समुद्रमा फालिएको पत्र  ५० वर्षपछि  भेटियो !

समुद्रमा फालिएको पत्र  ५० वर्षपछि  भेटियो !

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ ३, २०७६

तपाइँँले कुनै साथीलाई हस्तलिखित पत्र लेखेको कति दिन पछि उसले पाउने आश गर्नु हुन्छ ?  एकजना व्यक्तिले लेखेको पत्र अपरिचित एकजनाले पचास वर्ष पछि भेटेका छन् । 

काठमाडौं, एजेन्सी । अमेरिकाको अलास्का निवासी एक जना मानिसले ५० वर्ष पुरानो पत्र भेट्टाएको पाइएकाे छ ।   उक्त पत्र एक जना रसियनले लेखेका थिए । तर, उनले यो पत्र कुनै हुलाकको पत्र मञ्जुषामा नहालेर आफूले खाएको रक्सीको बोतलमा राखी पानीमा बगाएका थिए । 

पुरानो जमानामा सामुद्रिक यात्रा गर्नेहरुले जहाज दुर्घटनाग्रस्त हुने बेलामा शिशाको बोतलमा यसरी सन्देश राखेर समुद्रमा फाल्ने चलन रहेको थियो ।  

अलास्का निवासी टाइलर आइभनोफले रक्सीको बोतलमा बन्द रहेको रुसी भाषामा लेखिएको यो पत्र भेट्टाएका हुन् । उक्त पत्र सन् १९६९ मा लेखिएको ज्ञात हुन आएको छ । आइभनोफका अनुसार बोतलको बिर्को खोल्दा रक्सीको गन्ध आएको एवं बोतल भित्र पट्टि पुरै सुक्खा रहेको थियो । उनले भेटेको पत्र पनि राम्रो अवस्थामा थियो । 

आफ्नो घरबाट दाउरा खोज्नका लागि गएको बेला उनले पत्रसहितको बोतल भेट्टाएका थिए । 

द नोम नगेट पत्रिकासँगको कुराकानीमा उनले भने – मलाई  बोतलको बिर्को खोल्न निकै गाह्रो भयो, दाँतको प्रयोग गरेर मैले बिर्को खोलेको थिएँ । बोतलको भित्री भाग पुरै ओभानो थियो, तर रक्सीको गन्ध भने आइरहेको थियो । पत्र पनि पुरै ओभानो थियो । 

उनले रुसी भाषामा लेखिएको पत्र भेट्टाएपछि यसको अनुवाद गर्नका लागि सामाजिक सञ्जालमा आग्रहमुलक पोस्ट गरेका थिए । अनुवादपछि थाहा हुन आयो, उक्त पत्र सन् १९६९ को जून २० मा रुसी पानी जहाजमा यात्रा गरिरहेका जल सैनिकले लेखेका थिए ।

रुसी सञ्चारमाध्यमले पत्र सम्बन्धी समाचार प्रकाशित गरेपछि पत्र लेखकको व्यापक खोजी गर्ने कार्य भयो । अन्ततः रुसी सञ्चारमाध्यमले पत्रलेखक क्याप्टेन एनातोली बोत्सानेन्कोको खोजी गरिछाडे । 

८६ वर्षको उमेरमा हिंडिरहेका एनातोलीलाई पत्रका बारेमा थाहा हुँदा उनले आफ्नो अश्रु थाम्न सकेनन् । रुसी टेलिभिजन रोसिया वानसँग उनले भने, ‘हो,  यो मेरो नै लेखाइ हो ।’

आफूले पचास वर्ष पहिला समुद्री यात्राका दौरान लेखेर छोडेको पत्र अपरिचितले पाउँदा र त्यसको समाचार आफूले जीवित छँदै सुन्न पाउँदा उनी आफू ज्यादै हर्षित भएको पनि उनले बताए ।