कवाडी व्यवसायमा लगाइएको १३ प्रतिशत भ्याट फिर्ता  लिन माग

कवाडी व्यवसायमा लगाइएको १३ प्रतिशत भ्याट फिर्ता  लिन माग

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण ३२, २०७६

काठमाडौँ। कवाडी व्यवसायमा लगाइएको १३ प्रतिशत भ्याट स्वीकार्य नहुने कवाडी व्यवसायीहरुले बताएका छन् । नेपाल कवाडी मजदुर व्यवसायी संघको वार्षिक साधारण सभामा बोल्दै कवाडी व्यवसायीहरुले सरकारले लगाएको अनिवार्य भ्याटको व्यवस्था आफूहरुले नमान्ने बताएका छन् । 

कार्यक्रममा बोल्दै संघका केन्द्रीय अध्यक्ष धर्मेन्द्र लामाले सरकारले १३ प्रतिशत भ्याट लगाउने निर्णयले व्यवसायीहरु पलायन हुने र लाखौँको रोजगारी गुम्ने अवस्था रहेको बताउँदै अध्यक्ष लामाले यस विषयमा सरकार संवेदनशील बन्न सुझाव समेत  दिएका थिए । उनले यो निर्णय तत्काल फिर्ता लिन  समेत सरकारलाई आग्रह गरेका छन् ।

संघका सचिव शुक्रबहादुर लामाले फोहोरलाई मोहर बनाउँदै कवाडी व्यवसायीहरुले स्वरोजगार र राज्यलाई कर तिरिरहेकोले राज्यले उचित सम्मान गर्नु पर्ने बताए । व्यवसायीहरु एकजुट हुन नसक्दा काम गर्न असहज भइरहेको बताउँदै उनले नेपाल सरकार स्थानीय तहको नीति तथा कार्यक्रमले कवाडी व्यवसायीहरुलाई सम्बोधन गर्नु पर्ने र त्यसकालागि दबाब दिने पनि बताए । एक्लै केही गर्न नसकिने बताउँदै उनले एउटै छातामुनि बसेर काम गर्न व्यवसायीहरुलाई आग्रह गरे । आफ्ना माग र गरिखाने वातावरण बनाउने विषयमा सम्बन्धित निकायले ध्यान नदिएमा आन्दोलन गर्न पनि संघ तयार रहेको भन्दै उनले व्यवसायीलाई साथ दिन र सहयोग गर्न आग्रह गरे ।  

संघको काठमाडौँ जिल्ला अध्यक्ष सञ्जय यादवले कवाडी व्यवसायीहरु साना व्यवसायी भएकोले सरकारले सोही अनुसार व्यवहार गर्नु पर्ने बताए । ठूला व्यवसायीहरुले साना व्यवसायीलाई हेर्ने दृष्टिकोण पनि गलत रहेको उनले बताए । यो अवस्था चिर्दै गरिखाने वातावरण बनाउन आवश्यक रहेको रहेको उनले बताए ।

संघका सल्लाहकार विवेक सिलवालले सरकारी नियम र कानूनले व्यवसायीहरु मारमा परेको उल्लेख गरे । कवाडी व्यवसायीलाई भ्याटमा जान अनिवार्य गरेपछि समस्या परेको उनले उल्लेख गरे । कवाडी मजदुर व्यवसायीहरु एकजुट भएर अगाडि बढ्नुको विकल्प नभएको भन्दै सिलवालले आफ्नो व्यवसाय र रोजगारी बचाउन लाग्नु पर्ने उल्लेख गरे । सरकारले कवाडी व्यवसायीमाथि लगाएको १३ प्रतिशत भ्याटको निर्णय तत्काल फिर्ता गर्न माग पनि गरे । यसको विरुद्धमा व्यवसायीहरु सडकमा आउन पनि तयार रहेको भन्दै त्यसको सामना गर्न उनले सरकारलाई चेतावनी दिए ।

नेपालमा आफ्नो अधिकार प्राप्तिको लागि लड्नै पर्ने बाध्यता रहेको बताउँदै नेपाल आम आद्मी पार्टीकी कोषाध्यक्ष मधुमाया यादवले कवाडी व्यवसायमा १३ प्रतिशत भ्याट लगाउनु ठीक नभएको बताइन् । यो मजदुरको घाँटी च्याप्ने काम भएको भन्दै यसको विरुद्धमा आवाज उठाउन आम आद्मी पार्टी मजदुरको पक्षमा रहेको उनले बताइन् ।