नेप्से ७ अङ्कले बढ्यो

नेप्से ७ अङ्कले बढ्यो

लोकसंवाद संवाददाता  |  कारोबार  |  भदौ २, २०७६

काठमाडौं : धितोपत्र बजारमा लगातार ओरालो लाग्दै आएको कारोबार मापक नेप्से परिसूचक आज उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७.२३ बिन्दुले बढेर एक हजार २२२.०६ बिन्दुमा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक १.८५ बिन्दुले बढेर २६४.९६ मा पुगेको छ । 

नेप्से परिसूचक बढे पनि कारोबार रकममा भने उल्लेख्य सुधार हुनसकेन । आज कुल १७५ कम्पनीको १४ लाख ७७ हजार ४३५ कित्ता शेयर ३८ करोड ९६ लाख २५ हजार रुपैयाँमा खरीद बिक्री भए । स्टकका अनुसार कारोबार भएका कउल ११ उपसमूहमध्ये आज निर्जीवन बीमाको शेयर कारोबार ओरालो लागेको छ । सो उपसमूहको शेयर २९.७८ बिन्दुले घट्दा बैंकिङ ७.३३, होटल ४.७४, विकास बैंक १३.४३, जलविद्युत् १.१९, वित्त १.०७, उत्पादन ६.९१, अन्य ४.७२, लघुवित्त २१.५१, जीवन बीमा ४४.३२ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले बढेको छ ।

स्टकका अनुसार कारोबारका आधारमा आज सिद्धार्थ बैंक लिमिटेडको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ । सो बैंकको दुई करोड ५८ लाख ३१ हजार ४२८ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, रसुवागढी जलविद्युत् आयोजना दुई करोड १५ लाख १६ हजार, एनआइसि एसिया एक करोड ७१ लाख ९० हजार, सोल्टी होटल एक करोड ६७ लाख ३४ हजार, कृषि विकास बैंक एक करोड ६६ लाख ६४ हजार र नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर एक करोड ४६ लाख ९८ हजार रुपैयाँमा खरीद बिक्री भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा नाडेप लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ७.५० प्रतिशतले कमाउँदा सपोर्ट माइक्रोफाइनान्स ६.४७, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था ६.१६, एक्सेल डेभलपमेन्ट बैंक ५.०९ र महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ५.०३ प्रतिशतले कमाएका छन् । सानिमा इक्विटी फण्ड ३.५७, जोशी हाइड्रोपावर २.८९, युनाइटेड इन्स्योरेन्स २.५६, गुह्यश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स २.५२, बरुण हाइड्रोपावर २.२२ र चिलिमे जलविद्युत् कम्पनीका शेयरधनीले १.९६ प्रतिशतले गुमाए ।