हिमनदी पूरै पग्लिएको सम्झनामा प्रधानमन्त्रीद्वारा  श्रद्धाञ्जलि व्यक्त

हिमनदी पूरै पग्लिएको सम्झनामा प्रधानमन्त्रीद्वारा  श्रद्धाञ्जलि व्यक्त

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ ३, २०७६

काठमाडौं, एजेन्सी । आइसल्याण्डको ७०० वर्ष पुरानो ओकोजोकुल ग्लेसियर  पुरै पग्लिएको छ । जलवायु परिवर्तनका कारण पग्लिएको यो नै संसारको पहिलो ग्लेसियर भएको दावी पनि गरिएको छ । 

ग्लेसियरको सम्झनामा आइसल्याण्डका प्रधानमन्त्री कैटरिन जोकोबस्तोदियर तथा उनका मन्त्रीहरुले शोक व्यक्त गर्दै ग्लेसियरलाई श्रद्धाञ्जली दिएका छन् । प्रधानमन्त्रीको शोक सन्देशमा भनिएको छ । अहिले जे भैरहेको छ त्यो ठीक छैन भनि हामीले स्वीकार गर्नुपर्छ । यसलाई रोक्नुपर्छ र यसका लागि जरुरी कदम पनि उठाउनु पर्छ । 

यसभन्दा पहिले राइस विश्वविद्यालयका मानव विज्ञानका एसोसिएट प्रोफेसर सायमिनि हाबेले जुलाइमा भनेका थिए, जलवायु परिवर्तनका कारण आफ्नो अस्तित्व गुमाउने पहिलो ग्लेसियर ओकोजोकुल नै हुनेछ । यसलाई आधिकारिक रुपमा २०१४ मा नै सकिएको मानिएको थियो । 

ग्लेसियरको यादमा एउटा कास्य पत्र पनि बनाइएको थियो । यसको अनावरण प्रधानमन्त्री कैटरिनले गरेका थिए । पत्रमा ग्लेसियरको वर्तमान स्थिति तथा बाँकी रहेका अन्य ग्लेसियरको भविष्यको बारेमा चिन्ता जताइएको थियो । उक्त अवसरमा प्रधानमन्त्रीका साथ पर्यावरण मन्त्री तथा संयुक्त राष्ट्रसंघ मानवाधिकार उच्चायुक्तको पनि उपस्थिति थियो । 

आइसल्याण्डको पश्चिमी सब आर्कटिक भागको ओक ज्वालामुखीमा ओकोजोकुल ग्लेसियर अवस्थित थियो । जुन पछिल्ला वर्षमा अत्यधिक मात्रामा पग्लिएको थियो । १४ सेप्टेम्बर १९८६ मा यसको सेटलाइट चित्र जारी गरिएको थियो । सन् १९०१ मा करीब ३८ वर्ग फिट किमि फैलिएको ग्लेसियर खुम्चिएर १ वर्ग किमिमा सिमित भएको थियो ।

जलवायु वैज्ञानिकका अनुसार आइसल्याण्डको ४ सय ग्लेसियर यसै गरी समाप्त हुन सक्छन् । यहाँको बरफ पग्लने दर प्रतिवर्ष ११ बिलियन टन रहेको छ । इन्टरनेशनल युनियन फर कन्जर्भेसन अफ नेचरका अनुसार यदि ग्रीन हाउस इफेक्ट कम नगर्ने हो भने १०० वर्षमा संसारको आधा भन्दा बढी ग्लेसियर पग्लने छन् ।