मुख्यमन्त्री  नै अनशनमा

मुख्यमन्त्री  नै अनशनमा

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ २१, २०७५

कोलकाता– भारतीय न्युज एजेन्सीहरूका अनुसार ३ फेब्रुअरी सोमवार साँझ पश्चिम बङ्गालको राजनीतिमा ठुलो सङ्कट देखा परेको छ । 

बंगालमा भएको बहुचर्चित शारदा चिटफंड घोटाला काण्डले यो राजनैतिक सङ्कट ल्याएको हो । सुप्रीम कोर्टको आदेशमा यस घोटालाको छानबिन गरिरहेको सीबीआई र बंगाल प्रहरीको सङ्घर्षले अन्ततः यो मुद्दा पूर्णतया राजनीतिक रङ्गमा रङ्गिएको छ । 

सोमवार साँझ सीबीआईको ४० सदस्यीय छानबिन समितिले त्यहाँका प्रहरी आयुक्त राजीव कुमारको निवासमा प्रवेश गर्न लाग्दा बङ्गाल प्रहरीले सीबीआई टोलीलाई प्रवेश निषेध गरेको थियो । उनीहरूका बिच सामान्य झडप समेत भएको जनाइएको छ । बङ्गाल प्रहरीले सीबीआईको टोलीलाई नियन्त्रणमा लिएर स्थानीय शेक्सपियर प्रहरी चौकीमा राखेको समेत समाचारमा उल्लेख छ । 

सीबीआईको टोली झन्डै ९ बजे रातीसम्म बङ्गाल प्रहरीको नियन्त्रणमा रहेको समेत जनाइएको छ । घटना प्रकरण दिल्लीसम्म पुग पछि, दिल्लीको सक्रियता हुनासाथ सीबीआई टोलीलाई छोडिएको थियो । चुनावको सँघारमा रहेको भारतीय राजनीतिमा यस घटनालाई सबै राजनैतिक दलले आ–आफ्नो ढङ्गले उचालेका छन् । 

पश्चिम बङ्गालको मुख्यमन्त्री ममता बनर्जीले सीबीआईको जाँचलाई केन्द्रको प्रतिशोध भनी स्वयं अनशनमा ओर्लिएकी छन् । उनी रातको नौ बजे नै कोलकाताको धर्मतलामा अनशन बस्न पुगिन । उनीसँगै प्रहरी आयुक्त राजीव कुमार समेत अनशनमा बसेका थिए । 

सुप्रीम कोर्टको आदेशमा काम गरिरहेको सीबीआईले यो प्रकरण सुप्रीम कोर्टमा लगेको छ । 

भारतीय राजनीति विश्लेषकहरूका अनुसार मुख्यमन्त्री ममता बनर्जी केन्द्रलाई उक्साएर राज्यमा राष्ट्रपति शासनको कल्पना गरी रहेकी छन् । केन्द्रले उनको सरकारलाई बर्खास्त गरेको खण्डमा आगामी चुनावमा उनले सहानुभूति पाउने सम्भावना रहन्छ । 

केन्द्रको पहलमा कोलकातामा सी.आर.पी.एफ(सेन्ट्रल रिजर्भ पुलिस फोर्स) परिचालित गरिएको छ । कोलकाताको सीजीओ कम्प्लेक्समा रहेको सीबीआई हेडक्वार्टरको सुरक्षा सी.आर.पी.एफले गरिरहेको छ ।