भारतीय यान चन्द्रमा प्रवेश

भारतीय यान चन्द्रमा प्रवेश

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  भदौ ३, २०७६

भरतीय चन्द्रयान–२ ले चन्द्र अर्विटमा सफल्तापूर्वक प्रवेश गरेको छ । प्रक्षेपण गरिएको २९औँ दिनमा यान चन्द्रमाको अर्विटमा प्रवेश गरेको हो । 

झण्डै ८ हजार किलोमिटर प्रति घण्टाको वेगले पृथ्वीको अर्विट छाडेर अनन्त आकाशमा  चन्द्रमातिर लम्किरहेको भारतीय चन्द्रयान–२ आज २०७६ भदौ ३ गते मंगलबार बिहान ९ बजेर ३१ मिनेट जाँदा चन्द्र अर्विटमा प्रवेश गरेको छ । 

भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो)का वैज्ञानिकले चन्द्रयान–२ को मुख्ययान अर्विटरलाई चन्द्रमाको ११४ह १८०७२ किमी माथिल्लो अर्विटमा स्थापित गरेका छन् ।  अहिले यो यान यसै उचाइबाट चन्द्रमाको  परिक्रमा गरिरहेको छ । 

गएको १४ अगस्तका दिन चन्द्रमातर्फ पठाइएको चन्द्रयान–२, छ दिनपश्चात चन्द्रमाको नजिक पुग्दा इसरोका वैज्ञानिकले चन्द्रयान–२ को  इंजिन बालेर यस्तो गति कम गरे ।

कुनै पनि चन्द्र अभियानमा यो अत्यन्त महत्त्वपूर्ण चरण हुन्छ । यान  आफ्नै गतिमा गइरहेको हुन्छ, गति कम गरिएन भने  चन्द्रमाको गुरुत्वाकर्षणले यसलाई तान्दैन र यान चन्द्रमालाई छाडेर अनन्त आकाशमा गइरहन्छ ।

चन्द्रमाको अर्विटमा यानलाई पसाउन निर्धारित दूरी एवम् एकदमै सटिक समयमा यानको गति कम गर्नुपर्छ । यानको गति कम हुँदा चन्द्रमाको गुरुत्वाकर्षणले तानेर यान चन्द्र अर्विटमा प्रवेश गर्छ । 
इसरोका वैज्ञानिकले २० अगस्तका दिन बिहान ९ बजेर २ मिनेट जाँदा यानको इंजिन बालेर यसको गति कम गरे । इसरोका वैज्ञानिकले यस क्रममा झण्डै एक हजार ७३८ सेकेण्डका लागि यानको इंजिन बालेर यानको गति कम गरिदिए । झण्डै आधा घन्टाको यस प्रयासमा यानले सफलतापूर्वक चन्द्र अर्विटमा प्रवेश गर्‍यो । 

आउने दिनमा वैज्ञानिकहरुले विस्तारै यसलाई चन्द्रमाको झनझन तल्लो अर्विटमा स्थापित गराउँदै जानेछन् । 

३ सेप्टेम्बरका दिन चन्द्र सतहबाट ३०x१०० किमी माथिल्लो अर्विटमा रहँदा चन्द्रयान–२ को मुख्य यान अर्विटरबाट ल्याण्डर विक्रम विच्छेद भएर चन्द्र अवतरणका लागि प्रस्थान गर्नेछ । 
इसरोले आउँदो ७ सेप्टेम्बका दिन ल्याण्डर विक्रमलाई चन्द्र धरातलमा ओराल्ने योजना बानाएको छ ।

इसरोले भोलि २१ अगष्ट दिउँसो १२ः३०–१३ः३० को बीचमा चन्द्रयान–२ लाई तल्लो चन्द्र अर्विटमा लैजाने कार्यतालिका निर्धारित गरेको छ । चार पटकको प्रयासमा यानलाई चन्द्रमाको निम्न अर्विट ३०x १००  किमीमा स्थापित गराइनेछ ।

यसपछि अर्विटरबाट ल्याण्डर विक्रम बेग्लै भएर चन्द्र अवतरणका लागि ओर्लिनेछ भने अर्विटर चन्द्रमाको अर्विटमै रहेर  चन्द्र परिक्रमा गरिरहनेछ ।