ल्याए पत्रकार प्यासीले खेती किसानी गीत

ल्याए पत्रकार प्यासीले खेती किसानी गीत

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  माघ २१, २०७५

  म त हिँडे मेला र पर्ममा
   धानै रोप्न असारै महिनामा
गाउँका खेताला सँगसँगै,
तराइचिने चिउरा पोल्टामा
       आलुको अचारमा रमाउँदै, ..........

विगत साँढे दुई दशकदेखि पत्रकारिता गर्दै आएका अरनिको टेलिभिजनका सह—सम्पादक पत्रकार बलराम प्यासीले खेती किसानीसँग सम्बन्धी लोकलयमा आधारित मिठो आधुनिक गीत तयार गरेका छन् ।
वरिष्ठ सङ्गीतकार वालन्द राईको सङ्गीत तथा वरिष्ठ सङ्गीत संयोजक सचिन सिंहले सङ्गीत संयोजन गरेको खेती किसानी गीतमा सङ्गीतकार वालन्द राई र गायिका पार्वती राईको स्वर रहेको छ ।

खेती किसानी सम्बन्धी विभिन्न तस्बिरलाई समायोजन गरी युट्युब मार्फत आइतबार साँझदेखि सार्वजनिक गरेको उक्त गीतको छिटै नै छायाङ्कन गरिने योजना रहेको रचनाकार प्यासीले बताएका छन् ।
किसान परिवारमा जन्मेका प्यासी स्काउट, समाजसेवा र पत्रकारितामा स्थापित भएपछि गीतकारको रूपमा आफ्नो अर्को पहिचान बनाउने प्रयासमा छन् । उनी अरनिको टेलिभिजनमा सह सम्पादकको साथै भक्तपुरे प्रकाशित भइरहेको नेपाल न्युज साप्ताहिक र प्रक्षेपण दैनिकका कार्यकारी सम्पादक तथा एक दर्जन विभिन्न प्रतिष्ठित संस्थाका सञ्चार सल्लाहकारको रूपमा कार्यरत छन् ।  

रचनाकार प्यासीले विभिन्न मौसममा लगाइने खेतीपाती र मेलापर्ममा जाँदा खेतालाहरूले खाने गरेका खाजाहरू ‘उसिनेर साँधेको आलुको अचारसङ ताइचिन चिउरा’, ‘साँधेको गुन्दु्रकसंग भुटेको मकै भटमास’, ‘सिन्कीको अचारसङ भुटेको जुनेलो’ र ‘मुलाको अचारसङ गहुँको पीठोको रोटी’को बारेमा स्वादिलो शब्द पस्केका छन् ।

खेतीकिसानीबारे गीतहरू त्यति नभएका कारण आफूले केटाकेटी अवस्थामा देखेको कुरा सम्झेर खेती किसानी गीत लेखेको बताएका छन् ।

‘मैले पनि ६/७ वर्षको उमेरमा फरियाको फेर समातेर आमाको पछिपछि र सकि नसकी काँधमा कुटो, कोदालो बोकेर ‘बा’ सँगसँगै खेतबारीमा गएको मिठो अनुभव संगालेको छु’—उनले भने ।

असारमा धान रोप्न जाँदा आमाले पटुकीको पोल्टामा ताइचिनको चिउरा र हरियो खुसार्नी चिरेर साँधेको स्वादिलो आलुको अचार खाने गरेको झलझली याद आउने गरेको ३ वर्षअघि निधन भएकी आमाको स्मरण गर्दै पत्रकार प्यासीले भने ।

गहुँ छर्ने हिउँदमा बा’को पछिपछि लागेर खेतमा जाँदा खेतकै कुनामा भात पकाएर खाएको पनि याद गर्दै उनले भने—‘यस्तै घटनाले आफूलाई यो गीत लेख्न हौसला मिलेको हो’ ।
२०७२ सालको राष्ट्रिय वालदिवसको अवसरमा रेडियो नेपाल र वाल मन्दिरले आयोजना गरेको ‘राष्ट्रिय वाल गीत प्रतियोगिता’ मा प्यासीले लेखेको  ‘बाबा मलाई खेलौना हैन, राम्रो शिक्षा दिनुस्, ममी मलाई पैसा हैन, असल संस्कार दिनुस्’ बोलको गीत गायनतर्फ उत्कृष्ट भएको थियो ।