पकिस्तानले सेना प्रमुख बाजवाको कार्यकाल बढायो

पकिस्तानले सेना प्रमुख  बाजवाको कार्यकाल बढायो

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ ३, २०७६

पाकिस्तान, एउनआइ ।  पाकिस्तान सरकारले देशका सेना प्रमुख ५८ वर्षीय कमर जावेद बाजवाको कार्यकाल बढाएको छ । 

पकिस्तानी मिडियाका अनुसार बाजवाको कार्यकाल ३ वर्षका लागि थप गरिएको छ । त्यहाँका मिडियाका अनुसार भारत र पाकिस्तानबीच बढेको आन्तरिक तनावका कारण सेना प्रमुखको कार्यकाल लम्ब्याइएको हो । 

बाजवालाई काश्मिर मुद्दाको विशेष जानकार मानिन्छ । साथै उनलाई भारतसँगै नियन्त्रण रेखा ९लाइन अफ कन्ट्रोल०बारे पनि लामो अनुभव छ । 

वाजवालाई सन् २०१६ मा तत्कालीन प्रधानमन्त्री नवाज सरिफले सेना प्रमुख बनाएका थिए । त्यहाँको कानुनअनुसार बजवा यसै वर्षको नोभेम्बर महिनामा सेवनिवृत्त हुनुपर्ने थियो । 
इमरान सरकारले थप तीन वर्षका लागि उनको थमौती गरेको हो । 

प्रधानन्त्री कार्यालयबाट जारी गरिएको संक्षिप्त सूचनामा यसबारे भनिएको छ, ‘जनरल कमर जावेद बाजवालाई काश्मिर क्षेत्रमा सुरक्षा स्थिति मध्यनजर गर्दै थप तीन वर्षका लागि सेना प्रमुख नियुक्त गरिएको छ ।’

उनको तीन वर्षे नयाँ कार्यकाल अहिलेको कार्यकाल समाप्त भएदेखि लागू हुनेछ । 

पाकिस्तानी सेनाको महत्त्वपूर्ण एकाई ‘रावलपिण्डी कर्प्स’का भूतपूर्व कमाण्डर रहिसकेका बाजवासँग प्रधानमन्त्री इमरान खानको सम्बन्ध प्रगाढ रहेको छ । पाकिस्तानका विपक्षी दल इमरानले बाजवाकै सहयोगमा सत्ता हासिल गरेको आरोप लगाउँछन् ।