भोजराजको ‘अन्तिम प्रश्न’ सार्वजनिक

भोजराजको ‘अन्तिम प्रश्न’ सार्वजनिक

लोकसंवाद संवाददाता  |  साहित्य  |  श्रावण ३२, २०७६

काठमाडौँ ।  साहित्यकार भोजराज घिमिरेको कथासंग्रह ‘अन्तिम प्रश्न’ शनिबार काठमाडौँमा सार्वजनिक गरिएको छ ।

१६ वटा कथाहरु संगृहीत उक्त कृतिमाथि समालोचकद्वय उपप्राध्यापक डा.  विन्दु शर्मा र उपप्राध्यापक महेश पौड्यालले टिप्पणी गर्नु भएको थियाे  । पुस्तकमाथि समीक्षा गर्दै समालोचक पौड्यालले घिमिरेका कथामा जीवनबोधी चेतना रहेको उल्लेख गर्नुभयाे । उहाँले अन्तिम प्रश्नभित्रका कथाले नेपाली समाज, जनजीवन र नेपाली मनोविज्ञान उद्घाटन गरेको बताउनु भयाे । पूर्वमुख्यसचिवसमेत रहेका घिमिरेका कथामा कथाकारका जागिरे जीवनका अनुभूति सूक्ष्म रुपमा आएको उल्लेख गर्नुभयाे। पौड्यालले  विषय विविधता घिमिरेका कथाहरुमा रहेको भन्दै सरल र सहज अनि मर्यादित भाषाशैलीको प्रयोग भएको पनि बताउनुभयो । 

यसरी नै अर्का समालोचक डा‍‍.  विन्दु शर्माले अन्तिम प्रश्न कथाकृतिभित्रका कथाले समग्र नेपाली सामाजिक, सांस्कृतिक र राजनीतिक परिवेशको चित्रण गरेको बताउनुभयाे । डा. शर्माले पात्र चयनमा र परिवेश चित्रणमा कथाकार सफल भएको उल्लेख गर्नुभयो । सन्दर्भ र परिवेशअनुसारका पात्रको चयन, उनीहरुको समाज र परिवेशअनुसारकै संवाद, कथाभित्रको द्वन्द्व, पात्रहरुबीचका परिघटनाहरु निकै परिपक्व रहेको धारणा राख्नु भयाे ।  सलल बगेका कथाले घिमिरेको कथालेखनको सरलता र सौम्यता पुष्टि गर्ने उहाँको भनाइ थियो ।

युवासमीक्षक घनेन्द्र ओझाले कवि, गीतकार, गजलकार हुँदै आख्यान लेखनमा प्रवेश गरेका घिमिरेका कथामा खास नेपाली माटोको, नेपाली संस्कृति र सभ्यताको अनि नेपाली भाषा र पनको स्वाद पाएकाे बताउँनु भयाे ।  शिष्ट भाषा, सभ्य शैली र सरल प्रस्तुति कथाकार घिमिरेका कथामा पाइने ओझाको भनाइ थियो ।

पूर्वमुख्यसचिव कवि तथा गीतकार डा. विमल कोइरालाले सिर्जना कर्म अत्यन्त गाह्रो काम हुने धारणा राख्नु भयो । जीवनको उत्तरार्द्धमा आएर विधाभञ्जन गर्नु चानचुने कुरा नभएको कोइरालाको भनाइ थियो । घिमिरेको पछिल्लो समयमा देखिएको लेखनप्रतिको ऊर्जा देख्दा आफूलाई खुसी र अचम्म दुवै लागेको कोइरालाले बताउनुभयाे ।

कथाकार घिमिरेले आफू लामो समयसम्म सेतो घोडाको नियति बाँचेको र कार्यव्यसनमा आफैँ पनि फसेको बताउँदै धेरैजसो कथा आफ्नै देखाइ, भोगाइ र अनुभूति भएको उल्लेख गर्नुभयाे । अब उपन्यास लेखनमा रुचि बढेको घिमिरेको भनाइ थियो ।

प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले घिमिरेको जागिरे जीवन, घिमिरेले भोगेको परिवेश र अनुभूत गरेका परिस्थिति नै घिमिरेका कथामा आएको उल्लेख गरे । कुलपति उप्रेतीले पूर्वप्रशासकका व्यक्तिगत अनुभव र अनुभूति कथाका रुपमा आएका हुनसक्ने भन्दै उक्त कथाहरु पढ्दा पाठक भावुक र रोमाञ्चित दुवै बन्नसक्ने धारणा राख्नु भएकाे थियाे ।