हेलो पृथ्वी ! म ठीक छु, मेरो यात्रा सकुशल जारी छ

हेलो पृथ्वी ! म ठीक छु, मेरो यात्रा सकुशल जारी छ

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  भदौ २, २०७६

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले २०७६ भाद्र १ गते आइतवार चन्द्रयानबारे आफ्नो ट्विटर ह्याण्डलमा लेखेको छ – हेलो म चन्द्रयान –२ हो, मेरो यात्रा जारी छ ।

काठमाडौं, इसरो ट्विटर । भारतको चन्द्रयान –२ विस्तारै आफ्नो लक्ष्यतिर लम्किरहेको छ । चन्द्रमाको यात्रामा रहेको यानले आफ्नो स्वास्थ्य र यात्राबारे पृथ्वीस्थित नियन्त्रण कक्षलाई सन्देश पठाएको छ । यानले सन्देशमा भनेको छ, उ ७ सेप्टेम्बरमा चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्नेछ ।

इसरोले यस सम्बन्धमा आफ्नो आधिकारिक टिव्टर ह्याण्डलबाट टिव्ट गर्दै समाचार प्रेषित गरेको छ ।

इसरोले लेखेको छ, ‘हेलो ! म चन्द्रयान –२ हो, ताजा अपडेटका साथ । म तपाईँ सबैलाई भन्न चाहन्छु कि मेरो आजसम्मको यात्रा शानदार रहेको छ र म आउँदो ७ सेप्टेम्बरका दिन चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्नेछु । म कहाँ छु र के गरिरहेको छु यो जान्नका लागि मसँग सम्पर्कमा रहनुस ।’

२२ जुलाईमा प्रक्षेपित गरिएको चन्द्रयान –२ अहिले चन्द्रमामा पुग्ने यात्रामा निरन्तर अगाडि बढी रहेको छ । इसरोका अनुसार २० अगस्टका दिन यसले चन्द्रमाको अर्बिटमा प्रवेश गर्नेछ ।