बुद्ध विहार पुनःनिर्माणका लागि महानगरद्वारा  एक करोड  अनुदान हस्तान्तरण

बुद्ध विहार पुनःनिर्माणका लागि महानगरद्वारा  एक करोड  अनुदान हस्तान्तरण

लोकसंवाद संवाददाता  |  पर्यटन  |  भदौ १, २०७६

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरपालिका क्षेत्रमा रहेका जीर्ण, क्षतिग्रस्त पाटी, पौवा, बहाःबही, विहार, महाविहार, क्वापाद्यः, गुठीघर, आँगः छे लगायतका सम्पदा आफ्नै कार्यकालमा पुनःनिर्माण गरिसक्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

भृकुटीमण्डपस्थित बुद्ध विहार पुनःनिर्माणका लागि आज महानगरका तर्फबाट अनुदान स्वरुप १ करोड रुपैयाँ हस्तान्तरण गर्दै उहाँले यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।  ‘मैले निर्वाचनकै बेला महानगरपालिका क्षेत्रमा रहेका जीर्ण, क्षतिग्रस्त पाटी, पौवा, बहाःबही, विहार, महाविहार, क्वापाद्यः, गुठीघर, आँगः छे लगायतका सम्पदा आफ्नै कार्यकालमा पुःन निर्माण सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेको थिएँ,’ उहाँले भन्नुभयो, ‘संस्कृति, सम्पदा संरक्षणमा म ध्यान केन्द्रित गरेर लागेको छु । रकम अभाव भयो भनेर चिन्ता नलिनु होला ।  मैले सकेको म गर्छु, नभए प्रदेश र केन्द्र सरकारलाई समेत भनेर अभाव हुन दिन्न ।’ 

मेयर शाक्यले पछिल्लो समय सार्वजनिक जग्गाको खोजी गर्दै महानगरपालिका ती स्थानहरुमा पार्क निर्माण गर्ने, हरियाली प्रवद्र्धन गर्ने जस्ता कार्यमा लागेको पनि उहाँले जानकारी दिनुभयो । ‘पुराना विहारहरुको स्वरुप अहिले बिग्रदै गएको छ, त्यसमा तपाईँहरुले ध्यान दिनुहोला,’ उहाँले भन्नुभयो, ‘सम्पदा नविग्रिने गरी निर्माण गर्दा केही महंगो पर्यो भने महानगर खर्च गर्न तयार छ ।’ 

उहाँले भृकुटी मण्डवको बौद्ध विहार नमूनाका रुपमा पुःननिर्माण भएको पनि उल्लेख गर्नुभयो । त्यसैगरी मेयर शाक्यले नयाँ बानेश्वरस्थित अन्तराष्ट्रिय बौद्ध भावना केन्द्रको नयाँ भवन निर्माण र नेपाल बौद्ध परियति शिक्षा सञ्चालनलाई पनि चालू आर्थिक वर्षमा यथोचित बजेट विनियोजित गरेको जानकारी दिनुभयो ।

भूकम्पबाट क्षतिग्रस्त भएको सो विहार पुनःनिर्माणका लागि करीब ४ करोड ५० लाख लाग्ने अनुमान गरिएको छ । ४ करोड लाग्ने अनुमान गरिए पनि मौलिक ढंगले निर्माण गर्ने भएकाले रकम थप भएको हो ।  ८ हजार ५ सय ५७ वर्ग मिटर क्षेत्रफलमा निर्माण भइरहेको छ ।

सोही कार्यक्रममा सम्वोधन गर्दै काठमाडौँ क्षेत्र नम्बर ६ केन्द्रीय सांसद भिमसेन दास प्रधानले मेयर शाक्यलाई कोटेश्वर तीन कुनेलाई बौद्धपार्कका रुपमा प्रक्रिया अघि बढाउन सुझाव दिनुभयो । प्रधानको सुझावपछि मेयर शाक्यले अहिले त्यो क्षेत्रमा मुआब्जाको समस्या रहेको भन्दै त्यो टुंगिने वित्तिकै प्रक्रिया अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

त्यसो त शाक्यले आफूले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्दा उहाँले काठमाडौँको सम्पदा संरक्षणमा ध्यान दिन सुझाव दिएको प्रसङ्ग कोट्याउँदै मेयर शाक्यको ध्यानाकर्षण गराउनुभयो । ‘तपाईँ महानगरपालिकाको मेयर हो, त्यसैले यहाँका सम्पदा संरक्षण गर्ने बढी दायित्व पनि तपाईँकै हुन्छ,’ प्रधानले भन्नुभयो, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ‘एक शहर एक पहिचान’को अभियान अघि बढाउनु भएको छ । त्यसमा तपाईँले ध्यान दिनुहोला ।’

मेयर शाक्यले प्रधानको सुझावपछि आफू एक्लैले गरेर नहुने भन्दै सबैको साथ सहयोग अपरिहार्य भएको बताउनुभयो । ‘अहिले सम्पदा पुनःनिर्माण गर्न नदिनका लागि नियोजित रुपमा आन्दोलन गर्ने, काम रोक्ने जस्ता प्रवृत्ति हावी भएका छन्,’ उहाँले भन्नुभयो, ‘सबै मिलौँ हाम्रो शहर, राम्रो शहर बनाऔँ । शहर बनाउने कुरामा विरोध गर्नु भनेको हामीलाई नै घाटा हो । ’  

एक करोड रुपैयाँको चेक ग्रहण गरेपछि सो विहारका तथा विहार पुनःनिर्माण समितिका अध्यक्ष भिक्षु कौण्डन्य महास्थिकरले महानगरपालिकाले उत्त रकम सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले महानगरपालिकाको सहयोगले ढुक्कका साथ विहार पुनःनिर्माण गरिसक्ने विश्वास पैदा गरेको पनि बताउनुभयो ।  

 चेक हस्तान्तरण समारोहमा संघीय सांसद् कृष्ण गोपाल श्रेष्ठ, प्रदेश सांसद्हरु डाक्टर अजयक्रान्ति शाक्य, राजेश शाक्यसहित उपप्रमुख हरिप्रभा खड्गी र विभिन्न वडाका वडाअध्यक्षको उपस्थिति रहेको थियो ।