, लामिछाने भन्नुहुन्छ, ‘अहिले विश्व बजार नै धेरै प्रतिस्पर्धी भइसकेको छ । उत्पादनमा विविधता छ ।’ यस्तो प्रतिस्पर्धा र विविधताले विश्व बजारलाई अझ सशक्त बनाउने र उपभोक्तालाई पनि फाइदा पुग्ने लामिछानेको मत छ ।

अन्तर्राष्ट्रिय बजारमा पनि राम्रै लगानी गरिरहनुभएका लामिछाने पछिल्लो समय स्वदेशमै बढी केन्द्रित रहनुभएको छ । देशभित्रकै बैंक, मिडिया, हाइड्रो पावर, होटलहरूमा लगानी बढाउने सोचमा उहाँ हुनुहुन्छ । भन्नुहुन्छ, ‘मुलुकलाई अहिले लगानीको खाँचो छ र यस्तो लगानी हामीबाटै हुनु देशका निम्ति हितकार हुन्छ ।’

त्यही भएर विदेशमा रहनुभएका नेपालीहरूलाई स्वदेशमा लगानीका लागि उहाँले प्रोत्साहन पनि गर्दै आउनुभएको छ । आफ्नो जन्मभूमिप्रतिको ऋण तिर्नु हरेक नागरिकको कर्तव्य हुने लामिछानेको बुझाइ छ । ‘जीवन निर्वाहका क्रममा जो जहाँ जता बसे पनि आखिर यो देशप्रतिको हाम्रो कर्तव्यबाट हामी भाग्न सक्दैनौँ’, लामिछानेको प्रस्टोक्ति छ ।

यात्रा खुबै रुचिको क्षेत्र

लामिछानेको सबैभन्दा बढी रुचिको क्षेत्र यात्रा हो । विभिन्न ठाउँहरू घुम्नु, नयाँनयाँ दृश्यहरू हेर्नु, नयाँ र रोचक सभ्यता र संस्कृतिहरूबारे बुझ्नु लामिछानेको बच्चैदेखिको रुचि हो । ‘घुम्नु पढ्नुभन्दा धेरै ज्ञान लिनु हो’, लामिछाने भन्नुहुन्छ, ‘पढेको भन्दा देखेको बढी प्रभावकारी हुन्छ, यसर्थ मलाई पढेर कुनै ठाउँको जानकारी लिनुमा भन्दा स्वयं त्यहाँ पुगेर हेरेरै थाहा पाउनु उचित लाग्छ ।’

कलेज पढ्दाताका पनि समरमा हुने दुई महिने बिदा उहाँ युरोपका विभिन्न स्थानमा एक्लै घुमेरै बिताउने गरेको बताउनुहुन्छ । 

उहाँको घुमाइ कोरा घुमाइ मात्र हुँदैन । जहाँ पुगे पनि त्यहाँको भौगोलिक, ऐतिहासिक, सांस्कृतिक, सामाजिक, राजनीतिक पक्षबारे सोधीखोजी गर्नु उहाँको स्वभाव हो । उहाँ साथीभाइ, आफन्त, परिवारका सदस्यहरूसँग धेरै पटक घुम्नुभएको छ । यस्तो सामूहिक घुमाइ पनि रोचक नै हुने तर एक्लै घुम्दा भने निकै गहन खोज र अध्ययन गर्न पाइने उहाँको अनुभव छ ।

‘कति ठाउँमा कुटाइ खाइयो, कति ठाउँ लुटिइयो’

लामिछानेको घुमन्ते जीवन सुरु भएको ३२ वर्ष भएछ । यसबीचमा उहाँले कतिपय ठाउँमा कुटाइ खानुभएको छ भने कति ठाउँबाट आफ्ना सामान, पैसा चोरी भएर संकट भएका अवस्था पनि छन् ।

एक पटक पूर्वसोभियत संघमा साँझतिर तीन जना साथीहरू घुम्न निस्किएका बेला कसैले भकाभक भकुरेछन् । भकुराइ खाइसकेपछि कसोकसो बचेर भाग्न सफल भएछन् । पछि बुझ्दा त्यो स्थानमा एउटी काजकस्तानी युवतीको विषयमा दुई ग्याङबीच भिडन्त भएको रहेछ । ‘भकुराइ मात्र खाइएनछ, पछि खल्तीमा हेर्दा पर्ससमेत थिएन, बेखर्ची बनिएछ’, लामिछाने स्मरण गर्नुहुन्छ । ‘त्यसो त धेरै ठाउँमा सहयोग र सद्भाव नै पाएको छु’, लामिछाने भन्नुुहुन्छ ।

‘सामाजिक सञ्जालले लेखक बनायो’

लमिछानेको पहिल्यैदेखिको बानी हो, डायरी लेख्ने । साहित्यप्रतिको झुकाव पनि पुरानै हो उहाँको । अझ कतै कुनै नौलो ठाउँमा जाँदा, नौला मान्छे भेट्दा, नौलो सन्दर्भ र चिज फेलापर्दा त डायरी लेख्ने बानी साँच्चै फलदायी बन्छ । लामिछानेको पनि यस्तै अनुभव छ ।

सोभियत साहित्य आफैँमा समृद्ध मानिन्छ । साहित्यप्रतिको आफ्नो झुकाव र रुचि लेखनमा प्रकट हुन नपाए पनि लामिछाने त्यसबेलाको रसियन साहित्यको अध्ययनमा निकै चाख राख्नुहुन्थ्यो । उहाँलाई लाग्छ, ‘रसियन साहित्यमा सबैथोक छ ।’ नभन्दै जीवन, समाज, राजनीति, मान्छेका पीडा, युद्ध आदि धेरै विषय रसियन साहित्यमा एकमुष्ठ पढ्न पाइन्छ आज पनि ।

त्यो समय अर्थात् लामिछाने रसियामा पढ्न गएको समय सोभियत संघमा साम्यवाद कायम थियो । त्यसबखत राज्य आफैँले लगानी गरेर रसियन साहित्यको विश्वका विभिन्न भाषामा अनुवाद गरेर विश्वभर प्रचार पनि गथ्र्यो । ‘त्यो एक प्रकारको प्रोपोगण्डा नै थियो’, लामिछाने भन्नुहुन्छ, ‘रसियन साहित्य धनी र प्रभावशाली छ भन्ने देखाउन यस्तो गरिन्थ्यो ।’

लमिछाने पछिल्लो सूचना प्रविधिमा भएको विकास, त्यसमा पनि सामाजिक सञ्जालको आगमनपछिको अवस्थाले आफूलाई लेखक बनाएको बताउनुहुन्छ । लमिछानेले घुमेका अनौठा, रमाइला ठाउँ र त्यहाँका सामाजिक, सांस्कृतिक विषयहरूबारे सामाजिक सञ्जालमा लेख्न थाल्नुभयो । आफूले सञ्जालमा लेखेका विषयहरू पढेपछि साथीभाइ र आफन्तले ‘तपाईंले लेख्नुपर्छ’ भन्ने सुझाव दिन थालेपछि अझ लेखूँलेखूँ लागेको लामिछानेको भनाइ छ ।

यही क्रममा लामिछानेले लेख्नुभएका २९ वटा नियात्रा लेख्नुभएछ । तिनै नियात्रालाई पुस्तकको रूप दिने साथीभाइको सल्लाह, सुझावअनुसार उहाँको पहिलो नियात्रा कृति केही वर्षअघि आएको छ– ‘सरसर्ती संसार ।’

उहाँले ‘सरसर्ती संसार’मा आफूले घुमेका, देखेका र घुमाइका क्रममा अनुभूत गरेका विषय र सन्दर्भलाई प्रस्तुत गरेको बताउनुहुन्छ । 

लामिछानेले कथा र निबन्ध पनि लेख्नुभएको छ तर उहाँलाई नियात्रामा जस्तो अन्यमा खुल्न नसकेको महसुस हुनेरहेछ । ‘कला पक्षमा धेरै मिहिनेत गरिहरन नपर्ने र सलल सोझै बगिरहन पाइने हुँदा सायद नियात्रा मनपरेको हो’, लामिछानेको भनाइ छ, ‘त्यसो त नियात्रामा आफ्ना नितान्त व्यक्तिगत अनुभूति पनि राख्न सकिन्छ ।’

‘अनुवादको अभावका कारण नेपाली साहित्य विश्वव्यापी हुनसकेन’

लमिछाने नेपाली साहित्यमा पनि विश्वस्तरका रचना आइसकेका बताउनुहुन्छ । तर, विश्वस्तरमा उक्त साहित्यलाई पुर्‍याउन न त राज्यस्तरबाट, न निजी क्षेत्रबाट नै चासो र लगानी हुनसकेको छ । यो नेपाली साहित्यका निम्ति दुर्भाग्य भएको लामिछानेको भनाइ छ ।

‘नयाँमा पनि निकै धैरै स्तरीय सर्जक र सिर्जना आइसकेका छन्’, लामिछाने भन्नुहुन्छ, ‘वीपी कोइराला, देवकोटा आदिका रचना स्तरीय अनुवाद गरेर विश्वस्तरमा पठाउन सकिन्छ ।’ तर, यसका लागि स्तरीय अनुवादक र प्रभावकारी वितरकको आवश्यकता औँल्याउनुहुन्छ लामिछाने ।

एनआरएन नेपाली साहित्यको विश्वव्यापीकरणमा लागिपरेको लामिछानेको दाबी छ । साहित्य उपसमिति नै बनाएर विश्वभर नेपाली साहित्यको प्रवद्र्धनमा लागिपरेको उहाँ बताउनुहुन्छ । नेपाल प्रज्ञाप्रतिष्ठानसँग मिलेर पनि केही कामहरू ग्रिरहेको उहाको भनाइ छ । भर्खरै मात्र २०० जना नेपाली कविका कविता अंग्रेजी भाषामा अनुवाद गरिएको र विभिन्न स्थानमा साहित्यिक कार्यक्रम र प्रकाशन भइरहेका लामिछाने बताउनुहुन्छ ।