काश्मिरको बारेमा नेपाल बोल्यो,  नेपालीको स्थिति तथा क्षेत्रीय शान्ति र स्थिरतामा चासाे

काश्मिरको बारेमा नेपाल बोल्यो,  नेपालीको स्थिति तथा क्षेत्रीय शान्ति र स्थिरतामा चासाे

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ ३, २०७६

काठमाडाैँ । नेपाल भारत संयुक्त आयोगको बैठकका एजेण्डाबारे जानकारी दिन सोमवार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले काश्मिर समस्याका बारेमा पहिलाे पटक नेपालको धारणा राख्नु भएकाे थियो ।  

यस विषयमा नेपालको खासगरी दुईवटा चासो रहेको ज्ञवालीले बताउनु भयाे  । पहिलो भनेको, कश्मीरका विभिन्न ठाउँमा कार्यरत नेपालीहरूको स्थितिबारेको चिन्ता । र, दोस्रो भनेको क्षेत्रीय शान्ति र स्थिरताबारेको चिन्ता । 

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको वर्तमान अध्यक्ष भएका नाताले नेपालले यस क्षेत्रमा विकसित भएको घटनाबारे नबोलेको भन्दै प्रश्न उठिरहेको थियो । 

पहिलो चिन्ताबारे दिल्लीस्थित नेपाली दूतावास भारत सरकारसँग निरन्तर सम्पर्कमा रहेको र हालसम्म कुनै अप्ठेरो परेको जानकारी नआएको मन्त्री ज्ञवालीले बताए ।

दोस्रो विषयमा भने मन्त्री ज्ञवालीले नेपालको चाहना केवल क्षेत्रीय शान्ति र स्थिरता नखलबलियोस् भन्ने रहेको उनले बताए ।

संयुक्त आयोगको बैठकमा भाग लिन भारतीय विदेशमन्त्री एस जयशङ्कर बिहिबार नेपाल आउँदैछन् । 

मन्त्री ज्ञवालीले सो बैठकले राजनीतिक सम्बन्ध र सुरक्षा चासो देखि लिएर ऊर्जा, सम्पर्क सञ्जाल, वाणिज्य र पारवहनसहित सबै पाटोमा छलफल गर्ने बताए ।