मद्यपानका थोरै गुण, धेरै अवगुण

मदिरा धेरै किसिमका हुन्छन् । अन्न वा फलफूललाई कुहाएर मदिरा बनाइन्छ । यसरी कुहाई ‘डिस्टिलेसन’ गरेर बनाएको रक्सीलाई ह्विस्की भनिन्छ । विभिन्न प्रकारका मदिरामा रक्सीको प्रतिशत फरक फरक हुन्छ । 

मध्यकालीन युगतिर अरबवासीहरूले डिस्टिलेसन गरेर रक्सी बनाउने प्रविधि सर्वप्रथम सुरु गरेको पाइन्छ । सत्य युगमा देवता र दानव मिलेर समुद्र मन्थन गर्दा अमृत, मदिरालगायत अन्य अनेकौँ चिजहरू उत्पन्न भएको कुरा हाम्रा धर्मग्रन्थहरूमा उल्लेख भएकाले मदिराको उत्पत्ति आदिकालदेखि नै भएको अनुमान लगाउन सकिन्छ ।

डिस्टिलेसनबाट उत्पन्न रक्सीको एक पेग वा ३० मिलिलिटर मदिरामा कति ग्राम रक्सीको मात्रा हुन्छ भन्ने कुरा हिसाब गरेर सजिलै पत्ता लगाउन सकिन्छ । १० ग्राम रक्सीलाई १ युनिट मान्ने प्रचलनलाई पनि थाहा पाइराख्नु उचित हुन्छ । एक युनिट भन्नाले एक पेग ह्विस्की, एक गिलास वाइन अथवा आधा बोतल बियर मान्नुपर्छ । एक ग्राम रक्सी सेवन गर्दा सात क्यालोरी शक्ति पाइन्छ । यसरी एक पेग रक्सी सेवन गर्दा ७० क्यालोरी शक्ति पाउन सकिन्छ । 

रक्सीको सेवनबाट आउने शक्ति मानिसलाई तुरुन्तै चाहिने शक्तिको रूपमा प्रयोग हुन्छ र यो शक्ति भविष्यका लागि सञ्चय हुँदैन भन्ने कुरा अध्ययनबाट थाहा पाइएको छ ।

आवश्यकताभन्दा अधिक मात्रामा मदिरा सेवन गर्दा अरू प्रकारका भोजनहरूबाट प्राप्त शक्ति सञ्चय हुँदै गएर मानिस मोटाउन सक्छ, जुन स्वास्थ्यका लागि हानिकारक हुन्छ । हप्तामा कतिसम्म मद्यपान गर्दा शरीरलाई हानि पुग्दैन भन्ने विषयमा विशेषज्ञहरूको विचार यहाँ उल्लेखनीय देखिन्छ । 

हप्तामा पुरुषले २१ युनिट र महिलाले १४ युनिटसम्म मद्यपान गर्दा मुटुलाई फाइदा हुने र मद्यपानका अन्य अवाञ्छनीय प्रभाव नपर्ने हुन्छ भन्ने कुरामा एकथरी विशेषज्ञहरू विश्वास गर्छन् । 

रक्सीको कति मात्रालाई ‘एउटा रक्सी’ भन्ने विषय पनि चाखलाग्दो छ । एउटा रक्सी भन्नाले १० ग्राम अल्कोहल बुझ्नुपर्छ । यो कुरालाई ग्लोवल बर्डन अफ डिजिज स्टडीले निर्धारण गरेको हो । अमेरिकामा १४ ग्राम अल्कोहललाई ‘एउटा रक्सी’ मानिएको छ । आठदेखि २० ग्रामलाई एउटा रक्सी मान्ने देशहरू पनि छन् । 

ठिक्क मात्रामा खाएको रक्सीले इन्सुलिनलाई क्रियाशील तुल्याउँछ भन्ने कुरा विशेषज्ञहरूले पत्ता लगाएका छन् । मद्यपानले प्लेटलेटलाई रक्तनलीहरूभित्र टाँसिन दिँदैन र रगतलाई जमाउने पदार्थहरूलाई नियन्त्रण गरेर रक्तनलीभित्र रगत जम्न दिँदैन । यसरी मुटुलाई रगत पु¥याउने रक्तनलीहरूमा रगत जम्न नदिएर हृदयाघात हुन दिँदैन ।

ठिक्क मात्राको रक्सी पनि महिला र पुरुषहरूमा फरक हुन्छ । महिलाहरूले दिनमा एउटा र पुरुषहरूले दुईवटा रक्सी खानुलाई ठिक्क मात्रामा रक्सी खाएको मान्नुपर्छ । ठिक्क मात्रामा खाएको रक्सीले इन्सुलिनलाई क्रियाशील तुल्याउँछ भन्ने कुरा विशेषज्ञहरूले पत्ता लगाएका छन् । मद्यपानले प्लेटलेटलाई रक्तनलीहरूभित्र टाँसिन दिँदैन र रगतलाई जमाउने पदार्थहरूलाई नियन्त्रण गरेर रक्तनलीभित्र रगत जम्न दिँदैन । यसरी मुटुलाई रगत पु¥याउने रक्तनलीहरूमा रगत जम्न नदिएर हृदयाघात हुन दिँदैन । यो कुरा मद्यपानको राम्रो पक्ष भए तापनि ज्यादा रक्सी खानेहरूलाई कलेजोको नराम्रो रोग लाग्नसक्छ । यसर्थ ज्यादा मद्यपान नगर्नु नै बुद्धिमानी हुन्छ । 

मदिरापानपछि रगतमा मदिरा चाँडो पुग्छ । मदिराको अधिकांश भागको दहन क्रिया कलेजोमा हुने गर्छ । यसको केही भाग मिर्गौला र फोक्सोबाट निष्कासन हुन्छ । मदिरापानपछि यसको केही अंश फोक्सोबाट निष्कासन हुने भएकाले कुनै व्यक्तिले कति रक्सी खाएको छ भन्ने कुरा ‘ब्रेथ टेष्ट’ गरेर पत्ता लगाउन सकिन्छ । १०० मिलिलिटर रगतमा ८० मिलिग्रामभन्दा कम रक्सीको भाग भएको व्यक्तिले मोटर चलाउनसक्छ । रगतमा २०० मिलिग्रामभन्दा कम मदिरा हुँदा मानिसको मानसिक सन्तुलनमा खास प्रभाव पर्दैन । २०० देखि ५०० मिलिग्राम मदिरा रगतमा हुँदा मस्तिष्कमा प्रभाव पर्छ र ज्यादै प्रभाव परी मानिस बेहोससम्म हुनसक्छ । ५०० मिलिग्रामभन्दा बढी मदिरा रगतमा हुनेहरूको ज्यान जोखिममा हुने सम्भावना हुन्छ ।

अल्प रक्त प्रवाह र हृदयरोगबाट बच्ने अनेकौँ उपायहरू छन् । तीमध्ये मद्यपानलाई पनि लिन सकिन्छ । उचित मात्रामा जुनसुकै किसिमको मदिरा सेवन गरे तापनि अल्प रक्त प्रवाह र हृदयरोगको जोखिमलाई कम गराउन सकिन्छ भन्ने तथ्यलाई वैज्ञानिकहरूले प्रमाणित गरिसकेका छन् । रेड वाइन सेवन गर्नाले हृदयाघात हुनबाट बच्न सकिन्छ भन्ने कुरा बढी प्रचारमा आएको भए तापनि सबै प्रकारका मदिरा सेवन गर्नाले अल्प रक्त प्रवाह र हृदयरोग हुनबाट बच्न सकिने तथ्य अध्यनबाट सिद्ध भइसकेको छ । तसर्थ स्कच, ह्विस्की सेवन गर्नेहरूले रेड वाइन खान थाल्नुको कुनै औचित्य छैन ।

मद्यपानका फाइदाहरू

हाम्रो रगतमा एलडीएल नामक कोलेस्ट्रोल बढी भयो भने अल्प रक्त प्रवाह र हृदयरोग हुने सम्भावना ज्यादा रहन्छ । एचडीएल नामक कोलेस्ट्रोलले अल्प रक्त प्रवाह हृदयरोग हुनबाट बचाउन मद्दत गर्छ । तसर्थ यसलाई राम्रो खालको कोलेस्ट्रोल भने पनि हुन्छ । ठीक मात्रामा मद्यपान गर्ने मानिसहरूको रगतको एचडीएल नामक कोलेस्ट्रोल बढेको पाइएको छ । 

पुरानो जमानामा धेरै किसिमका रोगीहरूको उपचारमा मदिराको प्रयोग गरिएको पाइन्छ । हिजोआज पनि मदिराका राम्रा गुणहरूलाई रोगको उपचारमा प्रयोग गरिन्छ । औषधि कम्पनीहरूले विभिन्न प्रकारका औषधि बनाउँदा मदिराको प्रयोग गर्छन् । धेरै मानिसहरू मदिराले जाडो भगाउने काम गर्छ भन्ने कुरामा विश्वास गर्छन् तर यसको विपरीत मदिराले मानिसको छालामा हुने रक्तनलीहरूमा ज्यादा रक्त सञ्चार गराएर ताप शक्तिलाई शरीरबाट निकाल्ने गर्छ । मदिरालाई छालामा दल्यो भने छालाभित्रका रक्तनलीहरू फुलेर अधिक रक्त सञ्चार भई ताप बाहिर निस्कन्छ । यसरी धेरै ज्वरो आएका मानिसहरूले छालामा मदिरा लगाएर ज्वरोलाई कम गराउन सक्छन् । सिकिस्त ओछ्यान परेका बिरामीहरूको छालामा सुताइको प्रभाव परेर घाउ हुने डर हुन्छ । यस्ता रोगीहरूको घाउ हुनसक्ने ठाउँको छालामा मदिरा लगाएर छालालाई कडा पार्न सकिन्छ । 

मदिराले छालाको प्रोटिन पदार्थमा प्रभाव पारी छालालाई कडा बनाइदिन्छ र घाउ हुनबाट जोगाउँछ । अधिक पसिना आउनेहरूले मदिरालाई छालामा लगाए पसिना आउन कम हुन्छ । मानिसको छालामा जीवाणुहरू हुन्छन् र सुई दिँदा यिनीहरू शरीरभित्र प्रवेश गर्न सक्छन् । तसर्थ सुई दिनु अगाडि छालालाई एक प्रकारको मदिराद्वारा सफा गर्ने गरिन्छ । शल्यक्रिया गर्ने ठाउँलाई पनि यसले सफा गरिन्छ ।

जनै खटिरा भएका मानिसहरूलाई पछि ज्यादै नमीठो गरी दुख्ने लक्षण भइरहन सक्छ । अन्य औषधिहरू सेवन गर्दासमेत दुखेको निको नहुनेलाई अल्कोहलको सुई दिएर उपचार गरिन्छ । हाईपरट्रफिक कार्डियोमायोपेथी नामक आनुवंशिक हृदयरोगमा मदिराको सुई लगाएर उपचार गर्ने गरिन्छ । यसरी मदिरालाई रोगहरूको उपचारमा प्रयोग गर्ने भएकाले यी सबै मदिराका असल गुण हुन् भन्न सकिन्छ ।

मद्यपानका बेफाइदाहरू

मदिरा सेवन गर्ने व्यक्तिहरूलाई विभिन्न प्रकारका रोगहरू लाग्नसक्ने सम्भावना हुन्छ । मानिसले सेवन गरेको रक्सीको दहन क्रिया कलेजोमा हुन्छ । अल्कोहल डिहाइड्रोजनेज नामक इन्जाइमको मद्दतले अल्कोहल एसिटल्डेहायडमा परिणत हुन्छ, जुन कलेजोमा गएर एसिटेटमा परिवर्तित हुन्छ । मदिराको दहन क्रिया हुँदा उत्पन्न एसिटल्डेहायड र ल्याक्टेडले कलेजोमा प्रतिकूल प्रभाव पारेर सिरोसिस नामक कलेजोको रोग गराउनसक्छ भन्ने कुरामा विशेषज्ञहरू विश्वास गर्छन् । अत्यधिक मात्रामा मद्यपान गर्ने व्यक्तिहरूको कलेजो सुकेर हुने रोगलाई सिरोसिस भनिन्छ । कलेजोको यस्तो रोगमा खाने नलीभित्रका शिराहरू फुलेर अचानक रक्तश्राव हुने सम्भावना हुन्छ । एक पटक कलेजोको सिरोसिस भइसकेपछि यो रोग निको हुने सम्भावना हुँदैन । त्यसैले यो रोग हुन नदिनु नै बुद्धिमानी हुन्छ । 

दैनिक ३० ग्राम मदिरापान गर्नेहरूलाई कलेजोको रोग वा सिरोसिस लाग्ने सम्भावना हुन्छ । जति ज्यादा रक्सी खायो, उति ज्यादा कलेजोको रोग लाग्छ । दिनमा १२० ग्राम रक्सी खानेहरूलाई कलेजो रोग लाग्ने सम्भावना ६ प्रतिशत मानिएको छ । कलेजोले काम गर्न छाडिसकेपछि कलेजो प्रत्यारोपण गर्न सकिन्छ । यो शल्यक्रिया जटिल हुनुका साथै धेरै खर्चालु पनि भएकाले सर्वसाधारणका लागि संभव हुँदैन । 

मुटु कमजोर भएर मुटुका कक्षहरू सुन्निने रोगलाई डाइलेटेड कार्डियोमायोपेथी भनिन्छ । अत्यधिक मदिरा सेवन गर्नेहरूलाई यस किसिमको हृदयरोग हुने सम्भावना हुन्छ । मद्यपान गर्ने करिब १० प्रतिशत व्यक्तिहरूलाई कलेजोको रोग लाग्ने सम्भावना हुन्छ । २१ वर्षभन्दा बढी लगातार अधिक मद्यपान गर्नेहरूमध्ये ५० प्रतिशतलाई कलेजोको रोग लाग्ने सम्भावना भएको कुरा अध्ययनबाट थाहा हुन आएको छ । प्रत्येक दिन रक्सी सेवन गर्नेहरूलाई कलेजोको रोग लाग्नसक्ने सम्भावना भएकाले घटीमा हप्तामा दुई दिन रक्सी नखानु बुद्धिमानी हो । जनावरहरूमा गरिएको अध्ययनबाट आवश्यक प्रोटिनयुक्त चिज नखानेहरूमा मदिराबाट पर्ने प्रतिकूल प्रभाव ज्यादा भएको पाइएको छ । त्यसकारण रक्सी सेवन गर्ने मानिसहरूले आवश्यक मात्रामा प्रोटिन पदार्थ खानु बुद्धिमानी हुनेछ । धेरै समयसम्म अत्यधिक रूपमा मदिरापान गर्ने व्यक्तिहरूको मस्तिष्कमा प्रभाव परी विभिन्न रोग लाग्ने सम्भावना रहन्छ । मस्तिष्कमा प्रभाव परी हात काम्ने रोगबाट मदिरापान गर्ने व्यक्तिहरू प्रभावित हुनसक्छन् । 

मदिरापान गर्ने व्यक्तिहरूमा भिटामिन बी कम्प्लेक्सको कमी हुनसक्छ । रक्सी खाने बुढाबुढीहरूलाई साधारण चोट पटक लाग्दा मस्तिष्कभित्र रक्तश्राव हुनसक्ने सम्भावना बढी हुन्छ । 

मानिसका अंगहरूलाई मस्तिष्कले नियन्त्रण गरेको हुन्छ । मस्तिष्ककै रोगले पक्षाघात हुन्छ । बोल्ने शक्ति पनि मस्तिष्कले नै प्रदान गर्छ । सम्झना शक्तिलाई मस्तिष्कको टेम्पोरल लोवले नियन्त्रण गरेको हुन्छ । स्वचालित स्नायु पद्धतिले हाम्रो स्वास लिने, मुटुको धड्कन, पाचन क्रिया आदि हामीले थाहा नपाई आफैँ सञ्चालन गरिरहेको हुन्छ । उल्लेखित स्नायु पद्धतिलाई मस्तिष्कभित्रको थालामसले नियन्त्रण गरेको हुन्छ । सेरेवेलम नामक मस्तिष्कले मानिस हिँड्दा लड्बडाउन दिँदैन ।

अत्यधिक रक्सी खानेहरूको मस्तिष्कमा प्रभाव परेर माथि उल्लेख गरिएका मास्तिष्कका कामहरूलाई रक्सीले प्रभाव पार्छ । अत्यधिक मदिरापानले स्मरण शक्तिलाई कमजोर तुल्याउँछ । धेरै रक्सी खानेहरूमा थायमिन नामक भिटामिनको कमी भएर हातगोडा झमझम गर्ने, स्नायुको कमजोरी हुने रोग परफेरल न्यूरोप्याथी हुन्छ । मांसपेसी कमजोर भएर पिँडुला फर्कने पनि हुनसक्छ । 
स्वचालित  स्नायु पद्धतिमा मदिरापानको असर पर्दा विभिन्न प्रकारका स्नायु रोगका लक्षणहरू देख्न सकिन्छ । यहाँ उल्लेखित अत्यधिक मदिरापानका लक्षणहरूबाट छुटकारा पाउने एक मात्र उपाय रक्सी खान छाड्नु हो । रक्सी छाड्न मन गर्ने तर छाड्न नसक्नेहरूले मनोविज्ञको मद्दत लिनुपर्छ । 

खासगरी पेट र आन्द्राको अल्सर हुनेहरूले मदिरापान गर्नुहुँदैन । मदिरापान गर्नेहरूलाई ग्यास्ट्राइटिस हुने सम्भावना ज्यादा हुन्छ र अल्सर हुनेहरूले रक्सी खाएमा आन्द्रामा रक्तश्राव हुनसक्छ । मदिरा सेवन गर्नेहरूको रक्तकोषमा प्रभाव पर्नसक्छ । धेरै समयसम्म अधिक मदिरापान गर्नेहरूलाई उच्चरक्तचाप हुने सम्भावना बढी हुन्छ । यस्ता मानिसहरूको मुटु खुम्चने शक्तिमा ह्रास आएर हृदयरोग लाग्नसक्छ । मदिराले हृदयचालमा पनि प्रभाव पार्ने गर्छ । मानिसको मुटुका मांसपेसीहरूलाई मात्र नभई मदिरा सेवनले शरीरका अन्य भागका मांसपेसीहरूलाई पनि कमजोर तुल्याउन सक्छ । 

मानिसको शरीरभित्र रहेको प्याङ्क्रियाजलाई पनि मदिराले रुग्ण गराउन सक्छ । मदिरापान गर्नेहरूको रगतमा युरिक एसिड र ट्राइग्लिसेराइड बढ्ने र रगतमा चिनी घट्ने सम्भावना हुन्छ । 

मद्यपान गर्नेले औषधि सेवन गर्दा याद गर्नुपर्ने कुराहरू

मदिराको दहन क्रियामा इन्जाइमहरूले ठूलो भूमिका खेलेको हुन्छ । कलेजो र पेटभित्र अल्कोहलले डिहाइड्रेजनेज नामक इन्जाइम उत्पन्न हुन्छ । यो इन्जाइमले मदिरालाई एसिटल्डेहाइडमा परिवर्तन गराउँछ । डिहाइड्रेजनेज नामक इन्जाइमले एसिटल्डेहाइडलाई एसिटेटमा परिवर्तन गराउँछ । यसरी मदिराको दहन क्रिया हुँदा शक्ति उत्पन्न हुन्छ । 

अचानक अधिक मात्रामा मदिरापान गर्दा औषधिहरूको दहन क्रियामा क्रियाशील इन्जाइमहरू कम प्रभावशाली हुन्छन् । यसको फलस्वरूप प्रयोग गरिएका औषधिहरूको दहन क्रिया राम्ररी हुँदैन र यिनीहरूको मात्रा रगतमा ज्यादा भएर यिनीहरूका अवाञ्छनीय प्रभावहरू देखिन्छन् तर धेरै समयदेखि मदिरापान गर्नेहरूका इन्जाइमहरू ज्यादा प्रभावशाली भएर प्रयोग गरिएका औषधिहरूको दहन क्रिया ज्यादा हुन्छ । यसको फलस्वरूप प्रयोग गरिएका औषधिहरू कम प्रभावशाली हुन्छन् । यसरी मदिरापान गर्ने बानीले औषधिहरूको प्रभावमा असर गर्ने तथ्यलाई मदिराप्रेमी र चिकित्सकहरूले पनि थाहा पाइरहनुपर्छ । क्लोरप्रोमाजिन र क्लोरलहाइड्रेट नामक औषधि प्रयोग गर्ने व्यक्तिहरूले कम मात्रामा मदिरा प्रयोग गरे तापनि यसको असर ज्यादा हुन्छ अर्थात् रक्सीको नशा बढी लाग्छ । 

उल्लेखित औषधिहरूले अल्कोहल डिहाइड्रेजनेज नामक इन्जाइमलाई कम प्रभावशाली गराउँछन् र रगतमा मदिराको मात्रा बढी हुन्छ । इरिथ्रोमाइसिन र सिसाप्राइड नामक औषधिहरूले खानालाई पेटबाट चाँडो निष्कासन गर्छन् र मदिराको प्रभाव बढी हुन्छ । 

ट्राइसाइक्लिक समूहका औषधिहरू प्रयोग गरिरहेका व्यक्तिहरूले मदिरापान गर्दा यी औषधिहरूको दहन क्रिया कम भएर यिनीहरूको अवाञ्छनीय  प्रभाव ज्यादा हुन्छ । यस्ता व्यक्तिहरूको हृदयचालमा गडबडी आउनाका साथै रक्तचाप पनि कम हुनसक्छ ।

कार्बमाजेपिन नामक औषधि छारे रोगमा प्रयोग गरिन्छ । यो औषधिले मदिराको दहन क्रिया कम गराउँछ र यसका कुप्रभाव देखिन सक्छन् । अत्यधिक मात्रामा रक्सी र पारासिटामोल खाएर आत्महत्या गर्न चाहनेहरू आफ्नो उद्देश्यमा सफल नहुन सक्छन् । 

अत्यधिक रक्सी सेवन गर्दा पारासिटामोलको अवाञ्छनीय प्रभाव करिब ५० प्रतिशत कम हुने गर्छ । रक्सीले कलेजोबाट ग्लुकोज उत्पन्न हुन दिँदैन । मधुमेहबाट पीडित व्यक्तिहरूले चिनी रोग नियन्त्रण गर्न खाने औषधि र मदिरा सँगसँगै प्रयोग गर्दा रगतमा ग्लुकोज कम भएर मानिस बहोस हुनसक्छ । विभिन्न प्रकारका औषधिहरूसँग मदिरा सेवन गर्दा अवाञ्छनीय प्रभाव परेर मानिस कहिलेकाहीँ मृत्युको मुखमा पुग्नसक्छ । त्यसकारण माथि उल्लेखित औषधिहरू प्रयोग गर्ने व्यक्तिले सकेसम्म मदिरापान नगर्नु नै उपयुक्त हुनेछ ।

गर्भवती महिलाले मद्यपान गर्नुहुँदैन । गर्भवती महिलाले मद्यपान गर्दा गर्भमा रहेको बच्चालाई नराम्रो असर पर्छ । शिशुको शारीरिक वृद्धिमा नराम्रो असर पर्नसक्छ । केही शिशु जन्मनुभन्दा अगाडि नै मृत्युको मुखमा पुगिसकेका हुन्छन् । बच्चा जन्माउने उमेरका महिलाहरूको महिनावारी पर स¥यो भने गर्भवती हुने सम्भावना हुन्छ । गर्भवती भए वा नभएको कुरा पिसाब जाँचेर थाहा पाउन सकिन्छ । गर्भधारण गरेको थाहा पाउनासाथ मद्यपान नगर्नुमै बुद्धिमानी हुन्छ ।


प्रा.डा. डिबी कार्की,बरिष्ठ मुटुराेग विशेषज्ञ हुनुहुन्छ ।