उत्कृष्ट विद्यालयलाई पचास हजार पुरस्कार

उत्कृष्ट विद्यालयलाई पचास हजार पुरस्कार

भोजराज कार्की /रासस  |  शिक्षा  |  माघ २२, २०७५

सोलुखुम्बु / सोलुखुम्बु मप्य दूधकोशी गाउँपालिकाले विद्यालय स्तरीय परीक्षा आफैँले सञ्चालन गर्ने भएको छ । गाउँपालिका शिक्षा समितिको हालै बसेको बैठकले पालिकाभित्रका कक्षा ५ र ८ का लागि शैक्षिक सत्र २०७५ को अन्तिम परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । 

शिक्षा समितिका अध्यक्षसमेत रहनुभएका गाउँपालिकाका अध्यक्ष बुद्धि किरण राईको अध्यक्षतामा बसेको बैठकले उक्त परीक्षा सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिकाकी उपप्रमुख जुनिता मगरले जानकारी दिनुभयो । उक्त परीक्षा सञ्चालन गर्न गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको अध्यक्षतामा पाँच सदस्यीय परीक्षा समिति गठन गरिएको छ । गठित समितिले परीक्षा मिति र प्रश्नपत्र तयार पार्ने छ । 

'शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यले पालिकाभरि एकै पटक परीक्षा सञ्चालन गर्ने निर्णय गरेका हौँ', उपप्रमुख मगरले भन्नुभयो, 'यसले शिक्षामा एकरुपता ल्याउन सहयोग पुग्ने हाम्रो विश्वास छ ।' उनका अनुसार सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्कँदो क्रममा रहेको भन्दै निजी विद्यालयतर्फ अधिकांशको आकर्षण बढेकाले त्यसको न्यूनीकरण गर्ने प्रयासस्वरुप पालिकाले परीक्षा सञ्चालन गर्ने भएको हो । परीक्षामा सहभागी भई उत्कृष्ट अङ्क ल्याउने तीन विद्यार्थीलाई क्रमशः नगद रु १० हजार, आठ हजार र छ हजार प्रदान गरिने उपप्रमुख मगरले जानकारी दिनुभयो । 

यस्तै कक्षा ८ बाट सहभागी विद्यार्थीले ल्याएको उत्कृष्ट अङ्क, विद्यार्थी सङ्ख्या लगायतलाई मूल्याङ्कन गरी तीन विद्यालयलाई संस्थागत रूपमा नै नगद रु ५० हजार, ४० हजार र ३० हजार पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने निर्णय पनि गरिएको जानकारी दिइएको छ । विद्यालयमा कार्यरत शिक्षक, विद्यार्थीलाई समेत उत्प्रेरित गर्ने उद्देश्यले पुरस्कार राशि निर्धारण गरिएको गाउँपालिका अध्यक्ष राईको दाबी रेहके छ । गाउँपालिकाले सञ्चालन गर्ने परीक्षामा कक्षा ५ का लागि २१ र कक्षा ८ का लागि १३ विद्यालयका करिब ६०० विद्यार्थीले सहभागिता रहने पनि जनाइएको छ । 

बैठकले प्राविधिक र व्यावसायिक शिक्षा सञ्चालनका लागि दीर्घकालीन योजना निर्माण गर्ने निर्णय गरेको छ । यो शैक्षिकसत्रमा पालिका स्तरीय परीक्षा सञ्चालनको निर्णय गर्ने माप्य दूधकोशी जिल्लाकै पहिलो गाउँपालिका बनेको छ । शैक्षिक सत्र २०७४ मा थुलुङ दूधकोशी गाउँपालिकाले पहिलो पटक कक्षा ८ को परीक्षा लिएको थियो । 

शिक्षामा सुधार ल्याउने भन्दै गाउँपालिकाले शिक्षा ऐन नै पारित गरेर काम गरिरहेको भए पनि सुधार हुन नसकेको अभिभावकहरूको गुनासा रहँदै आएको छ । थुलुङदूधकोशी गाउँपालिका–८ का कुलबहादुर राईले सामुदायिक विद्यालयको शैक्षिक सुधारको लागि गाउँपालिकाले सशक्त कदम चाल्नुपर्ने अवस्था रहेको बताउनुभयो ।